back
CTIZAN AD

पर्यटकीयस्थल मझुवागढीमा निर्माण गरिएको पदमार्ग मापदण्डविपरित

वि.सं.२०८१ पुस ९ मंगलवार

615 

shares

खोटाङ । किराती ऐतिहासिकतासँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल खोटाङको मझुवागढी आवतजावत गर्ने पर्यटकका लागि निर्माण गरिएको पदमार्ग (ढुङ्गाको सिँढी) मापदण्ड विपरित भएको स्थानीयवासीले गुनासो गरेका छन् । पुरातत्व विभागको बजेटबाट मझुवागढीमा निर्माण गरिएको पदमार्गको सिँढी मापदण्डविपरित सिमेन्ट र बालुवा प्रयोग गरेर बनाइएको भन्दै त्यसलाई भत्काएर पुनः मापदण्ड अनुसारको पदमार्ग निर्माण गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

पुरातत्व विभागले आर्थिक वर्ष २०८०÷०८१ मा रू १९ लाख ९७ हजार ३९२ को लागत अनुमान गरेपनि युनिक निर्माण सेवा खोटाङले रू ११ लाख ८४ हजार ५६० मा सम्पन्न गर्ने गरी ठेक्कामार्फत पदमार्गको सिँढी निर्माण गरेको थियो । पदमार्गको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन), बोलपत्र आह्वान र कार्य सम्पन्नको मूल्याङ्कन गरी भुक्तानीसमेत गरिसकिएको पुरातत्व विभाग योजना शाखाका अधिकृत पुरूषोत्तम आचार्यले बताए ।

कालिका भगवती मन्दिर क्षेत्रदेखि मझुवागढीसम्म जाने पदमार्गको सिँढीमा सिमेन्ट प्रयोग गरिएकाले त्यसलाई भत्काएर पुनः निर्माण गर्नुपर्ने मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताउनुभयो । “मझुवागढी किरात समुदायको धरोहर हो । यो दिनानुदिन अतिक्रमण भइरहेको छ”, उनले भने, “ऐतिहासिकस्थल संरक्षण गर्ने नाममा बिनास भइरहेको छ । यसप्रति सम्बन्धित निकायलको ध्यान जान जरूरी छ ।”

गत मङ्सिर–१९ गते मझुवागढीमा भएको सर्वपक्षीय सर्वदलीय भेलामा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सरोकारवालाहरूले मझुवागढी क्षेत्रमा मापदण्ड विपरित संरचना निर्माण भएको बताएका थिए । भेलामा सहभागीले गढीको अस्तित्व सङ्कटमा परेको भन्दै प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलाई ध्यानाकर्षणसमेत गराएका छन् ।

मेवाखोला दोभान साप्सु कालिका देविथान लिफ्टिङ खानेपानी योजनाको ट्याङ्की गढीको बङ्करभित्रै बनाइएको, सशस्त्र प्रहरी बल हलेसी गुल्मले गढीको क्षेत्र अतिक्रमण गरेको र पुरातत्व विभागले निर्माण गरेको कङ्क्रिटको सिँढीले मझुवागढीको अस्तित्व सङ्कटमा परेको गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भने लिखित रूपमा कुनै प्रतिक्रिया नआएकाले केही नगरिएको बताएका छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले पुरातत्व विभागले नगरपालिकासँग समन्वय नगरी मझुवागढीको सिँढी निर्माण गरेको बताए । मझुवागढी पदमार्ग निर्माणमा संलग्न युनिक निर्माण सेवा कम्पनीका प्रबन्ध निर्देशक फडिन्द्र आचार्यले ‘स्टिमेट’ अनुसार कै काम सम्पन्न गरेर पुरातत्व विभागलाई हस्तान्तरण गरेको दाबी गरे ।

मझुवागढीको पर्यटन विकासका लागि नगरपालिकाले सङ्घ तथा प्रदेश सरकारको सहयोगमा भौतिक पूर्वाधार निर्माणको काम गरिरहेको छ । किरात ऐतिहासिकस्थल मझुवागढीको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रूपमा प्रवर्द्धन गर्न स्तरोन्नतिको काम गरिएको नगरपालिकाले जनाएको छ ।

मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । हरेक वर्षको उँभौली र उँधौलीमा साकेला नाचिने मझुवागढीको उत्तरी दिशामा बारूद ढुङ्गा र हतियार निमार्ण गर्ने भट्टी रहेको छ । गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । त्यस्तै गढीको बीच भागमा मौली छ ।

उसबेला रणवीर राजाका रैतीहरूले दसैँ मान्नका लागि ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ ।

गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ रहेको छ भने, गढीवरिपरि बम्कर घेरासमेत रहेको छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर छ । भगवती मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ ।

हिन्दु र किरात धर्मावलम्बीको सङ्गमस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायतमा मेलासमेत लाग्ने गर्दछ । सर्वोच्च शिखर सगरमाथाका साथै उच्च हिमश्रृङखला तथा तराईका समथर भू–भागको राम्रोसँग दृष्यावलोकन गर्न सकिने मझुवागढीमा विशेषगरी शुक्रबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

मझुवाको अर्थ माझ अर्थात् बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ । त्यस्तै पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ ।

चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानाकारहरू बताउँछन् । समुद्री सतहबाट करिब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीबाट चारैतिरका गढी प्रस्ट देखिन्छ ।

 

वि.सं.२०८१ पुस ९ मंगलवार १९:४० मा प्रकाशित

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब विभिन्न...

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

सङ्कल्प र लगनले चुम्दै सफलता

सङ्कल्प र लगनले चुम्दै सफलता

महोत्तरी । साहुले ऋण नपत्याउँदा विदेश जान नपाएर तरकारीखेतीमा लागेका...

तोलामा चार सयले बढ्यो सुनको मूल्य

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा रु...