काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नयाँ केन्द्रीय कमिटी घोषणाको तयारी गरेको छ ।
नयाँ नेतृत्वसहितको (२९९ सदस्यीय) केन्द्रीय कमिटी घोषणा गरेर नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशन शुक्रवार छैटौँ दिनमा समापन हुने भएको छ ।
काठमाडौँको प्रज्ञा भवनमा गत असार १६ गतेदेखि सुरु भएको महाधिवेशनमा अध्यक्ष, महासचिव र सम्मानित नेताबाहेक १८ पदाधिकारीसहित २९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी घोषणा गरिने नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार शुक्रवार बिहान १० बजे नयाँ कमिटी घोषणा गरिने भनिए पनि आन्तरिक छलफलका कारण ढिला हुने तर अपराह्नसम्म घोषणा गरिने बताए । तीन मुख्य पदमा बिहीबारै सहमति जुटाएर घोषणा गरिए पनि अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति जुट्न नसकेपछि आजलाई सारिएको थियो ।
एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्माण गर्ने विधान पारित भैसकेको छ । महाधिवेशन हलबाट बिहीबार अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको घोषणा भएको थियो ।
वि.सं.२०८१ असार २१ शुक्रवार ११:४६ मा प्रकाशित
























