बेङ्लोर । भारतमा विषाधीयुक्त रक्सीको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको सञ्चार माध्यमले आइतबार जनाएको छ । तमिलनाडु राज्यका मुख्यमन्त्री एम.के स्तालिनले मङ्गलबार स्थानीय प्रक्रियाबाट बनाएको रक्सीमा विषाक्त मेथनोल मिसाइएको र केही घण्टाभित्रै रक्सी पिउने ३७ जनाको मृत्यु भएको बताएका छन् ।
उक्त रक्सी पिउने १०० भन्दा बढी मानिसहरूलाई अस्पताल लगिएको थियो ।
भारतमा ब्याकस्ट्रिट डिस्टिलरीहरूमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौं मानिसहरू मर्छन्, तर यो विषाक्तता हालका वर्षहरूमा सबैभन्दा भयानक रह्यो । रक्सीको शक्ति बढाउन मिसाइने पदार्थ मेथनोले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ।
इन्डियन एक्सप्रेस पत्रिकाले आइतबार कल्लाकुरिची जिल्लाका गरिब मजदुरहरूले नियमित रूपमा प्लास्टिकको झोलामा ६० रुपैयाँ मूल्य पर्ने रक्सी किन्ने र काम गर्नु अघि पिउँने जानकारी गराएको छ । रक्सीको सेवनबाट कोही अन्धो भएर अस्पताल लगिएको थियो भने कोहीको सडकमै ढलेर तत्काल मृत्यु भएको थियो ।
कल्लाकुरिची जिल्लाका शीर्ष सरकारी अधिकारी एम.एस प्रशान्थले शनिबारको पछिल्लो तथ्याङ्कअनुसार ५३ जनाको मृत्यु भएको बताएका छन् । अन्य भारतीय सञ्चारमाध्यमले आइतबार मृतकको सङ्ख्या ५५ पुगेको बताएको थियो तर कुनै आधिकारिक पुष्टि भएको थिएन।
प्रशान्थले नक्कली रक्सी त्रासदीसँग सम्बन्धित सात जनालाई पक्राउ गरिएको बताए ।
इन्डियन एक्सप्रेसले बिहीबार विषालु पेय पदार्थको प्याकेट पिएर मृत्यु भएकाको पत्नि घरेलु कामदार कोलान्जीसँग कुरा गरेको थियो । मानिसहरूले सरकारी पसलहरूबाट रक्सी किन्न नसक्दा दुषित मुनशाइन नामक रक्सी पिएको उनले बताए ।
भारतका धेरै भागहरूमा रक्सी बेच्न र सेवन गर्न निषेध गरिएको छ, जसले गर्दा घातक ब्याकस्ट्रिट मुनशाइनजस्ता पेय पदार्थको कालो बजार फस्ट्याएको पाइन्छ ।गत वर्ष पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा गुजरातमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो । (रासस ÷ एएफपी)
वि.सं.२०८१ असार ९ आइतवार २०:२२ मा प्रकाशित






























