back
CTIZAN AD

शान्ति प्रक्रियाको जगः सिक्लेस

वि.सं.२०८१ भदौ ३ सोमवार

654 

shares

गण्डकी । “तुल, ब्यानर र झण्डाले गाउँ नै राताम्मे थियो, तत्कालीन जनमुक्ति सेनाले पहरा दिएको थियो”, शिक्षक गेहेन्द्र गुरुङले विगत सम्झँदै भने, “सिक्लेस गाउँमा माओवादी शीर्षनेता शिविरमा बसेका थिए ।” यो विसं २०६३ जेठको अन्तिम साताको कुरा हो । कास्कीको उत्तरपूर्वी गाउँ सिक्लेसमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को केन्द्रीय प्रशिक्षण चलिरहेको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराईलगायत उच्च तहका नेताहरु प्रशिक्षणमा सहभागी थिए । “अध्यक्ष दाहाललगायत नेताहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भवनमा बस्नुभएको थियो, अन्य नेता, कार्यकतासहित समाजघरमा बाँडिएर बसेका थिए”, शिक्षक गुरुङले भने । माओवादी र तत्कालीन सात राजनीतिक दलबीच विसं २०६२ मङ्सिरमा भएको १२ बुँदे समझदारीपछि शान्ति प्रक्रियाको जग बसेको ठानिए पनि दुईपटकसम्म भएका शान्तिवार्ता असफल भएका थिए ।

तथापि १२ बुँदे समझदारीलाई निष्कर्षमा पुर्याउन माओवादी र सात राजनीतिक दलका नेताहरू प्रतिबद्ध थिए । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले माओवादीसँगको वार्तालाई सघन रूपमा अगाडि बढाइरहेको थियो । सोही सिलसिलाको एउटा महत्त्वपूर्ण कडीका रूपमा लिने गरिन्छ सिक्लेस वार्तालाई । अध्यक्ष दाहाल भूमिगत जीवनबाट पहिलोपटक सिक्लेसमा सार्वजनिक भएका थिए ।

हेलिकप्टर लिएर सिक्लेस पुग्नुभएका तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलासहितको सरकारी वार्ता टोली र माओवादी अध्यक्ष दाहालसहितका नेताबीच पर्यटकीय गाउँ सिक्लेसमा विसं २०६३ जेठ २८ मा भेटवार्ता भएको थियो । अध्यक्ष दाहाल र नेता भट्टराई त्यसको दुई दिनअघि नै सिक्लेस पुगेका थिए । जेठ २८ को सिक्लेस वार्ता नै दशवर्षे द्वन्द्वको बैठान र शान्तिको प्रस्थानबिन्दुका रूपमा चिनिन पुग्यो । सिक्लेस वार्ताको सफलतापछि माओवादी अध्यक्ष दाहाल र बाबुराम भट्टराई विसं २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक भएका थिए ।

सोही दिन बालुवाटरमा माओवादी र सात राजनीतिक दलबीच भएको आठ बुँदे सहमतिका आधारमा विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । विस्तृत शान्ति सम्झौतापछि संविधानसभा हुँदै मुलुक लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ । शान्ति सम्झौतामार्फत द्वन्द्वलाई शान्तिमा रुपान्तरण गरेको माओवादी मूलधारको राजनीतिमा आएको पनि १८ वर्ष बितिसकेको छ ।

बालुवाटारमा पहिलोपटक सार्वजनिक हुनुपूर्व तत्कालीन गृहमन्त्री सिटौलासँग अध्यक्ष दाहाल र नेता भट्टराईबीच सिक्लेसमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सभाकक्षमा भेटवार्ता भएको थियो । त्यो बेला जनमुक्ति सेनाबाट नेताहरूको सुरक्षार्थ सिक्लेसमै खटिएका नेकपा (माओवादी केन्द्र) कास्कीका इञ्चार्ज दीपक कोइरालाले वार्ता सफल भएपछि विसं २०६३ असार २ गते अध्यक्ष दाहाल र नेता भट्टराई बालुवाटारमा सार्वजनिक भएको बताए ।

“वार्तामा समझदारी जुटेपछि गृहमन्त्री सिटौला काठमाडौँ फर्किनुभयो, पुन असार २ गते उहाँ आएपछि अध्यक्ष दाहालसहितका नेताहरु पोखराको लामाचौरबाट हेलिकप्टरमा काठमाडौँ जानुभएको हो”, उनले भने । इञ्जार्च कोइरालाले अध्यक्ष दाहालसहितका नेताहरू सिक्लेसबाट हिँडेरै पोखरा महानगरपालिका–१६ मा पर्ने लामाचौरमा आएको सुनाए ।

जनमुक्ति सेनाको सुरक्षा घेराबीच सिक्लेस वार्ता भएको उनले बताए । पार्टी प्रशिक्षण र सांस्कृतिक कार्यक्रमको सुरक्षार्थ जनमुक्ति सेना सिक्लेसमा खटिएका थिए । माओवादी अध्यक्ष दाहालले सिक्लेसमा सार्वजनिक मञ्चबाट पहिलोपटक भाषण गरेको इञ्चार्ज कोइरालाले बताए ।

“शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गर्दा सिक्लेस बिर्सन नहुने ठाउँ हो, त्यहाँ भएको वार्ताले विस्तृत शान्ति सम्झौतासम्मको बाटो तय गरेको थियो”, इञ्चार्ज कोइरालाले भने, “राजनीतिक दलहरूबीचको बृहत् सहमतिका साथ टिआरसी विधेयक पारित भएकाले अब शान्ति प्रक्रियाका बाँकी कामले छिट्टै निकास पाउनेछ र देश दिगो शान्ति र स्थिरतामार्फ अगाडि बढ्नेछ ।”

बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन (टिआरसी) विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित भएसँगै शान्ति प्रक्रिया निष्कर्षतिर अगाडि बढेको छ । तत्कालीन सरकार र नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्याय निरुपण टुङ्गोमा पुग्ने अवस्था बनेको हो । मादी गाउँपालिका–१ सिक्लेसका वडाध्यक्ष देवीजङ्ग गुरुङले सिक्लेसबाट सुरु भएको शान्ति स्थापनाको पहलले अन्तिम रूप लिन लागेकामा खुसी व्यक्त गरे ।

“शान्ति वार्ता हुँदा म भर्खर ७ कक्षामा पढ्दै थिएँ, माओवादीले विद्यार्थीलाई पनि कार्यक्रममा लैजान्थे, एक किसिमको त्रास त थियो, तर सिक्लेसमा ततकालीन द्वन्द्वका समयमा कुनै अप्रिय घटना भने भएन”, वडाध्यक्ष गुरुङले भने, “शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण परिघटनाको साक्षी सिक्लेस गाउँ र यहाँका बासिन्दा पनि हुन् ।” जोखिमका बीच पनि गाउँलेले माओवादीका नेता, कार्यकर्तालाई आतिथ्यता दिएर महत्त्वपूर्ण योगदान गरेको उनको भनाइ छ ।

“माओवादी कार्यकर्ताले स्थानीय बासिन्दाको काममा पनि सघाउने गर्थे, कोदो रोप्दा, रोपाइँमा साथ लागेर काम गर्थे”, वडाध्यक्ष गुरुङले भने । सिक्लेस भएको वार्ताको स्मरण र शान्ति प्रक्रियाको प्रारम्भस्थलको प्रतीकका रूपमा वार्ता भएकै ठाउँमा शान्ति स्मारकसमेत निर्माण गरिएको उनले बताए । मादी गाउँपालिकाको आर्थिक सहयोग र जनश्रमदान जुटाएर ‘एक्याप’को कार्यालय परिसरमा निर्माण गरिएको शान्ति स्मारकको विसं २०७५ मङ्सिर २४ गते माओवादी अध्यक्ष दाहालले नै अनावरण गरेका थिए । तत्कालीन गृहमन्त्री एवं सरकारी वार्ता टोलीका संयोजक सिटौला पनि शान्ति स्मारकको अनावरणमा पुगेका थिए ।

शान्ति स्मारकछेउ गुरुङ संस्कृति झल्काउने गोलघर पनि निर्माण गरिएको वडाध्यक्ष गुरुङले बताए । उक्त गोलघरलाई शान्ति सङ्ग्रहालयका रूपमा विकास गर्ने योजना रहेको उनले सुनाए । सिक्लेस पुग्ने पर्यटकका लागि शान्ति स्मारकले पनि नयाँ आकर्षण थपेको उनले बताए ।

स्मारक अनावरणका क्रममा सिक्लेस आउँदा माओवादी अध्यक्ष दाहालले सिक्लेसको विकासका लागि पहल लिने प्रतिबद्धता जनाए पनि अपेक्षित उपलब्धि हासिल नभएको वडाध्यक्ष गुरुङले बताए । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले त्यो बेला सिक्लेसलाई शान्ति प्रक्रियासँग जोडिएको ऐतिहासिक महत्वको स्थलका रूपमा विकास गरिने बताए ।

शान्ति प्रक्रियालाई सम्झाउने सिक्लेस पर्यटकीय दृष्टिले उत्तिकै महत्त्वपूर्ण छ । हिउँचुलीको काखमा झुरुप्प परेको बस्तीले सिक्लेसलाई मनप्रिय बनाएको छ । वरिपरि हरिया वनपाखा र खर्क त्यहाँका आकर्षण हुन् । सिरसिरे लेकाली हावा । उस्तै चराको चिरबिर । तलपट्टि सुसाइरहेको मादीखोला । सिक्लेसको भूगोल आफैँमा चित्रमय लाग्छ । हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने यो गुरुङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिको सङ्गम हो । ग्रामीण पर्यटनको अनुपम धरोहर हो ।

पर्यटकीय राजधानी पोखराबाट ४१ किमी दूरीमा पर्ने सिक्लेस पदयात्राका लागि बढी लोकप्रिय छ । पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै तीन हजार आठ सय मिटरको कोरी लेकसम्म पुग्ने गरेका छन् । सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईटा पदमार्ग छन् । वडाध्यक्ष गुरुङले दुई दशकअघि सिक्लेसमा पर्यटन व्यवसायको जग बसेको बताए ।

उनका अनुसार सिक्लेस, कोरीलगायतका क्षेत्रमा दर्जनौँ होमस्टे र होटल सञ्चालनमा छन् । सिक्लेस पुग्ने पर्यटक गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस उद्यान, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेशभूषा, झाँकी, नाचगीत आदिमा रमाउँछन् । पदयात्रा रुचाउने पर्यटकले छोटो र लामो दूरीको पदयात्रा तय गर्छन् । पोखराबाट दुई÷अढाइ घण्टाको मोटरयात्रामा सिक्लेस पुगिन्छ । पोखरा–सिक्लेस सडक स्तरोन्नति भइरहकाले यातायात सेवा पनि सहज बन्दै गएको छ ।

वि.सं.२०८१ भदौ ३ सोमवार १०:४० मा प्रकाशित

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...