काठमाडौं । कन्चनपुरको महेन्द्रनगर र झापामा मोटरसाइकल दुर्घटनामा परि दुई युवाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित कञ्चनपुरको महेन्द्रनगर– सुडा सडक खण्डमा गए राति भएको दुर्घटनामा मोटरसाइकल चालकको २७ वर्षीय सञ्जीव चौधरीको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नरेश विकका अनुसार महेन्द्रनगरबाट दैजीतर्फ गइरहेको से१त २२६८ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा चौधरीको मृत्यु भएको हो ।
दैजीतर्फ गइरहेको ट्र्याक्टरमा सोही दिशातर्फ गइरहेको सुप प्र ०२००३ प ६९७० नम्बरको मोटरसाइकल ठोक्किएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार मनोज चौधरी घाइते भएका छन् । उनको कैलालीको धनगढीमा उपचार भइरहेको छ । प्रहरीले ट्र्याक्टर चालक रामु रानालाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार मेचीनगर–१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो ।
मोटरसाइलकमा तीन जना सवार थिए । दुर्घटनामा घाइते मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
वि.सं.२०८१ असार ८ शनिवार ११:२२ मा प्रकाशित






























