काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको अध्यक्षमा स्वतन्त्र समुहबाट विजयप्रकाश सापकोट विजयी भएसँगै पार्टी, शुभेच्छुक संगठन र शुभ चिन्तकहरुमा उत्साह छाएको छ । गुटगत राजनीति भन्दा अलग रहेर चुनावमा होमिएका सापकोटा अध्यक्षमा निर्वाचन भएपश्चात पार्टीमा युवाहरुबिचको एकता बलियो हुने धेरैको विश्वास छ ।
सापकोटासँग जनार्दन शर्मा निकट मानिएका अध्यक्षका उम्मेदवार हेमन्त राई ७२ मतान्तरले पराजित भएका थिए । अध्यक्षमा निर्वाचित सापकोटा उमेर हद लगाउने कि नलगाउने भन्नेमा भएको निर्वाचनमा उमेर हद लगाउन नहुने पक्षमा खुलेरै लागेका थिए । सापकोटा पछिल्लो समय पार्टीको गुटगत राजनीतिमा सक्रिय छैनन् । यद्यपि तत्कालीन अध्यक्ष पञ्चा सिंह भन्दा भन्दा अघि निर्वाचन प्रक्रियाबाट निर्वाचित अध्यक्ष रञ्जित तामाङ नेतृत्वको प्यानलबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
यी हुन् पधाधीकारीमा निर्वाचीत विद्यार्थी नेता
खुला तथा समावेशी सहित उपाध्यक्षमा ९ जना निर्वाचित भएका छन् । जसमा छात्रातर्फ ममता अधिकारी, आदिवासी जनजातितर्फ सन्दीप पुन, मधेशीतर्फ अभिमन्यु यादव र खस आर्यतर्फ उमेश कँडेल निर्वाचित भएका छन् । यस्तै खुलातर्फ मदन ढकाल, अटल आचार्य, बिराज थापा निर्वाचित भएका छन् । अटल सहिद परिवारका सन्तति हुन् । यस्तै दलिततर्फ निर्वाचित कृष्णबहादुर सुनार, दिपा जैसी स्वतन्त्र रुपमा निर्वाचन लडेका थिए ।
संगठनमा अध्यक्षपछिको अर्को कार्यकारी पद महासचिवमा रोशन थापामगर सर्वाधिक मतसहित विजयी भएका छन् । मधेश प्रदेशबाट गजेन्द्र यादव, बागमती प्रदेशबाट निर्मला गौतम, गण्डकी प्रदेशबाट भगवान बास्तोला, लुम्बिनी प्रदेशबाट रेशम अधिकारी, कर्णाली प्रदेशबाट प्रकाश अधिकारी, सुदूरपश्चिम प्रदेशबाट रामचन्द्र भट्ट र विश्वविद्यालय प्रदेशबाट जटिल कार्की निर्वाचित भएका छन् । कार्की सहित परिवारका सन्तति पनि हुन् । त्यो बाहेक उपत्यका विशेष प्रदेशबाट भने निरोज श्रेष्ठ निर्वाचित भएका छन् । कोशी प्रदेशबाट निर्वाचित विपिन पोखरेल स्वतन्त्र भएर निर्वाचन लडेका थिए ।
यसैगरी खुलातर्फ र विभिन्न समावेशी समूहतर्फ गरेर १२ जना सचिव निर्वाचित भएका छन् । खुलातर्फ वीरेन्द्र जिसी, प्रेम जैशी, सम्झना राई निर्वाचित भएका छन् भने छात्रातर्फ तिर्सना आलेमगर, सम्कृति पुन, मधेशीतर्फ अमर मण्डल, खस आर्यतर्फ जितेन्द्र भण्डारी र सहिद परिवारतर्फ युन्छो हाङ्ग मावो, शिशिर बस्याल निर्वाचित भएका छन् । दलिततर्फ निर्वाचित आशा उपरकोटी, आदिवासी जनजातितर्फ निर्वाचित आर्टिष्ट मोक्तान कुनै नेता निकट गनिँदैनन् । मुस्लिमतर्फ निर्विरोध निर्वाचित मिरोज अहम्मद, कोषाध्यक्षमा फुलमाया रानामगर (खुशी) निर्वाचित भएकी छन् ।
सर्वाधिक मत कस्ले पायो ?
केन्द्रीय पदाधिकारी सरहकै हैसियत मानिने अनुशासन आयोगको अध्यक्षमा इन्दिरा पुरी र लेखा आयोगको अध्यक्षमा सुष्मा रेग्मी निर्वाचित भएका छन् ।
केन्द्रीय समितिको पदाधिकारीका लागि भएको निर्वाचनमा सर्वाधिक मत भने आयोग बाहेकका पदाधिकारीमा छात्रातर्फका उपाध्यक्ष ममता अधिकारीले प्राप्त गरेकी छन् । उनले पदाधिकारीमा सबैभन्दा बढी ८८२ मत प्राप्त गरेकी छन् । अधिकारी तत्कालीन अध्यक्ष पञ्चा सिंह अध्यक्ष हुँदा केन्द्रीय सदस्यमा छिरेकी हुन् । त्यस अघि उनी कालिकोट जिल्ला सहसचिवको जिम्मेवारीमा थिइन् । अधिकारी यस अघि सम्पन्न स्ववीयु निर्वाचनमा मध्यपश्चिम विश्वविद्यालयमा अखिल ९क्रान्तिकारी०को तर्फबाट स्ववीयु सभापतिको उम्मेदवार थिइन् । यद्यपि त्यहाँ निर्वाचन हुन सकेन ।
यस्तै दोस्रोमा सर्वाधिक मत उपमहासचिवमा विपिन पोखरेलले ८३६ मत प्राप्त गरेका छन् भने तेस्रो सर्वाधिक मत सचिव आशा उपरकोटीले ७७६ मत प्राप्त गरेकी छन् । उनी नेपाल ल क्याम्पसको स्ववीयु सदस्य समेत रहेकी छन् । सचिव उपरकोटी यस अघिको केन्द्रीय समितिमा केन्द्रीय सदस्य थिइन् ।
वि.सं.२०८१ माघ १७ बिहीवार ११:५६ मा प्रकाशित






























