back
CTIZAN AD

सुदूरपश्चिम प्रदेश सरकारको बजेट सार्वजनिक

वि.सं.२०८१ भदौ ३१ सोमवार

849 

shares

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट आज प्रदेशसभामार्फत सार्वजनिक गरेको छ ।

प्रदेशसभाको आजको दोस्रो बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सरकारले चालु आवमा लिएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

चालु आवका लागि कूल विनियोजन मध्ये चालुतर्फ रु १२ अर्ब ८५ करोड ७४ लाख पाँच हजार र पुँजीगततर्फ रु १८ अर्ब ७६ करोड २४ लाख २३ हजार र वित्तीय व्यवस्थापनतर्फ रु एक करोड विनियोजनको व्यवस्था गरिएको छ ।

चालु आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्व परिचालनबाट रु एक अर्ब ६० करोड ७० लाख १५ हजार, नेपाल सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम रु नौ अर्ब ९९ करोड ९९ लाख, सङ्घीय रोयल्टी बाँडफाँटवाफत प्राप्त हुने रकम रु चार करोड चार लाख ५५ हजार रहेको छ ।

नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ अर्ब ७२ करोड २७ लाख, आर्थिक वर्ष २०८०/८१ को विनियोजनबाट बचत हुने अनुमानित रकम रु छ अर्ब १५ करोड ८३ लाख ५८ हजार, सशर्त अनुदानबाट प्राप्त हुने रु तीन अर्ब १३ करोड ३४ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु एक अर्ब ४२ करोड र विशेष अनुदानवापत रु ५५ करोड ६० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

यसअघि आर्थिक मामिलामन्त्री थापाले प्रस्तुत गरेको विसं २०८१ असार १ गते प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा प्रस्तुत गरिएको ‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेकय २०८१’ र ‘बजेटसँग सम्बन्धित विनियोजन विधेयक २०८१’ लाई फिर्ता लिनेसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो ।

अघिल्लो सरकारको पालामा पारित भइसकेको नीति कार्यक्रमलाई आधार मानेर सरकारले यो बजेट ल्याएको हो । गत असार १ गते तत्कालीन मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता दीर्घबहादुर सोडारीको सरकारले ल्याएको बजेटमा समान्य हेरफेर एवं परिमार्जन गरेर अर्को बजेट प्रस्तुत गरिएको हो ।

तत्कालीन सरकारले पनि चालु आवका लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो । सत्ता समीकरण फेरिएसँगै नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नभई अलपत्र परेको थियो ।

बजेट पारित नहुँदा साउन १ गतेदेखि सरकारको राजस्व सङ्कलन र खर्च गर्ने लगाएतका काम ठप्प रहेको थियो । नेपाली कांग्रेसका नेता कमलबहादुर शाह नेतृत्वमा गठन भएको नयाँ सरकारले अध्यादेश ल्याएर राजस्व सङ्कलन कार्य सुचारु गरेको भएपनि बजेट शून्यताको अवस्था भने यथावत थियो ।

यसअघि आजको पहिलो बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेशसभा सदस्यले आआफ्नो आसनबाट उठेर विरोध जनाएपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।

त्यसक्रममा सभामुखको अनुमतिमा धारणा राख्दै नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावलले चालु आवका लागि असार १ गते बजेट प्रस्तुत गरिसकिएको र आज पुनःबजेट प्रस्तुत गर्ने काम संविधान र कानुन विपरीत भएकाले आफूलाई स्वीकार्य नहुने भन्दै विरोध गरेपछि सभामुख भीमबहादुर भण्डारीले २० मिनेटका लागि बैठक स्थगित गरे ।

दोस्रो बैठक प्रारम्भ हुनासाथ पनि प्रतिपक्षी सदस्यले आआफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुखले आफ्नो भनाइ राख्न प्रतिपक्षीलाई समय दिए । त्यसपछि धारणा राख्दै नेकपा (माओवादी केन्द्र)का मानबहादुर धामीले संविधान र ऐनले तोकिदिएको समयमा बजेट ल्याउनुपर्नेमा त्यस विपरीत बजेट ल्याइएको भन्दै विरोध गरे । त्यसपछि प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सदस्य सदस्यहरू सदनको कारबाही अगाडि नबढाउन मागसहित नाराबाजी गर्दै बैठक कक्षबाट बाहिरिएका थिए ।

आजै बसेको तेस्रो बैठकमा आर्थिक मामिलामन्त्री थापाले प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) को प्रति, उक्त बजेटसँग सम्बन्धित विधेकय २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेकय २०८१ लाई सभासमक्ष टेबुल गरे ।रासस

वि.सं.२०८१ भदौ ३१ सोमवार २०:२३ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...