बाकु । पेरिस सम्झौताबाट बाहिरिने प्रतिबद्धता जनाएका डोनाल्ड ट्रम्प पुनः निर्वाचित भए पनि जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी कदमले निरन्तरता पाउने संयुक्त राष्ट्रसङ्घका अधिकारीले बताएका छन् ।
“जलवायु परिवर्तनसम्बन्धी कदम ‘बलियो छ र रहिरहनेछ’,” संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख सिमोन स्टिएलले मङ्गलबार बताए ।
“तपाईंहरूमध्ये धेरैले विगत हप्ताहरूमा राजनीतिक घटनाहरूको जलवायु प्रभावहरूको बारेमा रिपोर्ट गर्दै छन् । म यति मात्र भन्छुः हाम्रो अभियान सशक्त छ र रहिरहनेछ,” उनले भने ।
सन् २०१५ को ऐतिहासिक पेरिस सम्झौताबाट अमेरिका पछि हटेपछि वार्ताको टेबुलको महत्वाकाङ्क्षालाई कमजोर पार्न सक्ने चिन्ताका साथ ट्रम्पको चुनावी जितले अजरबैजानको कार्यसूचीमा व्यापक अन्योल छाएको विश्लेषकहरूले जनाएका छन् ।
स्टिएलले जलवायुमा विश्वव्यापी ऐक्यबद्धता देखाउन बैठकको आह्वान रहेको दोहो¥याउँदै भने, “विश्वव्यापी तापमान वृद्धिबाट बच्नका लागि विश्वव्यापी सहयोग नै एक मात्र उपाय हो ।”
विकासशील देशहरूलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न र जीवाश्म ईन्धनबाट आफ्नो अर्थव्यवस्थालाई मुक्त गर्न मद्दत गर्न सहयोगको वृद्धिमा केन्द्रित रहेको छ । अहिले रकम तिरिरहेका धनी देशहरूको सानो समूहले दाताहरूको सङ्ख्या विस्तार भएको हेर्न चाहन्छन् र वार्षिक १०० अर्ब डलरको वर्तमान प्रतिज्ञालाई दस गुणा बढाउने आह्वानको विरोध गरिरहेका छन्।
धेरै मुलुकले घरेलु जनतालाई जलवायु नियन्त्रणभन्दा मुद्रास्फीति र सुस्त अर्थव्यवस्थाको बारेमा बढी चिन्तित भएको बताएका छन्। तर स्टिलले भने यी दुईको सम्बन्ध रहेको दाबी गरे ।
उनले भने, “जलवायु सङ्कट तीव्र गतिमा प्रमुख अर्थतन्त्रको तगारो बन्दै गइरहेको छ । समस्या नियन्त्रणका लागि कुनै कदम नचालेमा ‘हरेक देश र प्रत्येक घरपरिवार अहिलेको भन्दा पनि बढी प्रभावित बन्नेछन् ।”
“जलवायु नियन्त्रण वैश्विक मुद्रास्फीति बीमा हो,”उनले भने ।(रासस/एएफपी)
वि.सं.२०८१ कात्तिक २७ मंगलवार १८:५६ मा प्रकाशित