मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं
’तिमीले पकाएको तरकारीको स्वाद किन यत्ति मीठो हुन्छ ? मैले पकाएको बेलामा यस्तो स्वादिलो कहिल्यै हुँदैन त !’ खाना खाँदै गर्दा रमेश आफ्नी श्रीमती सुशीलालाई प्रायः यही प्रश्न गर्ने गर्थ्यो ।
’तपाईं संधै मीठो मानेर खाईदिनु हुन्छ त्यसैले होला नि !’ सुशीला हाँसेर जवाफ दिन्थिन् ।
’उही तरकारी, पकाउने तरिका पनि उस्तै, हाल्ने मसला पनि उही तर स्वादमा भने यस्तो अन्तर कसरी त !’ रमेश छक्क पर्थ्यो ।
’तरकारी पकाउँदा म अलिकति माया समेत मिसाउँछु क्या !’ सुशीला पनि यसरी नै भन्थिन् ।
आज फेरि रमेशले उस्तै प्रश्न सहित तरकारीको स्वादको तारिफ ग¥यो ।
बिहे गरेको छ महिना देखि यस्तै प्रश्न झेलिरहेकी सुशीलाले यसपटक भने रमेशलाई नढाँट्ने बिचारले भनिन् ’तपाईं साकाहारी, मलाई भने सानैदेखि माछामासु मनपर्ने । भान्सामा मासु पाकेको बेलामा, म मासुको अलिकति झोल तपाईंको तरकारीमा पनि मिसाईदिन्थे त्यसैले फरक स्वाद लागेको हो तपाईंलाई ।’
भात खाँदै गरेको रमेशले एकछिन वाल्ल परेर श्रीमतीको मुखमा हे¥यो । ’झोल त पहिलेदेखि नै ख्वाउँदै आएकै रहिछौ, अब के बार्नु ? लौ दुईवटा टुक्रा पनि हाल्देऊ यसमा !’ उसले थाल अघि बढाउँदै भन्यो !
वि.सं.२०८१ साउन ५ शनिवार ०७:४३ मा प्रकाशित






























