मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर
पितृलोकमा मातृपितृ आत्माहरू उत्साहमा थिए । सोह्रश्राद्धमा पितृभाग लिन लामबद्ध थिए । सधैँ झैँ रमाकान्तको आत्मालाई भने हताशमा एक छेउमा बसेर टुलुटुलु हेर्नुको विकल्प थिएन । किरियाकाष्ठमा पाएको तर्पण पश्चात उनलाई केही हात परेको थिएन ।
“के गर्छौ त रमाकान्त, विदेशीएका तिम्रा छोराहरूले संस्कार भुलिहाले, तर्पण दिनै छाडिहाले ।”
उनीसँगै मृत्युवरण गरेका उनका बालसखा रामशरणका शब्द बाणले उनलाई झन् विचलित बनायो । रमाकान्तलाई आफूले गरेको अपराधले सताउन थाल्यो ।
केही समयपछि हातमा पितृभाग लिएर रामशरण रमाकान्तको सामु देखा परे ।
“के सोच्दै छौ रमाकान्त ? ल, लेऊ यो पितृभाग । आखिर जे जस्तो तिम्रो व्यवहार भए पनि दैवले दुःख हेर्न सकेनछन् ।”
रमाकान्त अनुगृहित नजरले रामशरणलाई हेर्दै पितृभाग लिए । धेरै दिन देखिको भोको उनले क्षणभरमै पितृभाग सखाप पारे ।
“तिमीलाई थाहा छ यो पितृभाग कसको थियो ?” उनले पितृभाग खाइसकेपछि रामशरणले अचानक प्रश्न गरे । रमाकान्तले विश्मय नजरले हेरे ।
“यो तिम्रै थियो ।”
उनी झन् चकित भए । सुस्तरी प्रश्न गरे – “कसले पठायो ।”
“तिम्रै छोरीले, जसलाई अगेनामा परेर जल्दा उपाचार नगरी सिन्की हाल्ने खाल्डामा फालेका थियौ ।”
वि.सं.२०८१ साउन ५ शनिवार ०७:४२ मा प्रकाशित






























