नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नगरपालिकाले ९१ करोड बढीको बजेट सार्वजनिक गरेको हो ।
नगरपालिकाको शुक्रवार भएको दोस्रो नगरसभा तथा पाँचौँ अधिवेशनले ९१ करोड १४ लाख ३७ हजार ३ सय ६४ रुपैयाँ बराबरको बजेटसहित कार्यक्रम ल्याएको हो ।
नगरसभामा नगर उपप्रमुख पार्वता तिवारीले चालुतर्फ ५५ करोड १४ लाख ५३ हजार नौ सय ६४ रुपैयाँ र पुँजीगत तर्फ ३५ करोड ९९ लाख ८३ हजार ४ सय गरी व्यय कुल ९१ करोड १४ लाख ३७ हजार तीन सय ६४ रुपैयाँको बजेट पेस गरेकी हुन् ।
जसमा सङ्घीय सरकारको सशर्त अनुदान ४० करोड ३१ लाख ९९ हजार, वित्तीय समान करण अनुदान १३ करोड ७० लाख, विशेष अनुदान ९० लाख र राजस्व बाँडफाँड ११ करोड ४८ लाख रहेको छ ।
यसै गरी गण्डकी प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान एक करोड ८३ लाख ७० हजार र राजश्व बाँडफाँड बापत पाँच करोड, विशेष अनुदान तर्फ ४० लाख र समपूरक अनुदानतर्फ ६० लाख, छ ।
यस्तै नगरपालिकाको आन्तरिक आय छ करोड ३६ लाख ५० हजार र चालु आर्थिक वर्षको नगद मौज्दात बैङ्क अल्याबाट आठ करोड ८४ लाख १८ हजार तीन सय ६४ गरी कुल कुल ९१ करोड १४ लाख ३७ हजार ३ सय ६४ आय हुने अनुमान प्रक्षेपण गरिएको छ ।
नगरपालिकाले कृषि र पशु, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रहरू, पर्यापर्यटन, पूर्वाधार, संस्थागत विकास, सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।
बजेट प्रस्तुत गर्नु पूर्व नगर प्रमुख हरिप्रसाद न्यौपानेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले शिक्षा सुधार कोषको निर्माण, व्यवस्थापन र परिचालन, प्रविधिमैत्री शिक्षा, कार्यमूलक अनुसन्धान कार्यक्रमलाई जोड दिने बताए ।
उनले नगरपालिकाले युवा स्वरोजगार, खेलाडी उत्पादन, स्वास्थ्य, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता लगायतको विषय समेटेर कार्यक्रम ल्याएको बताए । यस्तै कृषि उपज सङ्कलन, बिक्री केन्द्र तथा इकाईहरूको स्तरोन्नति र बजारीकरण, पशुपालनलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे ।
वि.सं.२०८१ असार ७ शुक्रवार १५:०३ मा प्रकाशित






























