काठमाडौँ । ‘रोम जली रहेछ, निरो बाँसुरी बजाइरहेछ’ भने झैँ देश अहिले भीषण वर्षाबाट उत्पन्न भएको सङ्कटबाट गुज्रिरहेको छ । यता देशको प्रधानमन्त्री सङ्कटको सामना गर्न देश भित्रै हुनुपर्नेमा अमेरिका भ्रमणमा मस्त छन् । असोज ७ देखि नै मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न ठाउँमा भीषण वर्षा हुने र ठुलो विपद् निम्तन सक्ने भन्दै सूचनामार्फत सचेत गराइरहेको थियो ।
गत असोज ४ गते संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिनभन्दै प्रधानमन्त्री खड्ग प्रसाद ओली अमेरिका तिर गएका थिए । उनी अमेरिका गएको करिब एक हप्तापछि गत शुक्रवार र शनिवार राजधानी काठमाडौँ आसपास लगायतका देशका दर्जनौँ ठाउँमा भीषण वर्षापछि आएको बढी पहिरोका कारण कयौँ ठाउँहरू बगरमा परिणत भए । सयौँको सङ्ख्यामा सर्बसाधरणको बाढीको वितण्डाले ज्यान नै लियो । महासभाको कार्यक्रम सकिई सक्दासमेत देशमा भएको विषम परिस्थितिमासमेत कार्यकारी प्रमुख भने विभिन्न बहानामा विदेशमा भौँतारी रहनु निश्चय पनि शोभनिय होइन ।
केही वर्ष अगाडी आफू प्रतिपक्षमा रहेका बेला एक दुई दुर्घटना हुँदा सरकारलाई अललिच्छना भन्दै कटाक्ष गर्ने ओली विदेश भ्रमणमा मस्ती गरिरहँदा राजधानीको लाइफलाइन नै अस्तव्यस्त भई सयौँ सर्वसाधारणले ज्यान गुमाई रहँदा दुई तिहाइको उनको सरकार चाहिँ ३२सै लक्षणले युक्त हो ?
ओलीकै लयमा मन्त्री र विपत् व्यवस्थापनका सिईओ
प्रधानमन्त्री ओली मात्रै हैनन् मुलुकको अर्थतन्त्रको बागडोर समालेका अर्थमन्त्री विष्णु पौडेलसमेत विदेश यात्रामा थिए । मुलुकको विपद् व्यवस्थापनको जिम्मेवारी बोकेका राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल भीषण वर्ष सुरु भएकै दिन शुक्रवार राति बेलायत उडे । यद्यपि आइतबार दिउँसो स्वदेश फर्किएपछि भीषण, वर्षा, बाढी र पहिरोले जनधनमा ठुलो क्षति पुर्याएकोमा दुःख व्यक्त गर्न भ्याए ।
मुलुकमा ठुलो सङ्कट परेको अवस्थामा प्रधानमन्त्रीले भ्रमण छोटाएर जिम्मेवार नेतृत्वको उदाहरणसहित आफ्नो नैतिकता प्रदर्शन गर्नुपर्ने हो । तर प्रधानमन्त्रीले दुई सय बढीको ज्यान लिने गरी देशभित्र घटेको घटनालाई बेवास्ता गरी अमेरिकामा नै मस्ती गरे । यद्यपि उनी सोमबार साँझ नियमित तालिका अनुसार नै नेपाल फर्कने कार्यक्रम भने छ । तर, उनको स्वदेश फिर्तीले पीडितहरूको घाउमा मलम लगाउन सक्ने अवस्था भने देखिँदैन ।
सक्रिय प्रतिपक्ष, निरीह सरकार
दुई तिहाइ बहुमत सहितको वर्तमान काँग्रेस एमाले गठबन्धन यस्तो विपद्को घडीमासमेत निरीह वनेको देखियो । सङ्कटको वेला सरकारले नै आकस्मिक बैठक गरेर उद्धार र राहतमा लाग्नुपर्नेमा प्रमुख प्रतिपक्षले सर्वदलीय बैठकको आयोजना गर्नु पर्ने विडम्बना पूर्ण अवस्थासमेत देशले बेहोर्यो । भलै झारा टार्नेगरि आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठकको आयोजना गरेपछि प्रमुख प्रतिपक्षले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपद्को अवस्थामा आफ्ना युवा दस्ताहरूलाई उद्धार, राहत तथा उपकारमा खट्न आग्रह ग¥यो । उता सर्वसाधारण नागरिक चणिकलाल तामाङले आफ्नो ज्यानको प्रवाह नगरी बाढीमा हाम फलेर दुई जनाको ज्यान बचाए । यता सरकारका संयन्त्रहरू भने निरीह रूपले प्रस्तुत भएका थिए । उद्धारको मुख्य समयमा सरकारी संयन्त्रहरूसँग पर्याप्त श्रोत साधनको अभाव देखियो । त्यसैको परिणाम स्वरूप धादिङ र काठमाडौँको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोले अकालमै दर्जनौँ सर्वसाधारणको ज्यान लियो ।
मुलुकको सबैभन्दा बलियो, व्यवस्थित र चलायमान सङ्गठन भएको नेकपा एमाले भने प्रधानमन्त्रीसमेत रहेका आफ्नो पार्टीका अध्यक्ष अमेरिका भ्रमणमा रहँदा समेत मौन रह्यो । उसले प्रधानमन्त्री ओलीलाई भ्रमण छोटाएर स्वदेश फर्कन आग्रहसम्म गरेन । त्यतिमात्र होइन विपद्को समयमा एमालेले आफ्ना नेता कार्यकर्तालाई उद्धार तथा राहतमा उत्रिन आह्वान गरेको संस्थागत निर्णय कतै भेटिएन । प्रतिपक्ष दल माओवादी र सत्ता सहयात्री दल काँग्रेसले राहत कोषमा रकम जम्मा गर्ने घोषणा गर्दासमेत एमालेको सहयोग गर्ने विषय कतै चाँहीचुँइ सुनिएको छैन ।
अलपत्र यात्रुहरू
शुक्रवार र शनिवार भीषण वर्षा हुने भएकाले सावधानी अपनाउन अनुरोध गर्दछौँ भन्ने ब्यहोराको सन्देश हरेक मोबाइलमा रिङब्याकटोन बजाइयो । तर, सरकारले विपद्का बेलामा हुन सक्ने सम्भावित जोखिमलाई कम गर्ने कुनै उपाय अपनाएको देखिएन । उद्धार सामग्री र जनशक्तिको अभावमा नेपाल प्रहरी, नेपाली सेना तथा श–सत्र प्रहरीले उद्धारमा सन्तोषजनक काम गर्न सकेनन् ।
हालसम्म पनि कुन कुन ठाउँमा कति क्षति भयो र कति यात्रुहरू अलपत्र छन् भन्ने कुरा ओली सरकारले आङ्कलनसमेत गर्न सकेको छैन । राजधानी काठमाडौँ देखि जिल्ला फिर्ता हुन लागेका सर्वसाधारणहरूको लाम सडकका बिच बाटो, बसपार्कमा देख्न सकिन्छ । कतिपयले खानपिनको अभावमा अलपत्र अवस्थामा रहेको गुनासो गरिहरेका छन् ।
प्रहरी प्रमुख र सिडिओलाई कारबाही, प्रधानमन्त्रीलाई खै ?
विपद्मा सन्तोषजनक काम नगरेको भन्दै धादिङका प्रहरी प्रमुख र सिडिओलाई सरकारले कारबाही स्वरूप सरुवा गरेको छ । विभिन्न ठाउँमा रहेका सुरक्षा संयन्त्रले स्रोत साधनको अभाव रहेको बताएको थियो ।
तर विपद् व्यवस्थापन प्राधिकरणको अध्यक्षसमेत रहेका वर्तमान प्रधानमन्त्री अमेरिकामा घुमघाममै व्यस्त रहे । आकस्मिक बैठक डाकेर सरकारका सबै संयन्त्र परिचालन गर्नुपर्ने सरकार प्रमुख अमेरिकामा नै मस्तीमा रहे । कर्मचारीहरूलाई अक्षम देखाएर कारबाही गर्ने तर सङ्कटमा मस्तीमा रहेका वर्तमान प्रधानमन्त्री ओलीलाई कसले कारबाही गर्ने ?
ती प्रधानमन्त्री यी प्रधानमन्त्री
विसं २०६५ भदौमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड बेइजिङ ओलम्पिक्समा भाग लिन चीन गएका थिए । यता, कोसी बाँध फुटेर विपत्ति निम्तियो । त्यतिबेला कार्यवाहक प्रमको भूमिकामै डा.बाबुराम भट्टराईले तत्काल विशेष मन्त्रिपरिषद् बैठक राखेर उद्धार र राहतका काम अघि बढाएका थिए भने आफ्नो भ्रमण छोटाएर प्रचण्ड स्वदेश फिर्ता मात्र भएनन् कोसी पिडितको पिडामा मल्हम लगाउन उनी हिलाम्मे भएर मैदानमै उत्रिए ।
त्यस्तै गत वर्षको कात्तिकमा रुकुम र जाजरकोटमा गएको भूकम्पमा परेकाहरूको राहतमा त्यतिबेला प्रधानमन्त्री रहेका प्रचण्ड झिसमिसेमै सेनाको हेलिकप्टर लिएर राहत तथा उद्धारमा खटिएका थिए । त्यो कार्यमा प्रधानमन्त्री प्रचण्डले चौतर्फी वाही वाहीसमेत पाएका थिए । तर अहिलेका प्रधानमन्त्री नागरिकहरूको समस्या सम्बोधनमा भन्दा पनि भ्रष्टहरूको संरक्षणमा ज्यान दिएर लागेको देखिन्छ । यसको पछिल्लो उदाहरण बाल मन्दिरको जग्गा भाडा घोटाला प्रकरणमा मुछिएकी वर्तमान सरकारका उप प्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी सृजना सिंहलाई उन्मुक्ति दिने प्रयासबाट नै देखिन्छ ।
मौसमसम्बन्धी पूर्व सूचनासँगै जोखिम क्षेत्रहरू पहिचान गरी त्यहाँ बस्ने नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम हुन सकेको थिएन । उद्धारमा ढिलासुस्ती त्यस्तै छ । राहतमा पनि राज्य चुकिरहेको छ । प्रभावित क्षेत्रसँगको सञ्चार सम्पर्क विच्छेद छ । यी सबै अवस्थाले हाम्रो विपद् व्यवस्थापन प्रणाली कति कमजोर छ भन्ने प्रस्ट बनाएको छ ।
अझैपनि राजधानीबाट टाढा सीमान्त भूगोलबाट पूर्ण खबरहरू आउनै बाँकी छन् । थुप्रै नागरिकले ज्यान गुमाएका छन्, त्यत्तिकै बेपत्ता र घाइते हुँदा हजारौँ विस्थापित भएका छन् । हाम्रो प्राकृतिक सौन्दर्य ध्वस्त भएको छ । यस्तो अवस्थामा देशको कार्यकारी प्रमुख मनमौजी भ्रमणमा मस्त भएर देश र जनताको जिम्मेवारी बोध नगर्नु कुनै कोणबाट पनि युक्तिसङ्गत देखिँदैन ।
वि.सं.२०८१ असोज १४ सोमवार १६:३२ मा प्रकाशित































