back
CTIZAN AD

नेपालमा रैथाने बाख्रापालनको  वर्तमान अवस्था र आर्जनको सम्भावना

वि.सं.२०८१ मंसिर १७ सोमवार

7.6K 

shares

बाख्राको परिचय

बाख्रा एउटा घाँसपात खाने स्तनधारी जनावर हो, जसलाई वैज्ञानिक रूपमा ऋबउचब ब्भनबनचगकजष्चअगक भनिन्छ । बाख्राको उत्पत्ति करिब १०,००० वर्षअघि पश्चिमी एसियामा भएको मानिन्छ । संसारभर यो जनावरलाई दुध, मासु, रौँ, मल, र अन्य उपयोगी उत्पादनहरूको लागि पालन गरिन्छ । बाख्रा विश्वका ग्रामीण जीवनशैलीमा गहिरो रूपमा गाँसिएको जनावर हो, जसले धेरैजसो गरीब र निम्न आय भएका समुदायहरूलाई आर्थिक सशक्तिकरण प्रदान गर्दछ ।

बाख्राको लागि घाँस काट्दै

बाख्राको इतिहास

मानव सभ्यतामा बाख्राको स्थान धेरै प्राचीन छ । मानिसले पहिलोपटक घरेलु जनावरको रूपमा बाख्रालाई नै पालन गरेको विश्वास गरिन्छ । बाख्रा प्राचीन मिश्र, ग्रीस, र मेसोपोटामियामा धार्मिक अनुष्ठानमा प्रयोग गरिन्थ्यो । प्राचीन समयदेखि नै यसको दुध र मासु मानिसको जीवन निर्वाहका लागि महत्वपूर्ण साधन थियो ।

विश्वमा बाख्रालाई के के भनिन्छ ?

भारतमा बाख्रालाई ‘गरीबको गाई’ भनिन्छ । चीनमा बाख्रालाई ‘धैर्य र सहनशीलताको प्रतीक’ मानिन्छ । युरोपमा बाख्रालाई ‘आफ्नो क्षेत्रमा फूर्तीला जीव’ का रूपमा बुझिन्छ । यस्तै अफ्रिकामा  बाख्रालाई ‘गरीबहरूको जीवनसाथी’ भनिन्छ ।

पोषिलो उन्नत रेड नेपिएर घाँस कृषक रामशरण न्यौपानेसँग लेखक

नेपालमा हालको बाख्राको अबस्था कस्तो छ ?

पशु सेवा विभागको जानकारी अनुसार नेपालका पशु चौपायाको कुल संख्यामध्ये बाख्राको संख्या सबैभन्दा धेरै अर्थात् १ करोड ८७ लाख रहेको छ ।  संसारमा जम्मा ३५१   प्रकारको बाख्राका प्रजाती पाइन्छन्  । ती बाख्रामध्ये एशिया महादेशमा मात्रै १४६ बाख्रा पाइन्छन् भने नेपालमा च्याङ्ग्रा, सिन्हाल, खरी र तराई गरी ४ प्रजातिका रैथाने बाख्रा छन् ।

नेपालमा बिगत केही बर्षदेखि बोयर जातको बाख्रालाई व्यवसायिक रूपमा पाल्ने अभियान भएको छ । यो जातको बाख्राबाट बढी फाइदा हुने भएकोले व्यवसायिक किसानहरू यसतर्फ आकर्षित हुन थालेका हुन् ।

विश्वको कुल बाख्राको संख्याको करीव ९२.५ प्रतिशत एशिया र अफ्रिका महादेशमा पाइन्छन् । विश्वव्यापी बाख्रापालनको तथ्याङ्क हेर्दा संख्याको आधारमा नेपाल विश्वमा दशौं स्थानमा छ । पहिलो स्थानमा चीन र दोस्रोमा भारत पर्दछन् ।

नेपाल सरकारको व्यापार तथा निर्यात प्रबर्धन केन्द्रको केहि बर्ष अगाडिका तथ्यांकअनुसार नेपालमा त्यस आार्थिक वर्षमा मात्र भारत, मलेसिया, इटाली, फ्रान्स, अष्ट्रेलिया, पोल्याण्ड, जर्मनी लगायतका देशबाट करिब ५ अर्ब बराबरको जीवित बाख्रा र मासु आयात भएको छ ।

नेपालमा व्यवसायिक बाख्रापालनको प्रचुर सम्भावना हुँदाहुँदै पनि परम्परागत पालन प्रणाली, बाख्रा विशेष दानाको अभाव, उन्नत घाँस खेती नहुनु आदि कारणले समस्या देखिन्छ । युवाहरूलाई व्यवसायिक बाख्रापालनमा प्रोत्साहन, नश्ल सुधार, मूल्य श्रृंखला विकास, उत्पादन विविधिकरण, र दिगो बजार व्यवस्थापन गर्न सके बाख्राको मासुमा हामी आत्मनिर्भर बन्न सक्छौं । बाख्रापालन एउटा नविन पेशाको रूपमा विकास भैरहेको छ ।

हालका केहि तथ्याकहरु हेर्दा पछिल्लो १०/१२ बर्षको अवस्था हेर्दा बाख्राको संख्यामा ३७ प्रतिशत भन्दा बढी बृद्धि भएको पाइन्छ । २०७७/७८ मा बाख्रा संख्या ८१,३५,८८० वटा थियो हाल १,८७, ६५,००९ वटा रहेका छन ।

देशब्यापी मासु उत्पादन तथा खपतको अवस्था हेर्दा बाख्राको मासुले राष्ट्रिय उत्पादनको १९ प्रतिशत भाग ओगटेको छ । हालसम्मको अवस्था हेर्दा धेरैजसो किसानहरूले परम्परागत हिसाबले नै बाख्रापालन गरेको देखिन्छ । व्यवसायिक किसानहरू बिस्तारै बाख्रापालन तिर आकर्षित भएको अवस्था छ । बाख्रापालनको तरिकामा अहिलेसम्म नेपालमा चराएर तथा केहि समय चराउने केहि समय बाँध्ने र घाँस काटेर खुवाउने गरेको पाइन्छ । अहिलेसम्म बधुवा प्रणालीबाट बाख्रापालन गरेको अवस्था खासै छ, तथा फाइदा र घाटाको हिसाबकिताब कमैले राखेको पाइन्छ अर्थात् अभिलेखीकरणमा ध्यान दिएको पाइदैन । बाख्रापालन व्यवसायलाई अझ लाभदायक, व्यवसाय उन्मुख र कृषकमैत्री बनाउनका लागि तुलनात्मक लाभ बढि हुनेगरि बाख्रापालनलाई व्यवसायिक र विकास गर्ने कार्यक्रम निर्माण गरि लागु गर्न

बिना धितो ग्रामिण भेकमा लगानी नीतिको कार्यान्वयनका लागि बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरूको स्थापना र सेवा विस्तार गर्ने,

पशु फर्मलाई परयिोजना नै धरौटीको रूपमा स्वीकार गर्ने,

साना किसानलाई प्राथमिकता,बजारमा किसानहरूको पहुँच विस्तार गर्ने कार्यक्रम, संकलन केन्द्र स्थापना गर्ने,

बाख्राको मलमुत्रदेखि कुनै पनि कुराको आर्थिक महत्वको प्रचारप्रसार,

पशु बिमा गराउने निकायको विस्तार गर्न जरूरी छ ।

बाख्राको लागि घाँस काट्दै

नेपालमा पाइने रैथाने जातहरु  :—

१) तराई बाख्रा :—

यो जातको बाख्रा प्रायः तराई क्षेत्रमा पालिन्छ । यो नेपालको तराई क्षेत्र  ३०० मी भन्दा कम उचाइ भएको क्षेत्रमा पाइने बाख्रा हो । यो जातको बाख्रा जमुनापारी भन्दा सानो हुन्छ तर झट्ट हेर्दा जमुनापारी जस्तै देखिन्छ । विभिन्न किसिमको रंग कालो, खैरो, सेतो र कालोमा सेतो धर्का मिसिएको आदि रंगमा यी बाख्राहरू पाइन्छन् । बाख्राको तौल तथा उत्पादन खरी बाख्रा जस्तै हुन्छ । बाख्राको तौल ३० देखि ३५ के जी सम्म हुन्छ भने वोका खसीको तौल ३० देखि ३५ केजी सम्म हुन्छ । यी बाख्राले पनि जुम्ल्याहा पाठापाठी जन्माउँछन् । त्यसैले भित्रि मधेस तथा तराईको लागि यो नै सवै भन्दा उत्तम बाख्रा हो ।

२) खरी बाख्रा र औले बाख्रा  :—

करिव ३०० देखि १५०० मि. सम्मको मध्यपहाडी भेकमा यो जातको बाख्रा पालिन्छ । यसलाई नेपाली पहाडी बाख्रा भनेर पनि चिनिन्छ । नेपालमा कुल बाख्रा संख्याको ५७ प्रतिशत खरि बाख्रा छन् । ‘सानो शारीरिक तौल फूर्तिलो शरीर भएका मुसेखरी भन्ने भुई घाँस मन पराएर खाने भएकोले यो जातलाई खरी भनिएको हो’ भन्ने पनि कथन छ ।

यो बाख्रा सानो कालो खैरो रंगको हुन्छ । बोकाको शारीरिक तौल २८ देखि ४० केजीसम्म हुन्छ । करिब ५७ प्रतिशत खरी बाख्राले जुम्ल्याहा जन्माउँदछन् । राम्रो व्यवस्थापनमा पालेमा २ वर्षमा ३ पटक ब्याउन सक्ने, ब्याएका पाठापाठी ९० प्रतिशत सम्म हुर्कने कुरा अनुसन्धानवाट थाहा हुन आएको छ । पहिलो पटक ७ महिनाको उमेरमा वाली जाने सरदर १२ देखि १४ महिनाको उमेरमा ब्याउँछन् । उत्पादनको दृष्टिकोणले यो बाख्रा हाम्रो हावापानीमा सबैभन्दा उत्तम मानिन्छ । यो बाख्रा संसारको असल आमामा गनिन्छ । हाल हाडनाता प्रजननको समस्याले यो बाख्रा खिइँदै गएको पाइन्छ । नेपालमा भएको खरी बाख्रा मध्ये सबभन्दा राम्रो सल्यान जिल्लामा पाउन सकिन्छ  ।

३) सिन्हाल :-

यो बाख्रा नेपालको उच्च पहाड तथा पर्वतीय भागमा पाइन्छ । यो बाख्रा घुम्ती गोठ प्रणालीमा पालिन्छ । यो बाख्रा नेपालमा भएका कुल बाख्राको २५ प्रतिशत छ । यो बाख्रा वरूवाल तथा भ्याङलुङ जातका भेडा सँगसँगै पालिने तथा घुम्ति गोठमा भेडाको बथानको पथ पर्दशकको काम पनि गर्दछ । नेपाली बाख्रा मध्ये यो जातको बाख्रा सबैभन्दा ठूलो शरीर भएका हुन्छन् । यी बाख्रा छोटो टाउको, सिधा नाक, कालो, सेतो र खैरो रङ भएका हुन्छन् । वयस्क बोकाको औषत तौल ४२ के.जी र वाख्रीको ३४ केजी हुन्छ । ठूलो खालको सिन्हाल बाख्रा ५० केजी तौल सम्मको हुन्छ । करिव २५ प्रतिशत बाख्राले मात्र जुम्ल्याहा पाठापाठी जन्माउँछन् ।

सिन्हाल बाख्राले आफ्नो शारीरिक तौलको ३० प्रतिशत बराबरको तौल बोक्न सक्छ, त्यसैले कर्णाली भेकका जिल्लाहरूमा यसलाई भारी वोक्ने काममा पनि लगाइन्छ । यसका साथै प्रतिवर्ष २०० ग्रामका दरले खस्रो रौं उत्पादन पनि गर्दछ, जसबाट नाम्लो, फेरूवा, लिउ आदि बनाउन सकिन्छ ।

४) च्याङ्ग्रा :— 

यो जातको बाख्रा राम्रो व्यवस्थापन गरी अनुसन्धान गरी पस्मिनाको बारेमा थप अनुसन्धान आबस्यक छ । यो जात संसारको राम्रो पस्मिना उत्पादन गर्ने जातको बाख्रा हो । यो जातको बाख्रा हिमालय श्रृंखलाको पछाडी सुख्खा चिसो हावा चल्ने अर्ध मरूभूमि जस्तो ठण्डा ठाउँमा पाइन्छ । हिन्दुकुश पर्वतीय क्षेत्रको पछाडी पट्टीको भाग यो जातको बाख्राको प्रमुख पालन स्थान भएको हुनाले भारतको कश्मिर तथा चीनको तिब्बत क्षेत्रमा यो बाख्रा वढी संख्यामा पालिन्छ । नेपालमा यो बाख्रा कुल बाख्रा संख्याको १ प्रतिशत मात्रै छ । च्याङग्राको शरीर बाक्लो लामो रौले झपक्क ढाकेको हुन्छ र राैं को भित्र मसिनो राैं हुन्छ । जस्लाई पश्मिना भनिन्छ । यो जातको बाख्रा सानो तर अलि लामो टाउको चम्किलो आँखा, सिधा नाक, साँगुरो थुतुनो गोलो घाटी कसिलो शरीर भएको हुन्छ । च्याङग्रा खास गरी काला सेता हुन्छन् । टाउकोमा कालो सेतो हुन्छ । बोका बाख्रा दुवैको १७ देखि २८ से.मी लामो सिङ हुन्छ । बाख्राको वयस्क तौल २७ देखि ३० केजी हुन्छ भने बोकाको ३५ देखि ४० केजी हुन्छ । यो बाख्रा प्रतिदिन ३० देखि ५० ग्रामका दरले बढ्ने गर्छन् । वर्षमा एक पटक ब्याउने र एकदम कमले मात्र दुई वटा जन्माउने हुन्छ । जन्मेको लगभग ८०० दिनमा पहिलो पटक वाली जान्छ । यो बाख्राले आफ्नो तौलको ३० प्रतिशत भारी बोक्न सक्छ । यो बाख्राले हिमाली भेकमा जंगली जडीबुटी खाएर आफ्नो जिवीका गर्ने हुनाले यसको मासु औषधीको रुपमा उपयोगी हुने धारणा भएकोले यसको बजार मुल्य समेत बढी छ । अब यसको व्यवसायिक पालनको लागि थप अनुसन्धान हुनु जरुरी देखिन्छ । च्याङ्ग्राको लागि रुख हुन नहुने र आकासबाट पानी नपर्ने ठाउँमा मात्र हुने हुनाले यसको लागि सोही अनुसारको क्षेत्र रोज्नु पर्छ ।

बाख्रापालनको  महत्व :- 

परापूर्वकाल देखि पालिदै आएको बाख्रा मासु उत्पादनको लागि पालिन्छन् । कतैकतै यसलाई दुध, पश्मिना र छालाको लागि पनि प्रयोग गरिन्छ । दुध तथा मासु उत्पादन दुवैको लागि फाइदाजनक भएको हुनाले नेपालमा धेरैजसो कृषकहरूले २/४ गोटा बाख्रा आफ्नो खेतको आलीमा अथवा नजिकैको पहाड जंगलमा छोडेर चराउने हिसाबले पालेका हुन्छन् । दुध दिने गाई वा भैसीभन्दा सस्तो छिटो ब्याउने तथा पाल्न सजिलो हुने हुनाले बाख्रा पालनको महत्व विशेष बढेको छ । बाख्राको दुध पचाउन सजिलो भएको हुँदा अक्सर गरी यो दुध बच्चाहरू रोगीहरू र गाई वा भैसीको दुध खान नहुनेहरूलाई ख्वाइन्छ । बाख्राहरू वर्षेनी ब्याउने हुँदा पाएको पाठापाठीहरूलाई दशैं तिहार जस्ता ठूला चाडपर्वमा बेचविखन गरी कृषकहरूले आफनो खर्च टार्छन् । उच्च पहाडी क्षेत्रमा बाख्राबाट मालसामानको ढुवानी पनि गराइन्छ । नेपालको वातावरण हावापानीले तराईदेखि उच्च पहाडी क्षेत्र बाख्रापालनको लागि उपर्युक्त छ । सबै जातजाती धर्मालम्बीहरूले बढी खसी बोकाको मासु खान्छन् । आफ्नो सनातन धर्म, कुल धर्म देखि देवताको पूजाअर्चनाको लागि पनि बाख्रा(बोका) आवश्यक रहि आएको छ । अन्य पशुपंछीको मासुको तुलनामा खसी बोकाको मासु महँगो छ । रैथाने बनस्पति अरू पशुले नखाने, बाख्राले खाने हुँदा पालन गर्न सजिलो छ । बर्षको २ पटक र एक पटकमा दुईवटासम्म पाठापाठी दिन सक्ने भएको हुँदा जीवनस्तर उठाउन आयआर्जनको मुख्य स्रोत बाख्रापालन भएको हो ।

एउटा बाख्राले दिनमा सरदर ७०० ग्राम बड्कौला (जुत्ता मल ५० प्रतिशत सुख्खा पदार्थ) र ७०० एम.एल पिसाब दिने हुँदा र बाख्राको मलमा नाईट्रोजन १ देखि ३ प्रतिशत, फस्फोरस ०.२ देखि ०.८ प्रतिशत र ०.४ देखि ०.८ प्रतिशतसम्म पोटास हुने हुँदा बाख्रापालनको साथै तरकारी र अन्नबाली खेतीबाट उत्पादकत्व बढाउन सकिन्छ । बिदेशबाट बर्षेनी आयात हुने रासायनिक मलको प्रतिस्थापन गर्न सकिन्छ । बाख्राको छाला रू. २००/२५० प्रति गोटामा भारत निर्यात भैरहेको छ । एउटा गाई पाल्न चाहिने घाँसबाट कृषकले ४ देखि ५ वटा बाख्रा सजिलै पाल्न सक्छन् । साना कृषकहरूलाई बाख्रापालन व्यवसाय एउटा पूर्ण रोजगार भैरहेको छ । भान्सादेखि खेतबारीको खेरजाने पदार्थहरू, घाँसपात, कृषि जन्य उपपदार्थको सदुपयोग भै मुल्यवान मासु उत्पादनमासमेत टेवा दिन्छ ।

बाख्रा सम्बन्धि आमधारणा :

बाख्रा पाल्न कम खर्च लाग्ने र दुध उत्पादन हुने भएकाले ‘बाख्रा गरीबको दुहुनो गाई हो’ भन्ने पनि चलन छ । बाख्रा गरीब परिवारको जीवन बीमा पनि हो । आवश्यक पर्दा सहजै बिक्री गरेर पैसा प्राप्त गर्न सकिने हुनाले बाख्रालाई ए.टि.एम पनि भनिन्छ । बाख्राको दुध पोसिलो हुने र बच्चाहरूलाई खुवाउन उचित हुने भएकाले बाख्रालाई धाईआमा पनि भनिन्छ । सुख्खा जमिनमा हुने । विपन्न निवारणको लागि अचुक उपाय, पाठापाठीलाई ब्याज पनि भनिन्छ । आम्दानीको लागि ‘कि बाख्राको पाठो, कि लम्बे बाटो’ भन्ने उखान नेपाली समाजमा प्रख्यात छ ।

बाख्राको खाने स्वभाव :

अन्य पशुले चर्न नसक्ने छोटो झारपात, घाँस बाख्राले सजिलै सँग चर्न तथा खान सक्छ । बाख्रा सर्वहारी शाकाहारी पशु भएकोले धेरै किसिमका झारपात, घाँसपात खान सक्छ । बाख्राले एक घण्टाको चर्ने समयमा सरदर ६८ प्रकारका बनस्पति खान्छन् । तर आफैले कुल्चेको वा अन्य जनावरले कुल्चेको र फोहर लागेको खाँदैन । बाख्राले धेरै प्रकारका दाना तथा उपपदार्थहरू खाने हुन्छ । बाख्राले अन्य पशुले भन्दा बढी मात्रामा गुलियो, तितो, नुनिलो र अमिलो स्वाद छुट्याउन सक्छन् । अन्य पशुले भन्दा बढी तितो स्वाद खान सक्छन् । बाख्राले घाँसपातहरु निश्चित जात निश्चित अवस्था सम्म मन पराउँछन् । सुकेको, छिपिएको र साइलेज खान त्यति मन पराउँदैन । भर्खर जन्मेको अवस्थामा घाँसपात खान नसकेता पनि २÷३ हप्ताको उमेरका पाठा पाठीले घाँसपात टिप्न शुरू गर्छन् । ३÷४ महिनामा रूमेनको पूर्ण विकास भई घाँसपातमा निर्भर हुन्छन् बाख्रालाई (भेडा वा गाई र भैंसीले नखाने) चुत्रो एैसेलु र घंगारू जस्ता झाडी बुट्यान खुवाउन सकिन्छ । साथै बाख्राले अन्य पशुले नरूचाउने गन्धयुक्त झारपात वनस्पति रूचाएर खान्छन् । बाख्राको मुख्य खुराक नै घाँसपात चर्नु हो । यदि बाख्रालाई दैनिक ८ देखि ९ घण्टा घाँसपातमा चर्न दिने हो भने आफनो जीवन निर्वाहका लागि र ढिलो ढिलो बृद्धिका लागि पनि आहारा पुरा हुन सक्छ । तर दुध उत्पादन गर्न, हुर्कने बाख्रालाई अतिरिक्त कोषे घाँस र दाना दिनु पर्छ । बाख्रालाई व्यवहारिक रूपमा सस्तो आहार जस्तै घाँसपात तथा कृषिजन्य पदार्थ खुवाउनु पर्छ । बाख्राको पचाउने क्षमता अन्य पशु भन्दा ज्यादा हुन्छ । बाख्राले गाई, भैंसी र भेडा भन्दा ज्यादा खान सक्छ । सुख्खा पदार्थ शारीरिक तौलको ७ प्रतिशतसम्म पचाउन सक्छन् भने गाई र भैंसी र भेडाले शारीरिक तौलको आधारमा २.५ प्रतिशत देखि ३ प्रतिशत सम्म मात्र पचाउन सक्छन् । बाख्राले कोशे घाँस धेरै मन पराउँछ । यिनीहरू ज्वार, मकै, साईलेज र पराल भने त्यति मन पराउँदैनन् । बाख्राको दुधमा खनिजतत्व अन्य पशुमा भन्दा ज्यादा हुन्छ । नुन पनि जति दैनिक १० ग्राम दिनुपर्छ ।

रैथाने जातका बाख्राहरु ।

रैथाने अर्थात् स्थानीय बाख्राको महत्व :—

रैथाने जातका बाख्राहरू शारीरिकरूपमा साना हुने भएपनि रैथाने हावापानीमा राम्रोसँग भिजेको हुनाले विदेशी बाख्राको तुलनात्मक साधारण व्यवस्थापन तथा स्याहार सुसारमा पनि राम्रो उत्पादन दिन सक्दछन् । रैथाने जातका बाख्रापालन गरी मुख्यतया निम्न फाइदाहरू लिन सकिने हुनाले महत्वपूर्ण मानिन्छ । यी बाख्राहरूलाई तुलनात्मक रूपमा कम रोग लाग्छ ।

रैथाने जातका घाँसपात, कृषि उपपदार्थहरू र भान्साबाट खेर जाने पदार्थहरू ख्वाएर पाल्न सकिन्छ । रैथाने वातावरण तथा हावापानीमा भिजिसकेको हुनाले वातावरणको प्रतिकूल प्रभावलाई खप्न सक्ने क्षमता हुन्छ । रैथाने खसी बोकाको मासुको स्वाद सबैले मन पराउने हुनाले बेच्ने समस्या पर्दैन । शारीरिक तौल कम हुने हुनाले सानातिना चाडपर्व तथा सानातिना बजारमा पनि सजिलै बेच्न सकिन्छ । परापूर्व कालदेखिनै नेपाली कृषकहरूले बाख्रापालन गरी आएको हुनाले यस सम्बन्धि परम्परागत ज्ञानको उपयोग गरी रैथाने बाख्रा पालनलाई निरन्तरता दिन सक्दछन् । भविष्यमा यीनै स्थानिय बाख्राहरूबाट छनौट गरी राम्रो उत्पादन दिने जातमा विकास गर्न सकिन्छ । स्थानिय बाख्राहरूलाई उन्नत जातहरूसँग क्रस गराई हावापानी सुहाउँदो जात विकास गर्न सकिन्छ । पर्यावरणीय दृष्टिकोणवाट पनि महत्वपूर्ण मानिन्छ ।

पाठापाठी ५÷६ महिनामा उमेर पुगेपछि बेच्न सकिने, पाठीहरू चाडै नै व्याउने, एक पटकमा १ भन्दावढी पाठापाठी दिने र व्याउने अवधि कम हुने हुनाले स्थानिय बाख्राले छिट्टै आम्दानी दिने गर्छ । धेरै किसिमको घाँस पात खाने, बांधेर पाल्न सकिने, केटाकेटीले पनि रेखदेख गर्न सक्ने, भीरपाखामा पनि चर्न सक्ने र परम्परागत पालन प्रविधि अपनाएर पनि पाल्न सकिने हुनाले स्थानिय जातका बाख्राहरूलाई पाल्न सजिलो हुन्छ । यसलाई सुधार गर्नसके उत्पादन क्षमतामा अझै वृद्धि गर्न सकिन्छ । रोग कम लाग्ने, नेपालको हावापानी सुहाउने र प्रति बाख्रा मुल्य कम पर्ने हुनाले यस व्यवसायमा जोखिम कम हुन्छ । स्वादिलो मासु भएकोले बजार सजिलै पाइन्छ ।

हाम्रो रैथाने बाख्रामा रहेको कमजोरीहरु   ः—

स्थानीय बाख्राको त्यति ठूलो महत्व हुँदाहुँदै पनि प्राय जसो जातहरूको कम उत्पादकत्व क्षमता यीनिहरूको प्रमुख कमी कमजोरी हो । यससँग अन्तरसम्वन्ध रहेका पक्षहरू निम्न छन–ः

अणुवंशीय क्षमता नै कम हुनु ।

सानो जिउको हुनु, वृद्धिदर कम हुनु ।

उचित प्रजनन विधि नअपनाउनु र छनौट लागु नगर्नु ।

खोरको उचित व्यवस्था नगर्नु ।

दुधको लागि पाल्न नसकिने अर्थात् दुधालु नहुने ।

आहारा (दानापानी) को उचित व्यवस्था नगर्नु ।

माउ बाख्रालाई उचित व्यवस्थापन नगर्नु ।

बोकाको उचित व्यवस्था नगर्नु ।

आन्तरिक एवम् बाह्य परजिवी विरूद्ध समयमा प्रयोग नगर्नु ।

रोग लागेमा समयमा उपचार नगराउनु ।

समयमा खोप नलगाउनु । चरन क्षेत्रको विकास नहुनु ।

उन्नत पालन व्यवस्थापन प्रविधितर्फ कृषकहरूले नअपनाउनु ।

 रैथाने बाख्राको संरक्षण र विकासमा गर्नुपर्ने केहि कार्यहरु :—

उपयोगिता मार्फत संरक्षण गर्नु नै संरक्षणको सर्वाेत्तम उपाय हो । छनौटको व्यवस्था गर्ने, हाडनाता प्रजनन् विधिपूर्ण रुपमा रोक लगाउने । अन्य फरक स्थानको नाता नपर्नेसँग प्रजनन गरेर पनि संरक्षण गर्न सकिन्छ । स्वच्छ दानापानीको व्यवस्था गर्नुको साथै गोठको सरसफाई गर्ने । उचित स्याहार समभार गर्ने, दानामा खनिज पदार्थ एवम् भिटामिन मिसावट गरी खान दिने । सेपिलो जग्गामा बाख्रा नचराउने, समय समयमा आन्तिरिक एवम् वाह्य परजीवीविरूद्ध औषधि खुवाउने । विभिन्न संक्रामक रोग विरूद्ध समय समयमा खोप लगाउने रोग लागेमा समयमा नै उपचार गराउने । बाख्रा र बोकालाई राख्नका लागि अलग अलग कोठाको ब्यबस्था गर्ने । हामीले बाख्रापालन गर्दा राम्रोलाई खसी पर्ने नराम्रो बोका राखने खराब अभ्यास लागि सुधार गर्नुपर्ने ।

बाख्रापालन व्यवसायमा हाल कृषकले ब्यहोरिरहेका समस्याहरू :

घाँसमा आधारित बाख्रापालन नभई दानामुखी बाख्रापालन हुनु । उपर्यूक्त नश्लका बाख्राका बोका तथा पाठीहरू सहजै नपाउनु । बाख्रापालकहरुको चरनको लागि बन जंगल प्रर्याप्त नहुनु, वन जंगल सामुदायिक वनमा हस्तान्तरणले अन्य सदस्यहरूको सामुदायिक वनमा पहुँच नहुनु । पशु स्वास्थ्य कार्यकर्ता, पशुसेवा प्राविधिक सर्वशुलभ नहुनु । बाख्रापालन तथा बिकासको लागि सरकारी नीति नहुनु । बोका बाख्राको बिक्री तौलको आधारमा नभै हचुवाको भरमा हुनु । बाख्रापालक कृषकको रैथाने स्तरमा कुनै संघसंगठन नहुनु । स्वच्छ तथा सफा मासु पसलको बारेमा जानकारी कम हुनु । व्यवस्थित बाख्रा संकलन केन्द्र तथा पशु बधस्थलको अभाव । व्यवस्थित खोर गोठको बारेमा कम जानकारी । बाख्रापालक किसानको परियोजना नै धितो रहने गरी सुलभ ऋण प्राप्त नहुनु  ।

बाख्रालाई मन पर्ने घाँसहरु

बाख्राको उत्पादकत्व बढाउने थप सम्भावनाहरू :

अझै धरै सख्यामा भारतबाट बाख्रा र खसी बोका छिमेकी राष्ट्र भारत तथा चीनबाट आयात भैरहेको अबस्थामा नेपाल भित्रै उत्पादन गरेमा शहरको पैसा गाउँमा पु¥याउन सकिने । पञ्चबर्षिय योजनाले अपेक्षा गरेको परिणात्मक लक्ष्य अनुसार प्रतिव्यक्ति प्रतिबर्ष मासुको खपत आधार बर्षको ८.७ केजीबाट १४ केजी पु¥याउने लक्ष्य रहेको छ । नपुग हुने मासुको लागि बर्षेनी भारत तथा तिव्बतबाट खसी बोका, च्याङ्ग्रा आयात भैरहेकोले देश भित्रै उत्पादन बृद्धि गरेमा बिक्रीको कुनै समस्या नरहेको । तुरून्त बिग्रेर सडेर नजाने र हिंडाएर ढुवानी गराई नजिकको बजारसम्म पु¥याउन सकिने भएकोले अरू व्यवसाय भन्दा सजिलो । अन्य पशुको मासुको तुलनामा खसी बोकाको मासुको मुल्य बृद्धिदर अत्यधिक छ । बढ्दो शहरीकरणले मासुको माग दिनानुदिन बढ्दो छ । पुरानो परम्परागत तरिकाले बाख्रापालन गर्दा बाख्रा, बोका, खसीको शारीरिक बृद्धि दैनिक ५५ ग्राम मात्र भैरहेको भन्ने अनुसन्धानबाट थाहा भए अनुसार (बाख्रा अनुसन्धान केन्द्र, बन्दीपुर, तनहुँ) उन्नत प्रबिधि अपनाएमा दैनिक १÷५ ग्रामसम्म शारीरिक बृद्धि गराउन सकिन्छ  (रैथाने जातीका बाख्राबाट हरेक पालिकामै) । सानो परिवारले थोरै ठाउँमा ४÷५ वटा बाख्रापालन गर्न सक्छन् । नेपालको बहुजाती, बहु साँस्कृतिक र भौगोलिक विविधता भएकोले बाख्रापालनको सम्भावना बढी छ । रैथाने घाँसपात खुवाएर र प्रविधिमा सामान्य हेरफेर गरेर निर्वाहमुखी बाख्रापालनलाई व्यवसायिक रूपमा परिवर्तन गर्न सकिने सम्भावनाले शहरको बढ्दो मासुको मागको आपूर्तिबाट देश बाहिर जानेदेखि देशकै सहरको रकम ग्रामिण कृषकसम्म पु¥याई आयआर्जनबाट जीवनस्तर माथी उठाउने प्रशस्त सम्भावना रहेको छ ।

पहाडी गाउँक्षेत्रका खेर गएका हैसियत बिग्रिएका त्यत्तिकै रहेका आली, डिल, कान्ला, खोरिया प्रति जग्गाहरू वातावरण अनुसारका स्वदेशी तथा बिदेशी कोसे घाँस, डाले घाँस र अन्य घाँसहरूको समुचित समिश्रणबाट जमीनको उर्वरा शक्ति बढाउन सकिने र प्रति ईकाई क्षेत्रफलबाट पोषिलो घाँसको उत्पादन बढाउन सकिने तथ्य सावित भैसकेको छ । पहाडी क्षेत्रका सामुदायिक, कबुलियती वन तथा चरन विकास लागु भएको क्षेत्रमा घाँसको उत्पादन गर्न सकिन्छ । यसरी लगाउन सकिने घाँसहरूमा : स्टाइलो, बकाइनो, किम्बु, भटमासे, मेन्डोला, राइखनियो, बकाइनो, मोरिङा (सितल चिनी), सुपरनेपियर, ढैचा, मोलात्रो, इन्दु, इपिल–इपिल, निमारो, किम्बू आदि पर्छन् । सामुदायिक वन क्षेत्रमा सल्लो साल जस्ता रूखहरूबाट वरीपरीका कृषकले अपेक्षाकृत आम्दानी लिन नसकिरहेकोमा ठाउँ अनुसार डालेघाँस, भुई घाँस लगाएर घांसको उत्पादकत्व बढाउने सम्भावना रहेको छ । रैथाने स्तरमा पालिएका बाख्राहरूमा न्यूनतम रोग तथा परजीवि विरूद्ध औषधी नपाएको अवस्थामा न्यूनतम सुविधा थप गरी थप आम्दानी हुन्छ । सन्तुलित आहारा र पोशिलो घाँसपातको साथसाथै शारीरिक बृद्धि छिटो हुने र प्रजनन्योग्य हुन आवश्यक साधारण मिनरल र नूनको समिश्रणबाट उत्पादकत्व बृद्धि गराउन सकिन्छ । रैथाने स्तरकै मिलबाट उत्पादित पिना, ढुटो चोकरमा केही अन्न मिसाएर सन्तुलित आहार बनाउन सकिन्छ ।  प्रजनन् प्रणालीमा सामान्य सुधार क्रस ब्रिडिड गरी गर्न सकिन्छ । कम उत्पादकत्व भएका बोका तथा बाख्रा छनौट गरी प्रजनन्को लागि उपयुक्त बोका तथा बाख्रा छनौट गर्न सकिन्छ । उपयुक्त समयमा खसी पार्नुपर्दछ । बर्षा याममा हुने प्रशस्त हरियो घाँसलाई हेवा साईलेज बनाएर हिउँदमा ख्वाउन सकिन्छ ।  नियमित रूपमा परजीवि विरूद्ध औषधि ख्वाएर  विभिन्न संक्रामक रोगहरूको नियन्त्रण गर्नु पर्दछ । बाख्रा (खसबोका)को बजार व्यवस्थापनको लागि एक स्थानीय नकिाय एक स्रंकलन केन्द्र स्थापना गरी स्वच्छ सफा माासु पसल राख्ने तालिम दिएर  सुधारिएको पशुबधस्थल स्थापना गरेर गर्न सकिन्छ ।

हामीले हामीसँग भएको स्थानीय रैथाने जातका बाख्राको संरक्षण तथा प्रबर्धन गर्नुपर्ने आवश्यकता रहेको छ । जबसम्म हामीले आफ्नो रैथाने जात जोगाउन सकिदैन । हामीले आफ्नो सम्पत्ति गुमाउँदै जानेछौं, यसतर्फ राज्य र किसानले ध्यान दिन जरुरी छ ।

(प्रस्तुत लेख ऐक्यबद्धता मासिक पत्रिकाको मंसिर अंकबाट साभार गरिएको हो । )

 

sushlika76@gmali.com

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:४५ मा प्रकाशित

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...