रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताएका छन् ।
विगतमा धर्मका नाममा शासन सत्ता चलाउने र हिन्दु धर्म अनुसार राजालाई विष्णुको अवतार मानेर राजालाई नै देशको मालिक मान्ने परम्परा रहेको उल्लेख गर्दै उनले अहिले त्यो पुरानो सोच र मान्यता बदलिएको बताए । नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रमा जनता नै देशको मालिक हुने र संघीयताको कार्यान्वयनले गाउँ गाउँमा सिंहदरवार पुग्ने अवस्था सृजना भएको उनको टिप्पणी थियो ।
रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ५ को नवनिर्मित भवन उद्घाटन गर्दै नेता पुनले भने, ‘देशको मालिक जनता भएका छन् । हिजो राजा देशका मालिकका रुपमा गनिन्थे । हिन्दु धर्म अनुसार राजालाई विष्णुको अवतारका रुपमा लिइन्थ्यो । अहिले जनयुद्ध र जनआन्दोलनका कारण देशमा जणतन्त्र आएको छ र जनता नै देशको मालिक हुन् भन्ने मान्यता स्थापना भएको छ ।’
पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुनले गणतन्त्रमा पनि जनताले चाहेका सबै माग पुरा नभएको स्वीकार गरे । ‘गणतन्त्र भनेको जताको शासन हो । जनता आफैंले जनताका प्रतिनिधि चुन्ने र मन परेन भने फेर्ने जनताको व्यवस्था नै गणतन्त्र हो र यो उत्कृष्ट व्यवस्था हो ।
देशमा भौगोलिक विविधता छ । त्यैले हामिले संघीयताको कुरा गरेका थियौं । माओवादीले गाउँ–गाउँमा सिंहदरवारको नारा लगाएको थियो । अहिले संविधान अनुसार स्थानीय तहमा सरकार आएको छ । संघीयतामा छौं । आफैंले आफैंलाई शासन गर्ने अवस्था सृजना भएको छ ।
तर जनताको अवस्था भने अझै सुधारिएको छैन । त्यसमा हामीले काम गर्नु पर्ने छ ।’ केही कमजोरीका बाबजुत समग्र विकासका हिसावले पञ्चायत, राजतन्त्र, बहुदलीय प्रजातन्त्र भन्दा पनि गणतन्त्र उत्कृष्ट भएको उनले तर्क अघि सारे । सडक विकासको एउटा मात्रै उदाहरण लिने हो भने पनि जनताको हित गर्ने शासन व्यवस्था गणतन्त्र नै हो भन्ने पुष्टि हुने उनको भनाई थियो ।
वि.सं.२०८१ पुस ११ बिहीवार ११:५३ मा प्रकाशित






























