नेकपा माओवादी केन्द्र देवचुली नगर समितिले देवचुली नगरपालिकालाई २८ बुँदे ज्ञापन पत्र बुझाएको छ । विभिन्न माग राख्दै नगर उपप्रमुख पार्वता तिवारीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै उपप्रमुख पार्बता तिवारीले आफूले गर्न सक्ने काम नगरबाट गर्ने भन्दै नहुने काम प्रदेश र संघ सरकारमा पहल गर्ने बताएकी छन् ।
अध्यक्ष सत्यनारायण भुसाल र सचीव केशर बहादुर क्षेत्रीले हस्ताक्षर गरिएको ज्ञापन पत्रमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नेतृत्वको केन्द्रमा सञ्चालित १० वर्षे जनयुद्धमा १९ दिने जनआन्दोलन लगायत विगतका सम्पूर्ण आन्दोलनहरुको उपब्धि स्वरुप प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानबाट आज देशैभरि उभार र उत्साहका साथ २०६४ साल पछि धेरै निर्वाचन सम्पन्न भएका छन् ।’
‘सम्पूर्ण निर्वाचन बाट निवार्चित जनप्रतिनिधिहरु सो संविधान मर्म र भावनालाई आत्मसात गर्दै जवाफदेहितामा परिचालित हुनुपर्नेमा केहिले त्यस्तो गरेको पाइदैन । आन्दोलनहरुबाट प्राप्त उपलब्धिको रक्षा र विकासमा सबै राजनैतिक दल, जनप्रतिनिध आ–आफ्नो क्षेत्रबाट लाग्नपर्ने आवश्यक छ’, ज्ञापन पत्रमा थपिएको छ ।
यस्तै ज्ञापनपत्र मार्फत केहि जनप्रतिनिधिहरु संविधानको मर्म र भावना भन्दा विपरित गई भ्रष्टचार, कु–शासन, तथा स्वेच्छाचारि बन्दै गएका छन्, आजको अवस्थामा हामीले उठाएका मागहरु निमुखा गरिब जनता, जनजाति, दलित, उत्पिडित, महिला, पिछडिएको समुदायको उठान र प्रबर्धनमा अडिग रहेको र रहने जानकारी गराइएको छ ।
हाम्रो महान् तथा गौरबसाली पार्टी नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा देशैभरि र यस नगरपालिकामा समेत ध्यानाकर्षण गराउदै स्थानीय स्तर बाट पुरा गर्न सकिने माग स्थानीय स्तर बाटै र पुरा गर्न नसकिने प्रदेश सरकार र संघीय सरकार मार्फत पुरा गराउन आवश्यक पहल लिनका लागी माग गरिएको छ । ज्ञापन पत्रमा हाम्रा मागहरुलाई बेवास्ता गरि अबमूल्यन गरिएमा सो को परिणाम स्थानीय तहले नै जिम्मा लिनेपर्ने हुन्छ । तसर्थ हाम्रा मागहरुलाई यथेस्ट सम्बोधन गरि सहज वातावरण निर्माण गरिदिनुहुन अनुरोध गरिएको छ ।
यस्ता छन् मागहरु
१, तत्कालीन प्रचण्ड सरकारले सुरु गरेको भुमिहिन तथा सुकुम्बासीहरुका लागी वितरण गर्न लागिएको लालपूर्जा किन रोकिएको हो ? तत्काल प्रक्रियाको थालनी गरी वितरण गर्ने प्रक्रिया अगाडि बढाउन पहल लिइयोस् ।
२, विगतमा सुरु गरेको भुमिहिन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीहरुको जग्गा नापजाँच रोकिएको छ। सबै वडाहरुमा तत्काल नापजाँच गर्ने प्रक्रिया सुरु गरियोस् ।
३, दलित, सुकुम्बासी, लोपोन्मुख जाती, बोटे, माझी, मुसहर, थारुका बालबालिकाहरुलाई निशुल्क शिक्षा, स्वास्थ्य, विद्यालय पोशाक तथा खाजाको व्यवस्था मिलाइयोस् ।
४, देवचुली नगरपालिका भित्र रहेका महत्वपुर्ण बाटाहरु, पहाडी क्षेत्र जोड्ने बाटाहरु, कृषि र पर्यटन सडकहरुको गुरुयोजना तयार पारि व्यवस्थित गर्ने कार्यको थालनी गरियोस्।
५, पुर्व(पश्चिम लोकमार्गको देवचुली नगर क्षेत्र भित्र रहेको बाटो लामो समय देखि अस्तव्यवस्त रहेकोले तत्काल कार्य प्रारम्भ गराउन आवश्यक पहल लिइयोस् ।
६, बेरोजगार गृहिणी महिलाहरुलाई प्रोत्साहन स्वरुप आयआर्जनका कार्यक्रममा जोड्ने योजना निर्माण गरियोस् ।
७, बरोजगार युवाहरुलाई रोजगार तथा स्वरोजगारका अवसरहरु सिर्जना गरियोस् ।
८, किसानहरुले प्रयोग गरेको कृषि सिंचाई विद्युत मिटरमा नगरपालिका को तर्फ महशुल छुट गराउने प्रक्रियाको थालनी गरियोस् ।
९, किसानहरुलाई वर्गीकरण गरि उचित आवश्यकताको आधारमा उन्नत बिउ बिजन, मलखाद, पोषणतत्व, उपकरण अनुदानमा खरिद गर्न पाउने व्यवस्था मिलाइयोस् ।
१०, नगरपलिका भित्र रहेका कुखुरा पालक कृषकहरुलाई प्रोत्साहनका कार्यक्रम तथा बजारिकरणको व्यवस्था मिलाउने पहल गरियोस् ।
११, नगर भित्रका विभिन्न होमस्टेहरुमा नगर भित्रकै कृषकका उत्पादनलाई खपत गर्ने कार्य योजना बनाइयोस् ।
१२, औषधी बिमाबाट बिमाकर्तालाई ३०० प्रकारका औषधीहरुमात्र प्रदान गर्ने व्यवस्था भएकोमा हाल बजारमा ११०० प्रकारका औषधीहरु भएको र बिरामीहरुले अधिकांस औषधीहरु बाहिर खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको हुदा, क्रमश सबै औषधीहरु प्राप्त गर्ने व्यवस्था मिलाइयोस् ।
१३, जनयुद्ध तथा जनआन्दोलनका शहिद, घाइते, अपाङ्ग लाई नगरपालिकाको तर्फ बाट तत्काल सम्मान स्वरुप प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था गरियोस् ।
१४, शहिद, बेपत्ता, घाइते तथा द्वन्द प्रभावितहरुको अभिलेख तयार गरि विभिन्न आय आर्जनका कार्यक्रममा समावेश गराइयोस् ।
१५, सामुदायिक वनबाट वितरण गरिने काठ दाउरा विपन्न तथा गरिबलाई न्युन दर रेटमा उपलब्ध गराउन पहल गरियोस् ।
१६, देवचुली नगरपालिका भित्र सञ्चालित प्राविधिक विद्यालयहरुमा आवश्यक दरबन्दी, भौतिक पुर्वाधार, ल्याब तथा उपकरण व्यवस्थापन गर्न नगरपालिकाबाट प्रक्रिया सुरु गरियोस् ।
१७, दुग्ध किसान लगायत सबै वास्तविक किसानहरुलाई प्रकृति हेरि उचित अनुदानको व्यवस्था मिलाइयोस्
१८, देशमा आमुल परिवर्तन भई गणतन्त्र सम्म आइपुग्दा दलित समुदाय माथि छुवाछुत जस्तो अवस्था अझै कायम रहेकोले दलितहरुको आत्मसम्मानको सुनिच्चित गर्दै संविधान र कानुनको पूर्ण पालना गराईयोस् ।
१९, मृत्यु भएका व्यक्तिको अवस्था हेरि दाह संस्कारको लागी निशुल्क दाउराको व्यवस्था मिलाइयोस् ।
२०, ठुला उद्योग कलकारखाना बाट निस्कने प्रदुषण नियन्त्रण गर्न प्रभावकारि योजना निर्माण गरियोस् ।
२१, नगर क्षेत्र भित्रका खोला तथा नदि कटान, डुबान नियन्त्रणका लागी प्रभावकारी योजना निर्माण गरियोस् । खोला तथा नदि उकास क्षेत्रमा बसोबास गरेका समुदायलाई बसोबासको स्थायी व्यवस्था मिलाइयोस् ।
२२, जङ्गली जनावरबाट हुने हानी नोक्सानीको तुरुन्त क्षतिपूर्तिको व्यवस्था गरि दीर्घकालीन समस्या समाधानको उपाय खोजियोस् ।
२३, देवचुली नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुको प्रभावकारी अनुगमन गरि अनावश्यक राजनैतिक हस्तक्षेप बन्द गराई, जनताको शेयर र बचत रकमको संरक्षण गरियोस् ।
२४, नगर भित्र कृषकहरुद्वारा कृषकहरुकै लगानीमा कृषि उपज बजार तथा संकलन केन्द्र सञ्चालन गरि कृषि उपजको बजारलाई व्यवस्थित गरियोस् ।
२५, देवचुली नगरपालिका लगायत वडाहरुमा राष्ट्रिय मान्यता प्राप्त दलको सर्वदलिय सुझाव समिति गठन गरि सार्वजनिक जग्गको यकिन एवं संरक्षण गर्ने योजना लागु गरियोस् ।
२६, विभिन्न परिस्थितका कारण थला परेका व्यवसायीहरुलाई राहतका कार्यक्रम ल्याई करको दरमा समेत समायोजन गरियोस् ।
२७, विद्यालय व्यवस्थापन समिति गठन गर्दा ठाडो हस्तक्षेप नगरि अभिभावकद्वारा नै स्वतन्त्र रुपमा नेतृत्व चुन्ने व्यवस्था मिलाइयोस् ।
२८, संविधान प्रदत अधिकारलाई सुनिस्चित गर्न मा।वि सम्मको शिक्षालाई पूर्ण निशुल्क गर्न र जथाभावी अभिभावक शुल्क लिने व्यवस्थाको अन्त्य गर्न पहल लिइयोस् ।
२९, नगरपालिका भित्र रहेका जातिय, सांस्कृतिक, धार्मिक, परम्परा, भेषभुषा, भाषा, संस्कारको अभिलेख राखी जिवन्त संरक्षण गर्ने व्यवस्था मिलाइयोस् ।
वि.सं.२०८१ भदौ ३० आइतवार १७:३३ मा प्रकाशित






























