back
CTIZAN AD

रासस मिडिया सङ्ग्रहालयः इतिहासको अभिलेखीकरण

वि.सं.२०८१ साउन ३२ शुक्रवार

753 

shares

काठमाडौँ । रासस स्थापना भएको ६३ वर्ष पुगेको छ । विसं २०१८ मा काठमाडौँको नयाँसडकको एउटा कोठाबाट सुरुआत भएको रासस अहिले सुविधायुक्त भवनबाट सञ्चालन भइरहेको छ । राससले आफ्नो अतीत जगेर्ना गर्ने सन्दर्भमा कार्यालयको एउटा कोठामा ६३ वर्षको इतिहासलाई सङ्ग्रहगरी रासस मिडिया सङ्ग्रहालय सञ्चालनमा ल्याएको छ । सङ्ग्रहालय निर्माण र सञ्चालनको कार्य आफैँमा एक चुनौतीपूर्ण र जटिल रहेको हाम्रो अनुभव छ ।

गुगल र सामाजिक सञ्जालमा केन्द्रित भई सूचना खोजी रहेको नयाँ पुस्ताका लागि त यो सङ्ग्रहालय महत्वपूर्ण हुने नै छ पुराना पुस्ताले पनि मिडिया विकासको अध्ययनका सन्दर्भमा एकैछिन भए पनि राससको मिडिया सङ्ग्रहालयमा आउनुपर्ने अवस्थाको सिर्जना भएको छ भन्ने लागेको छ । सम्भवतः यस्तो किसिमको सङ्ग्रहालय नेपालमै पहिलो हो भन्न सकिन्छ ।

मैले सुनेको एउटा कथाअनुसार बाबुले छोरालाई एउटा पुरानो मोडलको खिया लागेको घडी दिएर भनेछ, छोरा यो घडीलाई बजारमा बेचेर आउ । छोरा घडी लिएर बजार गयो । बजारमा घडीका सबै पसलमा गएर बुझ्यो । तर कसैले किन्न मानेन । निरास भएर घर फर्केको छोरालाई बुबाले सोध्योे, किन निरास ? छोराले भन्यो, घडी कसैले किनेनन् । अनि बुबाले फेरी छोरालाई भन्यो, एकपटक सङ्ग्रहालयमा देखाउन जाउ । जब सङ्ग्रहालयमा गएर छोराले घडी देखायो । त्यहाँ उसले त्यो घडी ऐतिहासिक र सङ्ग्रहयोग्य रहेको जवाफ पायो । अनि सङ्ग्रहालयमा घडीको राम्रो मूल्य पायो र घडी बेचेर खुसी हँुदै घर फर्कियो ।

सङ्ग्रहालयमा लाखौँ मूल्यमा पुरानो घडी बेचेर फर्केको छोरालाई सम्झाउँदै बुबाले भन्यो–‘हरेक वस्तु ठीक ठाउँमा पु¥याउनुपर्छ र सही मुल्य पाइन्छ ।’ यो कथा जस्तै राससले पनि अहिले सङ्कलन गरेर प्रदर्शनीमा राखेका सामग्रीहरु गोदममा थुप्रिएर बसेका थिए । ती सामग्रीलाई ठीक ठाउँमा सङ्ग्रह गरी प्रदर्शनीमा राखिएको छ भन्ने हाम्रो ठम्याइ हो । सङ्ग्राहलय आफैँमा एउटा अनुसन्धान र अध्ययन केन्द्र हो । पुर्खाले अर्जेको संरचनामा हामीले अहिले नयाँ प्रविधिमा अभ्यास गरिरहेका छौंँ । यो सङ्ग्रहालय ती पुर्खाहरुप्रतिको सम्मान पनि हो भन्न सकिन्छ ।

राससको मूल कार्य समाचार सङ्कलन र सम्प्रेषण नै हो । राज्यको आधिकारिक सूचनालाई मिडियामार्फत जनतासम्म पु¥याउने र जनताको विचारलाई राज्यसम्म पु¥याउने पुलको रुपमा राससले भूमिका निर्वाह गरिरहेको छ । राससले आफ्नो सेवालाई समयनाकूल परिवर्तन गर्दै लगेको छ । राज्यले दिने सेवा र सरकारको कामको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना सम्प्रेषण र प्रचारप्रचार गरी सरकारको मुख्य प्रचार साझेदारको रुपमा राससले पहिचान बनाएको छ ।

हिजो थोरै मिडियाको लागि अति आवश्यक रासस आज आएर सबै मिडियाको लागि अपरिहार्य बनेको छ, बन्दै छ । हिजो राससको सेवा प्रयोग नगरी आफ्नै क्षमतामा समाचार उत्पादन गर्ने मिडियाले समेत अहिले राससको सेवा लिएको कुरा सुनाउन पाउँदा हाम्रो यात्रा सही दिशामा केन्द्रित छ भन्ने लागेको छ ।

रासस नागरिकलाई सूचनाको हक सुनिश्चिता गराउन, सामाजिक रुपान्तरणको अभियानमा हातेमालो गर्न र आधिकारिक सूचना संप्रेषण गर्न अग्रमोर्चामा उभिएको छ । हामीले दिने सेवा समयनुकूल, आधिकारिक र सही छ भन्ने हाम्रो विश्वास हो । तर हामीले अहिले गरिरहेको कार्य मात्र पर्याप्त छैन भन्ने हाम्रो ठम्याइ हो । समाचार सम्प्रेषणका सन्दर्भमा हामीले धेरै गर्न बाँकी छ ।

आजको डिजिटल युगमा आफूलाई समयनुकूल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न, राससले हरसम्भाव प्रयास गरिरहेको छ । यसै सिलसिलामा राससले आफ्नो सेवालाई विविधीकरण गर्दै लगेको छ ।

नेपाली समाचारबाट सुरु भएको राससको सेवा अहिले अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार, फिचर÷आलेख÷विचार, फोटो, भिडियो, अडियो सेवा हुँदै २०८० माघदेखि अवधि भाषामार्फत मातृभाषाको समाचार सेवा पनि सुरुवात गरेका छौंँ । यी सेवालाई रासस निरन्तर प्रगतिपथमा अग्रसर रहेको सूचकको रुपमा हामीले लिएका छौँ ।

यस आर्थिक वर्षदेखि राससले २४ सै घण्टा समाचार सेवा र मातृभाषामा थप दुई भाषाहरु मैथिली र नेपाल भाषामा समाचार सेवा सुरुआत गर्ने तयारी गरिरहेको जानकारी गराउन पाउँदा हामी गौरवबोध गरिरहेका छौंँ । राससले प्रारम्भ गर्ने २४ सै घण्टा समाचार सेवाले नेपाली सञ्चारमाध्यमहरु अब पहिलाजस्तो डेटलाइनमा सीमित नरहने विश्वास छ । मातृभाषाको समाचार सेवाले नेपाली मिडियालाई विविध भाषामा समाचार संप्रेषण गर्न सहयोग पुग्नेछ । खासगरी मातृभाषामा सञ्चालन हुने सञ्चारमाध्यमको विकास र स्थायित्वका लागि यो सेवा कोशे ढुंगा सावित हुने हाम्रो विश्वास छ ।

राससको समाचार सेवाको विविधीकरण गर्ने कार्यसँगै केही रचनात्मक कार्यसमेत गर्ने प्रयास गरिरहेको छ । राज्य र सरकारको कामलाई सहयोग र साथ दिन राससले गएको जेठ महिनामा ‘समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो । यो तस्बिर प्रदर्शनीले नेपालमा विकास भएन, कुनै काम भएन भनेर, निर्माण भइरहेको भास्यलाई निरुत्साहित गर्न सहयोग पुगेको छ भन्ने लागेको छ ।

आज राससले ६३ वर्षको अवधीमा प्रयोगमा ल्याएका वस्तुहरुको सङ्ग्रह गरेर रासस मिडिया सङ्ग्रहालय सञ्चालनमा ल्याएको छ । यो सङ्ग्रहालय राससले आफ्नो आन्तरिक स्रोत परिचालन गरेर स्थापना गरेको हो । राससको गोदाममा थुप्रिएका, बेकामे भनेर राखिएका, वर्तमानमा प्रयोगहीन ठहरिएका सामग्रीहरु सङ्कलन गरेर स्थापना गरिएको, यो सङ्ग्रहालय राससलाई जीवन्त राख्ने एक प्रयास हो भन्दा अत्युक्ति नहोला ।

अहिलेको रासस व्यवस्थापन टिमले राससको इतिहासलाई अभिलेखीकरण गर्ने प्रयास गरिरहेको छ । यसैको एउटा खुड्किलोको रुपमा रासस मिडिया सङ्ग्रहालय पनि हो । २०८० फागुन ७ गते ६३औं वार्षिकेत्सवको सन्दर्भमा राससमा नेतृत्व गरेका अध्यक्ष, महाप्रबन्धक र सेवा गरेका कर्मचारीहरुको अनुभव र अनुभूतिलाई सङ्ग्रह गरेर एउटा पुस्तक प्रकाशित गरेका थियौंँ । यस वर्ष रासस मिडिया सङ्ग्रहालय स्थापना गरेर इतिहासलाई थप व्यवस्थित बनाउने प्रयास गरेका छौं ।

अहिले राससको सङ्ग्रहालयमा ४६ प्रकारका सामग्री सङ्कलन गरी राख्न सकिएको छ । निश्चय पनि यी सामग्रीले राससको इतिहास र विकासक्रमलाई बुझ्न सहज हुनेछ । यो मिडिया सङ्ग्रहालय नेपालको मिडिया विकासक्रमको विषयमा अध्ययन, अनुसन्धान गर्ने अनुसन्धानकर्ताहरुका लागि उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास छ । डिजिटल युगको पत्रकारिता गरिरहेको पुस्तामा पुराना पुस्ताले विगतमा निर्वाह गरेको भूमिका बुझ्ने र विश्लेषण गर्ने दृष्टिकोणमा थोरै भए पनि परिवर्तन आउन सकेको खण्डमा हाम्रो प्रयास सार्थक भएको हामी ठान्ने छौँ । (लेखक राससका महाप्रबन्धक हुन्)

वि.सं.२०८१ साउन ३२ शुक्रवार १४:२३ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...