१. पृष्ठभूमि
वर्तमान आधुनिक युगमा कुनै पनि मानिस चिन्तारहित पाउन कठिन हुँदै गएको छ । प्रतिस्पर्धात्मक अवस्था भएको समाजमा आफ्नो लक्ष पूरा नभएपछि चिन्ताग्रस्त हुन्छ । वास्तवमा चिन्ता एक सामान्य मानविय भावना हो जसलाई असहजता, चिन्ता वा डरको भावनाले समेत चित्रण गरिन्छ । यसले मानिसमा उत्पन्न हुने तनावको प्राकृतिक प्रतिक्रियाको रूपमा कार्य गर्छ र यस्ता चुनौतीसँग लड्न उत्प्रेरक कारक बन्न सक्छ । यद्यपि, जब चिन्ता परिस्थितिसँग प्रतिकूल हुन्छ वा समयको साथसाथै बढ्दै जान्छ, यो एक विकराल अवस्थामा परिणत हुन सक्छ । वास्तवमा, जीवन, जीविका, जैविक विविधता, जन सम्बन्ध, जलवायु परिवर्तनजन्य जोखिम, जटिल प्राकृतिक विपद्, जीवाणुजन्य महामारी रोगआदिको संक्रमणले नागरिकहरुमा असुरक्षा महसुस हुन्छ । जसको परिणामस्वरुप मानिसको मनमा चिन्ता उत्पन्न हुन्छ । वर्तमान अवस्थामा जलवायु परिवर्तनको नकारात्मक असर मानिस, जीवजन्तु, वनसपति, आदिमा व्यापक रुपमा देखा परेको छ ।
मानसिक विकार कुनै एक व्यक्तिको अनुभूति, भावनात्मक नियमन, वा व्यवहारमा एउटा अशान्तिद्वारा उब्जेको विशेषता हो । यो सामान्यतया कामको महत्वपूर्ण क्षेत्रहरुमा संकट वा हानिसँग सम्बन्धित छ । जहाँ धेरै प्रकारका मानसिक विकारहरू हुन्छन् । मानसिक विकारहरूलाई मानसिक स्वास्थ्य अवस्था पनि भनिन्छ । आजकाल यो शब्द व्यापक भएको छ जुन मानसिक विकारहरू, मनोसामाजिक असक्षमताहरू र अन्यमानसिक अवस्थाहरूलाई महत्वपूर्ण संकट, कार्यमा कमजोरी, वा आत्म–हानिको जोखिमसँग सम्बन्धित छ । २०१९मा, प्रत्येक ८ मा १ व्यक्ति, वा संसारभरि ९७० मिलियन मानिसहरू मानसिक विकारको साथ बाँचिरहेका थिए । चिन्ता र तनावग्रस्त विकारहरू सबैभन्दा सामान्य भएको छ र कोभिड १९ महामारीको कारण चिन्ता र तनावग्रस्त विकारहरूसँग बाँचिरहेका मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । प्रारम्भिक अनुमानहरूले केवल एक वर्षमा चिन्ता र प्रमुख अवसाद विकारहरूको लागि क्रमशः २६ प्रतिशत र २८ प्रतिशत वृद्धि देखाएको छ । प्रभावकारी रोकथाम र उपचार विकल्पहरू नहुँदा, मानसिक विकार भएका अधिकांश मानिसहरूको प्रभावकारी हेरचाहमा पहुँच हुँदैन । त्यसकारण धेरै मानिसहरूले कलंक, भेदभाव र मानवअधिकारको उल्लङ्घनको अनुभव पनि गर्छन् (विश्व स्वास्थ्य संगठन, २०२२) । यस आलेखको मुख्य उद्देश्य चिन्ता भनेको के हा, कारक तत्वहरु र यसको समुचित व्यवस्थापन कसरी गर्न सकिन्छ सो को अध्ययन गर्नुरहेको छ ।
२. चिन्ताका प्रकार
अहिले धेरै प्रकारका मानसिक चिन्ता मानिसमा रहेका छन्, प्रत्येकको आफ्नै खाले लक्षण र बढ्वा दिने कारक तत्वहरू हुन्छन् । सामान्य खाले चिन्तामा जेनरलाइज्ड एन्जाइटी डिसअर्डर, सोसल एन्जाइटी डिसअर्डर, पेनिक डिसअर्डर र विशिष्टखाले त्रासहरू समावेश हुन्छन् । प्रभावकारी निदान र व्यवस्थापनका लागि यिनीहरूको प्रकृति बुझ्न जरुरी हुन्छ ।
३. चिन्ताका कारण
– आणुवांशिक अवस्था, मस्तिष्क रसायन र न्युरोट्रांसमिटरहरूमा असन्तुलनले चिन्ताको विकासमा महत्वपूर्ण भूमिका खेल्छ । अझै, चिन्ताको पारिवारिक इतिहास भएका व्यक्तिहरू यो अवस्थाका लागि बढी संवेदनशील हुन सक्छन् ।
– जीवनका तिता अनुभवहरू, आघात र तनावपूर्ण परिस्थितिहरूमा लामो समयसम्म रहनाले चिन्ताको विकासमा मलजल पु¥याउन सक्छ । दुव्र्यवहार वा बेवास्ता जस्ता बाल्यकालको प्रतिकूलताले पनि मानसिक स्वास्थ्यमा दिगो प्रभाव पार्छ ।
– केही शारीरिक अवस्थाहरू जस्तै थाइरोइडिज्म र हार्मोनल असन्तुलनले पनि चिन्ताका लक्षणमा योगदान दिने गरेको पाइन्छ । चिन्तालाई समग्ररूपमा सम्बोधन गर्न शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यबीचको अन्तत्र्रिmया बुझ्न महत्वपूर्ण हुन्छ ।
– गरिबीको कठोर अवस्थामा जीवन जिउनु ।
– वातावरणीय असन्तुलन र पारिस्थितिका प्रणालीमा क्षयीकरण ।
– खाद्य तथा पोषण असुरक्षा ।
– शिक्षा तथा स्वास्थ्य सेवामापहुँच कमी हुनु ।
– सामाजिक विभेद जस्तै घरेलु हिंसा, बालश्रम, ज्येष्ठ नागरिकप्रति अनादार, महिला पुरुषबीच विभेद आदि ।
– सुशासनको कमी ।
– देशमै आकर्षक रोजगारीको कमी ।
– जनचेतनाको कमी ।
– मानवअधिकारको हनन् ।
– समयमा न्याय नपाउनु ।
– लोकतन्त्रीक शासनको कमी ।
– भ्रष्टाचार, संगठित अपराध, सरकारी निर्णय प्रक्रियामा ढिलासुस्ती, महङ्गी, अत्याधिक हुनु ।
– प्राकृतिक विपद्, घरेलु तथा अन्तराष्ट्रि«य स्तरमा भएका युद्ध ।
– वर्गीय, जातिय, लैङ्गिकशोषण र
– सामाजिक समानता र सामाजिक न्यायमा कमी आदि ।
४. लक्षण
– अत्यधिक चिन्ता ।
– चिडचिडापन ।
– निद्रामा गडबडी ।
– मांसपेशीमा तनाव महसुस हुनु ।
– थकान ।
– अस्थिर विचारहरूको प्रवाह ।
– ध्यान केन्द्रितगर्न कठिनाइ हुनु ।
५. चिन्ता सामना गर्ने उपाय
– संज्ञानात्मक–व्यवहार थेरापी र एक्सपोजर थेरापी चिन्ता व्यवस्थापनका लागि मनोचिकित्साको प्रभावकारी तरिका हुन् ।
– यी थेरापीले व्यक्तिलाई नकारात्मक सोचका ढाँचा पहिचान गरी तिनलाई सामना गर्न र बिस्तारै डरको प्रभाव कम गर्न मद्दत गर्दछ । केही अवस्थामा चिन्ताका लक्षणहरू कम गर्न औषधिसमेत सेवन गर्न सकिन्छ । तर, तिनीहरूको प्रयोग चिकित्सकको निगरानीमा नै गर्नुपर्छ ।
– क्याफिन र अल्कोहलको सीमित सेवन गर्नु पनिचिन्ता नियन्त्रण गर्ने जीवनशैली परिमार्जनका तरिका हुन् ।
– तनाव व्यवस्थापन गर्ने, व्यक्तिका लागि बलियो खाले समर्थन प्रणालीको निर्माण गर्नु आवश्यक हुन्छ । यसमा साथीभाइ, परिवार वा यस्तैखालको समूहसँग सरोकारका विषय बाँड्नाले आत्मबल, सान्त्वना र उपयुक्त दिशानिर्देश प्रदान गर्न सक्छ ।
– चिन्ता एक जटिल र डरलाग्दो मानसिक स्वास्थ्य अवस्था हो जसको प्रभावकारी व्यवस्थापन अत्यन्तै जरुरी हुन्छ । विभिन्न कारण, लक्षण र व्यवस्थापनका तरिका पहिचान गरेर हामीले आफ्नो मानसिक स्वास्थ्य सुधार गर्न सक्रिय कदम चाल्न सक्छौँ । व्यवस्थापनका तरिका छनोट गर्दा भने प्राकृतिक तरिकाको अवलम्बन गर्नाले दीर्घकालीन रूपमै यसका असरहरू हटाउन मद्दत गर्छ ।
६. योग र ध्यानबाट चिन्तामुक्त हुन सक्छ
मनलाई शान्त र स्थिर राख्नका लागि ध्यान गरिन्छ । ध्यान गर्दा मानिसले आरामदायी महसुस गर्छन् । यसले उनीहरूमा आत्मजागरण र आध्यात्मिक सोच वृद्धि गर्छ । कुनै शान्त स्थान छानेर आरामदायी रूपमा बस्ने र गहिरो सास लिँदै आफ्नो श्वास–प्रश्वासमा ध्यान केन्द्रित गर्नुपर्छ । भर्खरै ध्यान गर्न सुरु गर्नुभएको छ भने पाँचदेखि १० मिनेट मात्रै यसरी एकाग्र भएर बस्दा पनि आराम महसुस गर्नुहुन्छ र फरकपन पाउनुहुन्छ । त्यसपछि बिस्तारै ध्यानको अवधि बढाउँदै लानुपर्छ । नियमित ध्यान गर्नुका धेरै फाइदा छन् । नियमित ध्यान गर्नाले तनाव हट्छ, भय कम भएर जान्छ, आत्मजागरण बढ्छ, स्मरण शक्ति तेज हुन्छ, दयाको भाव पलाउँछ र निद्रा पनि राम्रो लाग्छ ।
७. निष्कर्ष
वर्तमान प्रतिष्पर्धाको जमानामा आफ्नो लक्ष पूरा नभएको अवस्थामा मानिस चिन्ताग्रस्त हुन्छ । हाम्रो नेपाली समाजमा पनि मानिसमा चिन्ताको अवस्था बढ्दै गएको पाइन्छ । वास्तवमा चिन्ता एक सामान्य मानविय भावना हो जसलाई असहजता वा डरको भावनाले समेत चित्रण गरिन्छ । अधिक तृष्णा नै चिन्ताको स्रोत हो । यसले मानिसमा उत्पन्न हुने तनावको प्राकृतिक प्रतिक्रियाको रूपमा कार्य गर्छ र यस्ता चुनौतीसँग लड्न उत्प्रेरक कारक बन्न सक्छ । आणुवांशिक अवस्था, मस्तिष्क रसायन र न्युरो ट्रान्समिटरहरूमा असन्तुलनले चिन्ताको विकासमा महत्वपूर्ण भूमिका खेल्छ । व्यायाम, ध्यान र उचित निद्रा, असल आचरणजस्ता तनाव कम गर्ने प्राकृतिक विधिबाट चिन्ताको असरलाई कमगर्न सकिन्छ । चिन्ता मानिसकै मनबाट उब्जने भएकोले मनलाई स्वःनियन्त्रण गरेर चिन्ता हटाउन सकिन्छ ।
मानिस जति धेरै धनि हुँदै गयो त्यत्ति नै चिन्ताको स्तर पनि बढोत्तरी भएको पाइन्छ । भौतिक सुख सुविधा पर्याप्त हुँदैमा चिन्ता कम गर्न सकिदैन । चिन्ताको सही व्यवस्थापन गर्न त स्वयं व्यक्ति नै मानसिक रुपमा तयार हुनुपर्छ । भौतिक संसारमा सुख, शान्ति र आनन्द बाहिरी संसारमा खोजेर कदापी पाइदैन् यसको लागि आफ्नै मन भित्र फर्कनु पर्छ । योग, ध्यान र प्रकृतिसँगको प्रेमले आन्तरिक शान्तिलाई बलियो बनाउँछ र प्रकृतिको रहस्यवा सृष्टिको केन्द्रसँग जडानको भावना प्रदान गर्दछ । आध्यात्मिकताले दैनिक जीवनको तनावलाई कमगर्न सक्छ । दैनिक योग र ध्यान गर्नाले दिमाग र शरीर दुवैलाई फाइदा पुर्याउन सक्छ । अहिले जलवायुजन्य परिवर्तको समाजमा परेको नकारात्मक प्रभावले जीवन, जगत, जनजीविका, जैविक विविधता, जन सम्बन्ध, जलवायु परिवर्तनजन्य जोखिम, जटिल प्राकृतिक विपद्, जीवाणुजन्य महामारी रोग आदिको संक्रमणले नागरिकहरुमा असुरक्षा महसुस भएको छ । जलवायुजन्य जोखिम न्युनिकरण गर्न, समुदाय, स्थानीय, प्रदेश, संघीय सरकार, अन्तर्राष्ट्रिय समुदाय, तित्तीय संस्थाहरु, संयुक्त राष्ट्रसंघ र बहुराष्ट्रिय निगम आदि सबैले प्राथमिकताका साथ मिलेर काम गर्नु पर्ने आवश्यक्ता महसुस भएको छ ।
२०८१, पौष ५
वि.सं.२०८१ पुस ५ शुक्रवार १०:१० मा प्रकाशित






























