कलानिधि दाहाल, काठमाडौं
अग्लेर उच्च उक्लौँ, छैनन् यता कतै खै
सौन्दर्य छाँट झुल्कौँ,छन् देखिने यता खै ?
खोजेर यी कतै छन्, हुन् झल्किने दिवार
थोत्रा सबै हटाई, हौँ हिँड्नमा तयार ।१।
छन् दृश्यसामु खाना, नाना विशाल चिन्ता
माया र मोहका छन्, छाना र धेर चिन्ता ।
मान्छे छ मूर्ति बाटा, थोत्रा घरी घरीका
पच्छ्याउँछन् हिँडेरै, हिँड्ने थरी थरीका ।२।
पूजा अतीतको यो, गर्दा कता कता म
खोक्रो बनिन्छु आफैँ, नौलो हुने कहाँ म ?
छैनन् कतै मजस्ता, भन्ने बनेर भाका
हालौँ विशाल झोक्का, भन्ने भएर खाका ।३।
छन् कुञ्ज गुञ्जिने यी, उक्ले धरा म माथि
खेला म खेल्न चौडा, पक्का गरा छु साथी ।
ताना चरी चुचाले, छाना बनेर खाली
साधा म जिन्दगी यो, बन्ने उदार पाली ।४।
बस्छन् सयाल ताप्ने, गर्मी पछाडि हट्छ
तातो चिसिन्छ आफैँ, स्रष्टा अगाडि बढ्छ ।
छन् रङ्गमा छु गाढा, चौडा छु सारको म
ताल्चा न लाग्छ कैल्यै, यो धैर्यधारको म ।५।
अग्लूँ बढेर ज्यादा,हो जिन्दगी अमोल
मिल्ने मिली मिलेको, छाया सरी सगोल ।
यो गोल भिन्न पार्ने, सङ्कीर्णका पुजारी
सीमा यता उतारी, उफ्रूँ म पुग्न पारी ।६।
छन् देशभक्त बन्ने, स्वाँठा समाज व्यक्ति
हुन्नन् कतै कसैमा, सच्चा रबाफ भक्ति ।
हुन् दासका विलासी, छन् आसका खलाँसी
जाऊँ म दूर साथी, स्वाँगे समाज छासी ।७।
उफ्रूँ बुरुक्क धर्ती, धाँजा बनाउनेमा
सुत्ने नहौँ म कालो, यो रात छाउँनेमा ।
मेरो छ दिव्य भित्री, बन्ने कतै म नौलो
बिर्सी म भुल्छु सारा, जस्तो हटेछ औलो ।८।
उद्दाम एक चौडा, चढ्ने म मार्ग लागू
छन् लाम स्याल झञ्झा, डर्ने भई नभागूँ ।
यात्रा छ अन्तरामा, झुल्ने नयाँ उज्यालो
जम्मै भुलेर दौडूँ, बाली नयाँ दियालो ।९।
छन्द : दिक्पाल
वि.सं.२०८१ भदौ २९ शनिवार ०५:२३ मा प्रकाशित






























