स्याङ्जा । पर्वत, स्याङ्जा र गुल्मीको सङ्गममा रहेको सेतीवेणी बजार धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको पुरानो बजार हो । सेतीवेणी बजार पर्वतको विहादी गाउँपालिका-६, र स्याङ्जाको गल्याङ नगरपालिका-५ मा पर्दछ । यहाँ कालीगण्डकी नदी र विश्व विराट शिला शालिग्राम अवस्थित भएकाले धार्मिक पर्यटकको घुइँचो लाग्ने गर्दछ । हिन्दुहरूले मृत्यु पश्चात् शव व्यवस्थापनका लागि ल्याउने भएकाले यो ठाउँमा मानिसहरूको आवतजावत भइरहन्छ ।
सेतीवेणी कुनैसमय पर्वत, स्याङ्जा, गुल्मी र वाग्लुङ्का नागरिकहरूको व्यापारिक केन्द्रका रूपमा परिचित व्यस्त बजार थियो । यहाँबाट खाद्यान्न, नुन, तेल, दाल, मसला, भाँडाकुँडा, कपडा लगायतका आवश्यक सामान किनमेल गरेर जीवन निर्वाह गर्ने प्रशस्त थिए ।
कालीगण्डकी नदीमा स्नान गर्ने, शालिग्रामको पूजा, दर्शन एवं अवलोकन गर्न आएका तीर्थयात्री, मालसामान किन्न आएका ग्राहक तथा व्यापारी, शव लिएर आएका मलामी, बटुवा आदीका कारण सेतीवेणी बजारमा मानिसहरूको भिडभाड हुन्थ्यो । तर, शिला शालिग्राम सहित बजार डुबानमा पर्न थालेपछि यहाँको चहलपहल ह्वात्तै घटेको छ ।
पौराणिक महत्त्व
पर्वतको दक्षिण पूर्वदेखि बग्दै आएको सेतीखोला मुक्तिनाथ देखि बग्दै आएको कालीगण्डकी नदीमा मिसिन गएकाले यस ठाउँको नाम सेतीवेणी रहन गएको हो । सेतीवेणी स्थित कालीगण्डकी नदीको आडमा विश्व विराट शिला विराजमान भएकाले हिन्दुहरू र वैष्णव सम्प्रदायले यो भूमिलाई पवित्र तीर्थस्थलका रूपमा लिने गर्दछन् । हिन्दुहरू र वैष्णवहरूले साक्षात् विष्णुको अवतारका रूपमा पूजा एवं दर्शन गर्दै आएका कारण शालिग्राम आस्थाको केन्द्रका रूपमा परिचित छ ।
संसारमा शालिग्राम कालीगण्डकी नदीमा मात्र पाइने भएकाले र कालीगण्डकीमा पाइने शालिग्राम मध्ये विराट शालिग्राम सेतीवेणीमा मात्र भएकाले यहाँ शालिग्रामको दर्शन, पूजा एवं अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ ।
शालिग्राम विद्या आश्रम सेतीवेणीका प्रमुख कुलसेखर तिवारीले कालीगण्डकी नदी र मुक्ति क्षेत्रमा मात्र शालिग्राम शिला पाइने स्थानका रूपमा प्रख्यात रहेको बताए । शिला शालिग्रामको पूजा गरेमा मनका सबै इच्छा पूरा हुने धार्मिक विश्वास रहेको तिवारीको भनाई छ । उनले भने, ‘कात्तिके ठुला एकादशी, मकर सङ्क्रान्ति, नव वर्ष, असारे ठुला एकादशीमा सेतीवेणीमा शिला शालिग्रामको पूजा एवं दर्शन गर्न लाखौँ भक्तजनको भिड लाग्ने गर्दछ ।’
सेतीवेणी बजारमा चक्रदेवी, बसाहा, दुर्गा मन्दिर, शिवालय मन्दिर, सीताराम मन्दिर समेत छ । यद्यपी शिला शालिग्रामलाई भने तीर्थालुले विशेष महत्वका साथ लिन्छन् । कालीगण्डकीमा स्थान गरेमा मात्र सात जुनीको पाप पखालिन्छ भन्ने पौराणिक मान्यता छ । शिला शालिग्रामको पूजा र दर्शन गरेमा मानोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
नदीले किन धार परिवर्तन गर्यो
जलवायु परिवर्तनका कारण लामो समयको खडेरी पश्चात् एकैपटक भारी वर्षा हुँदा नदीमा पानीको बहाव उच्च हुने दर बढ्दै गएको छ भने नदी आसपासका बस्ती डुबानमा पर्न थालेका छन् । यसको असर कालीगण्डकी नदी र सेतीखोलामा पनि पर्न गएको छ । अर्कोतर्फ अध्ययन अनुसन्धान बिना मोटर बाटो खन्दा गएका पहिलो, ढुङ्गा, माटो, लेदो नदीमा पस्दा तटीय क्षेत्रका बस्ती जोखिममा पर्ने गरेको छ ।
तत्कालीन शालिग्राम गाविसका अध्यक्ष तुलाकान्त सुनारले मिर्मीमा कालीगण्डकी जलविद्युत परियोजना ‘ए’ निर्माण हुनु अघि कालीगण्डकी नदी आफ्नै गतिमा बग्ने गरेको बताए । उनले त्यस समय कालीगण्डकी नदी शिला शालिग्राम भन्दा करिब २० हात तलबाट बग्ने गरेको बताए ।
‘मिर्मीमा ड्याम निर्माण हुनु अघि बर्खायाममा समेत शिला शालिग्रामको दाहिनेबर्ता सहित परिक्रमा गरेर सजिलै पूजा एवं दर्शन गर्न सकिने अवस्था थियो ।’ उनले भने, ‘ड्याम निर्माण पश्चातपनि करिब १५ वर्ष सम्म शालिग्राम डुबानमा परेको थिएन । तर, तीन वर्ष यता बजारमै पस्ने गरी बाढी आउन थालेको छ ।’ सुनारले दुई वर्ष यता सेतीखोलाले धार परिवर्तन गरेर तीन तीरबाट बग्न थालेको बताए । उनले यो वर्ष शालिग्राम शिलातर्फ जानै नसकिने गरी सेतीखोला बगेको बताए ।
स्थानीय भाँडा पसल सञ्चालन गर्दै आएका प्रेम अर्यालले कालीगण्डकी नदीको वारीपारी लोकमार्ग र कोरिडोर निर्माणको क्रममा ढुङ्गा माटो नदीमा खसेर थुपरिँदा पानीको सतह माथि आएको बताए । ‘हामी कालीगण्डकी जलविद्युत परियोजना ‘ए’ प्रभावित क्षेत्र अन्तर्गत पर्दछौँ, परियोजनाले कालीगण्डकी नदीमा थुपरिएको ढुङ्गा, माटो, बालुवा फाल्ने काम गरेको छैन’, उनले भने, ‘हामी प्रभावित क्षेत्रले पाउने सुविधाबाट पनि हामी वञ्चित हुँदै आएका छौँ’
बगर बन्दै बजार
सेतीवेणी टोल सुधार समितिका अध्यक्ष लक्ष्मीपती पौडेलका अनुसार पर्वत र स्याङ्जातर्फका बजारमा करिब ढाई सय घरहरू थिए । पछिल्लो तीन वर्षमा १९ वटा घर कालीगण्डकी र सेतीखोलामा आएको बाढीले भत्कायो भने एक सय घरहरू बाढीको उच्च जोखिममा छन् ।
‘सेतीवेणी हिजोआज १७ वर्ष अघिको बजार जस्तो व्यस्त, रमणीय र खुला छैन । मुक्तानाथबाट बग्दै आएकी कालीगण्डकी नदी र पर्वतबाट बग्दै आएको सेतीखोलाले बाटो बिराउँदै घरघरमा पस्न थालेपछि बजारको क्षेत्र साँघुरिएको छ ।’ उनले भने, ‘अहिले दैनिक रूपमा शिला शालिग्रामको दर्शन एवं पूजा गर्न आउने हजारौँ तीर्थयात्रीको बाटो थुनिएको छ । पानीको सतह घाट भन्दा माथि बढ्दै जाँदा शव जलाउनसमेत सास्ती खेप्नु परेको छ ।’
पूजा पसल सञ्चालन गर्दै आएका स्थानीय केशवराज न्यौपानेले सेतीवेणी बजारमा बाढी पस्न थालेपछि बसाई सर्ने क्रम बाक्लीएको बताए । ‘जेनतेन व्यापार गरेर बसेकाहरूले पनि गरिरहेको व्यापार छोडेर अन्य पेसामा लागेका छन् ।’, उनले भने, ‘नदीले स्वरूप परिवर्तन गर्दा सेतीवेणीवासी त्रासमा बाँच्न बाध्य छौँ । सरोकारवालाले बाढी रोकथामको उपाय लगाएनन् भने अबको दश वर्षमा सेतीवेणी बजार बगर बन्ने सम्भावना छ ।
फितलो विपद् व्यवस्थापन
सेतीवेणी बजारका करिब एक सय घर परिवार बाढीको उच्चा जोखिममा रहेपनि विपद् व्यवस्थापनको पूर्व तयारी भने फितलो देखिएको छ । एक सय बढी घरपरिवार बाढीको उच्च जोखिममा रहेपनि विपद् व्यवस्थापनमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।
स्थानीय होटेल सञ्चालक बालकृष्ण भट्टराईले सेतीवेणी बजार संरक्षणका प्रशस्त आधार भएपनि हाल सम्म कुनै पहल नभएको बताए । ‘मिर्मीको ड्याम भन्दा माथि कालीगण्डकी नदीमा भरिएको ढुङ्गा, गिटी, बालुवा र गेग्र्यान सफा गरेमा मात्र नदीको सतह तल जान्छ । सेतीखोलाको किनारमा पर्खाल लगाएरपनि बजारलाई सुरक्षित गर्न सकिन्छ ।’ उनले भने, ‘सेतीखोलालाई पहिलेकै स्वरूपमा फर्काएर शालिग्राम शिला परिक्रमा स्थल बनाउन सके बजारमा पुनः चहलपहल बढाउन सकिन्छ ।’
प्रहरी चौकी सेतीवेणीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सन्देश भण्डारीले यहाँ हिउँदको समयमा चिप्लिएर लड्दा कालीगण्डकीले बगाउने र बर्खाको समय बजारमा बाढी पस्ने समस्या हुने गरेको बताए । ‘बर्खामा अत्यधिक बढेर आएको कालीगण्डकीले सेतीखोलालाई थुन्दा पुरै बजारमा बाढी पस्ने समस्या हुन्छ ।’ स्थानीयलाई उद्धृत गर्दै उनले भने, ‘कालीगण्डकी हाई ड्यामका कारण र कालीगण्डकी लोकमार्ग र कालीगण्डकी कोरिडोर निर्माण गर्ने क्रममा बम हानेर ढुङ्गा माटो कङ्क्रिटहरू नदीमा खस्दा नदीको भुईँको सतह माथि आउँदा र त्यो माटो ड्याममा थुपरिएको र बगेर जान नपाएको कारण यस्तो समस्या आएको हो ।’
भण्डारीले स्याङ्जा भन्दा पर्वततर्फको बजार अग्लो ठाउँमा भएको र स्याङ्जातर्फको बजार होचो ठाउँमा भएकाले डुबानमा पर्ने गरेको बताए । बाढी आउँदा संस्कृत विद्यालय, मठ मन्दिर, पार्टीपौवा तल्लो क्षेत्रमा रहेका स्याङ्जातर्फका घरहरू डुबानमा पर्ने बताए ।
‘सेतीवेणीमा कार्यरत नेपाल प्रहरीको समूहले बजारवासीको धनजनलाई जोगाउन सक्दो प्रयास गरेका छौँ । हामी पर्वतको कार्यालयमा भएपनि नेपाल प्रहरी हुनुको नाताले दुवै बजारलाई हेर्ने गरेका छौँ ।’ उनले भने, ‘पानी पर्ने सम्भावना हुँदा रातको बेला नसुती हेर्ने र खतरा भएका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने गर्ने गरेका छौँ । अहिलेको बर्खामा दुई चोटि डुबानमा प¥यो । पानीको लेवल बढेमा सिठी फुकेर सबैलाई जगाउने काम हुन्छ ।’
इन्चार्ज भण्डारीले सेतीवेणीमा विपत् व्यवस्थापन सम्बन्धी तालिम गरेको प्रहरीको अभाव भएको बताए । यद्यपि जटिल परिस्थितिमा अन्य प्रहरी चौकीको सहयोग लिएर उद्धारमा खटिने गरेको सुनाए । उनले विपद् व्यवस्थापन तालिम प्राप्त शशत्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका कर्मचारीलाई यहाँ दरबन्दी पार्न सकियो भने सहज हुने बताए ।
सुनसान बन्दै बजार
शिला शालिग्रामको पूजा एवं दर्शन गर्न जाने बाटो सेतीखोलाले धार परिवर्तन गर्दा थुनिएपछि हाल यहाँ आउने तीर्थयात्रीको सङ्ख्या पातलिन थालेको छ । अर्को तर्फ शालिग्राम डुबानमा पर्दा सेतीवेणीको ऐतिहासिकता नै समाप्त हुने खतरा बढ्दै गएको छ । कुनै समय धार्मिक पर्यटकले खचाखच भरिने सेतीवेणी बजार हिजोआज धार्मिक पर्यटक र ग्राहकको अभावमा सुनसान छ ।
‘हिन्दुहरूका माझ शिला शालिग्रामको महत्त्व अत्यन्त लाकप्रिय छ । शिला र बजार डुबानमा नपर्दा सम्म यहाँ आउने दशनार्थीको घुइँचो हुन्थ्यो ।’ शालिग्राम आश्रममा बस्दै आएका शिवलाल पाण्डेले भने, ‘अहिले शिला सम्म जान नपाउँदा भक्तजन आउन छाडेका छन् । बाटोघाटो गाउँगाउँ पुग्यो । गाउँबाट यहाँ आउने सहज बाटोको अभावले पनि भक्तजन आउन छाडेका हुन् । उनले पछिल्लो समय शिलाको दर्शन गर्न तीर्थयात्रीले बजारको गरिमा धानेको भन्दै तीर्थयात्री आउन छाडेपछि बजारमा चहलपहल हुन छाडेको बताए ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सिमानामा पर्ने शिला शालिग्रामको पूजा एवं दर्शन गर्नेहरू कुनै समय भिड लाग्ने गर्दथ्यो । पाँच/सात वर्ष पहिले स्याङ्जा, पर्वत, गुल्मी, बागलुङ, पाल्पा, कास्की, तनहुँ, म्याग्दी, चितवन, नवलपरासी, अर्घाखाँची र भारतबाट आउने तीर्थालुले सेतीवेणी बजार भरिभराउ हुन्थ्यो । उचित संरक्षणको अभावमा शिला शालिग्राम डुबानमा पर्न थालेपछि धार्मिक पर्यटकहरू पातलिन थालेका हुन् ।
पवित्र तीर्थ स्थलका रूपमा परिचित सेतीवेणीको विकास नहुँदा व्यापारीहरू समेत दिन प्रतिदिन पलायन हुँदै गएका छन् । कालीगण्डकी नदीमा पानीको सतह बढ्न जाँदा र सेतीखाोलाले धार परिवर्तन गर्दा तीर्थालुले शिला शालिग्रामको दर्शन एवं पूजा गर्न पाएका छैनन् । शिला शालिग्राम दाहिनेबर्ता गर्ने परिक्रमा स्थल समेत बाढीले बगाएको छ ।
रोजगार गुम्ने खतरा
सेतीवेणी बजारमा बाढी पसेर विस्थापित हुनेको सङ्ख्या बढ्न थालेपछि रोजगारका अवसरहरू कम हुँदै जान थालेको छ । स्थानीयका अनुसार शिला शालिग्राममा सहज पूजाआजा गर्न सक्दा यहाँ पूजाका पसल प्रशस्त थिए । पुजारी, दाउरा व्यापारी, भारी बोक्ने ज्यामी, होटेल व्यवसायी, पसलमा काम गर्ने मज्दुरहरुले काम पाउँथे । तर, अहिले भने तीर्थयात्री पातलिँदै जाँदा होटेल सुनसान छ । शालिग्राम र मन्दिरमा पुजारी भेटिँदैनन् । पूजा सामग्री व्यापारी भेट्न सकिँदैन । सामान ओसारपोसार गर्ने व्यक्तिहरू भेटिँदैनन् ।
सेतीवेणी पर्वतमा ३० वर्ष देखि टेलर गर्दै आएका मोहन परियारको दुई वर्ष अघि व्यापारको स्वरुपमा परिवर्तन भएको छ । शालिग्राम शिला सम्म सहज यात्रा गर्न सकिने अवस्था हुँदा तीर्थयात्रीको भिडभाड हुने गरेको उनी सुनाउँछन् ।
‘यहाँ मान्छेहरूको चहलपहल हुँदा टेलरमा पाँच जना कालिगड राखेको थिए ।’ उनले भने, ‘अहिले बजारमा चहलपहल निक्कै घटेको छ । मान्छे आउन पातलिन थालेपछि टेलरको काम छोडेर फेन्सी गर्न थालेको छु । फेन्सीमा पनि आफैलाई काम नपुगेर बेरोजगार जस्तो हुनुपरेको छ ।’
बजार संरक्षणको प्रयासमा छौँ : जनप्रतिनिधि
गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले शालिग्राम शिला र बस्ती संरक्षणका लागि नगरपालिकाले सक्दो प्रयास गरेको बताएका छन् । उनले नगरपालिकाले बजेट विनियोजन गरेर बस्ती संरक्षणको प्रयास थालेपनि त्यो पर्याप्त नभएको बताए । ‘गल्याङ नगरपालिकाले बस्ती संरक्षणको लागि सकेको पहल गरेकै छ । सानो बजेटले नहुने भएकाले ठुलै बजेटका लागि पनि हामीले गण्डकी प्रदेशका मुख्य मन्त्रीको कार्यालयमै पुगेर बजेट माग गरेका थियौँ । केन्द्र सरकारमा पनि पुगेर शालिग्राम शिला र बस्ती संरक्षणका लागि पहल गरिदिन आग्रह गर्यौँ । तर, हाम्रो कुरा सुनुवाइ भएन ।’ उनले भने, ‘अब फेरी सेतीवेणी बजार संरक्षणको प्रस्तावना लिएर काठमाडौँ जाँदै छौँ ।’
नगर प्रमुख भट्टराईले स्याङ्जा, पर्वत, गुल्मीका सिडिओ, पालिकाका प्रमुख, जनप्रतिनिधि प्रभावित क्षेत्रका जनता बसेर शिला र सेतीवेणी बजारको संरक्षणका बारेमा अगाडि बढ्ने प्रयास भएपनि सहमति जुट्न नसकेको बताए । उनले पर्वतले किनारमा लगाएको पर्खालका कारण सेतीखेलाले धार परिवर्तन गरेको बताए ।
यता गण्डकी प्रदेशका सांसद महेश भट्टराईले कालीगण्डकी लोकमार्ग र कोरिडोर निर्माणको क्रममा नदीमा झरेको गिट्टी, ढुङ्गा र नदीले बगाएर ल्याएको गिट्टी, ढुङ्गाका कारण नदीले स्वरूप परिवर्तन गरेको बताए । नदीका ढुङ्गा, गिट्टी बालुवा झिक्न अदालतले रोक लगाएका कारण कालीगण्डकीको सतह माथि आउँदै जाँदा शालिग्राम र बस्ती तर्फ आउँदै छ । उनले प्रदेश संसद्मा यस विषयमा पटक पटक कुरा उठाएको बताए ।
प्रख्यात शिला शालिग्राम र ऐतिहासिक सेतीवेणी बजारको अस्तित्व सङ्कटमा पर्दा यहाँका स्थानीय सहित राज्यलाई समेत ठुलो घाटा हुने सम्भावना छ । शिला शालिग्रामको दर्शन पूजाका लागि देश तथा विदेशबाट धार्मिक पर्यटकहरू आउने र प्रशस्त खर्च गरेर जाने गर्दा यहाँका स्थानीयको रोजीरोटी राम्रोसँग चलेको थियो ।
संसारभर मध्ये नेपालको कालीगण्डकीमा मात्र पाइने शालिग्राम शिलाको विराट स्वरूप सेतीवेणीमा मात्र देख्न पाइन्छ भन्नु गौरवको विषय थियो । अझैपनि राज्यले शिला शालिग्राम र सेतीवेणी बजारको संरक्षण गरेर विश्वसामु परिचित हुने प्रशस्त आधार छन् । नेपालको ऐतिहासिक सम्पत्तिको संरक्षण र सुरक्षा गरेर राज्यले ठुलो लाम लिन सक्ने देखिन्छ ।
वि.सं.२०८१ भदौ ११ मंगलवार १४:५२ मा प्रकाशित