निर्मलरमण पराजुली,सामाखुशी, काठमाण्डौ
१.
सृष्टकै अमुल्य उपहार, जीवन साकार बनाएर छोड्छु
सबले चाहा गरुन् यसरी, हरेकको पुकार बनाएर छोड्छु
चाहे जति माझिनु अनि, खारिनु परे पनि धैर्य गर्दै
जीवनलाई सबैले पुज्न , सुन्दर आकार बनाएर छोड्छु
२.
यसरी मलाई बाडुली लाग्यो, आमाले सुर्ता मानिन होला
शहरमा आज बिरामी परे, आमाले के के ठानिन होला
मेरो शरीरमा बिमार लाग्दा, आमाको छाती चर्किन्छ अरे
मलाई यता दुखेको पीडा, आमाले कसरी जानिन होला
३.
कालो रात हट्न जसरी, त्यो उज्यालो रवि चाहिन्छ
विचारको शक्तिले संसार, बदल्न त्यस्तो कवि चाहिन्छ
छन् समाजमा धेरै छन, कुरिति कुसंस्कार कुविचारहरू
बदल्नु छ यो समाज भने, मान्छेमा स्वच्छ छवि चाहिन्छ
४.
फर्कि आईज भन्दै मलाई आफ्नै, देशको माटोले बोलायो
छोरो सम्झि आमाले पकाएको, ढिंडो आँटोले बोलायो
बाँझो उजाड खेत बारीभरि, झार पात उम्रियो अरे
खनजोत गर्न आईज भन्दै त्यहि, बारीको पाटोले बोलायो
५.
तिम्रो कुरा खास लाग्छ, मलाई जुनेली रातमा
जब शीत मोतीझै टल्कन्छ, बिहानी पख पातमा
हिलोमा कमल फुल्छ, थाहा छ ? छैन भने सुन
म माया गर्छु तिमीलाई, के राखेको छ र जातमा
वि.सं.२०८१ माघ ५ शनिवार ०५:१५ मा प्रकाशित






























