back

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गर्दै ७० वर्षीय राना

वि.सं.२०८१ मंसिर २७ बिहीवार

294 

shares
GLOBAL IME AD
NTC AD

कञ्चनपुर । कृष्णपुर नगरपालिका-२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार(सान) लगाउने कार्य गर्छन्। चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उनको दिनचर्या नै हो ।

यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उनले बताए । साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उनले धारिलो बनाउँछन् । तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगायवापत रानाले दैनिक करिब रु एक हजार जति आम्दानी हुने गरेको सुनाए ।

“बिहानको नास्ता गरेर घरबाट निस्किन्छु । साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु”, उनले भने । रानाले कहिलेकाही धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताए ।

खाना खर्च कटाएर दैनिक रु सात सय जति बचत हुने गरेको उनी बताउँछन् । सान लगाउनेकार्य रानाले २० वर्षकै उमेरदेखि गर्दै आएका हुन् । पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेको समेत बताए । स्वदेश फर्केर विवाह गरेपछि यसै कार्यलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ । “घरखर्च यसैबाट आएको कमाईले धानिदै आएको छ । मुक्तकमैया पुनःस्थापना कार्यक्रमअन्र्तगत पाइएको घरबासको जग्गा मात्रै छ । अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु”, उनले भने, “पछिल्लो समय त छोराले ज्यालामजदुरी गरेर सघाइरहेका छन् । हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ ।”

विसं २०५८ सालमा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आफैँले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताए । “कमाई गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सीप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु”, उनी भन्छन्, “अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ । बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन् । हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्र्दैनन् । बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन ।”

रानाले चक्कु, हसिया, चुलेसीलगायतमा धार लगायवाफत रु २०, खुकुरी, बञ्चरोमा धार लगायवापत रु ५० र तरबारको रु एक सय रुपैयाँ ज्याला लिने गर्नुभएको छ । पहिला महिनाको रु ३० हजारसम्म पनि कमाइ हुने गरे पनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले रु १५ हजारदेखि २० हजारसम्म कमाई हुने गरेको उनले जानकारी दिए । “बसेरभन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ । छोरा बुहारीसँग हात फैलाएर माग्नु परेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु”, रानाले खुसी हुँदै भने । रासस

 

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:३३ मा प्रकाशित

भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता

भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता

अछाम । डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरु हुने...

नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु

नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु

टीकापुर (कैलाली) । कैलालीमा नेपाल भारत सीमामा रहेका सीमा स्तम्भ...

चिसो बढेपछि बाँकेमा जनजीवन प्रभावित

चिसो बढेपछि बाँकेमा जनजीवन प्रभावित

खजुरा (बाँके) । पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन...

चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सघाउने

चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सघाउने

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माघेसङ्क्रान्तिलगायत चाडपर्वले राष्ट्रिय...

बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु

बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु

गुलरिया (बर्दिया) । बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको...

कलुवापुरमा खानेपानी समस्या हट्यो

कलुवापुरमा खानेपानी समस्या हट्यो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दालाई सहज खानेपानी उपलब्ध गराउन...