back
CTIZAN AD

पुँवालेको बिरुवा हुर्केकोमा अधिराजकुमार एड्वर्डद्वारा खुशी व्यक्त

वि.सं.२०८१ माघ २४ बिहीवार

795 

shares

काठमाडौँ । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण गर्दै सो क्षेत्रको अवलोकन गरेका छन् ।

नेपाल भ्रमणमा रहनुभएका उहाँहरुले आज सो उद्यानको अति विशिष्ट वृक्षरोपण क्षेत्रमा ‘सुन चाँप’ को बिरुवा रोप्नु भएपछि केही समय अवलोकन गरे । अधिराजकुमारी डचेस सोफीले उद्यानको मुख्य प्रवेशद्वार परिसरमा ‘लाली गुँरास’को बिरुवा रोपे । बेलायतका महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९८६ मा सोही क्षेत्रमा ‘पुँवाले’ का दुई बिरुवा रोपेका थिए ।

सो अवसरमा अधिराजकुमार र अधिराजकुमारीले महारानी एलिजाबेथ र राजकुमार फिलिपले रोपेका पुँवालेका रुख राम्रोसँग हुर्केकोमा खुसी व्यक्त गरे । उनीहरुले उक्त कार्य लामो परम्परागत सम्बन्धको प्रतीक बनेको उल्लेख गरे ।

उनीहरुले बेलायतको सहयोगमा स्थापना गरिएको जैविक विविधता शैक्षिक उद्यानका साथै हर्बाेरियन, अर्किड हाउसलगायत क्षेत्रको अवलोकन गरे । उनीँहरुलाई वन तथा वातावरण राज्यमन्त्री रुपा विकले स्वागत गरेका थिए । साथै वनस्पति विभागका महानिर्देशक सञ्जिव राई र वनस्पति उद्यानका प्रमुख मधुसुदन थापाले उद्यान र वनस्पतिका बारेमा जानकारी गराए ।

नेपालमा पहिलो पटक भएको अधिराजकुमार र अधिराजकुमारीको यस भ्रमणले बेलायत–नेपाल सम्बन्धको गौरवशाली इतिहासलाई थप प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । मंगलबार नेपाल आइपुग्नुभएका उनीहरुले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

बेलायतबाट प्राप्त सहायताले नेपालको मातृस्वास्थ्य सेवामा सुधारमा भइरहेको कामबारे उनीहरुले अवलोकन गरेका थिए । अधिराजकुमार एड्वर्डले बुधबार यहाँस्थित बेलायती दुतावासमा आयोजित कार्यक्रममा ‘ड्यूक अफ एडिनब्रा’ अन्तरराष्ट्रिय पुरस्कारबाट लाभान्वित हुने युवाहरूलाई सम्मान गर्दै अन्तरक्रिया गरेका थिए । अधिराजकुमारी डचेस सोफीले बुधबार कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’ जानु भई अस्पतालबाट प्रदान भइरहेका सेवा एवं सेवाग्राहीसँग भेटवार्ता गरेका थिए ।

उनले भक्तपुर अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड) को अवलोकन गरेका थिए । त्यस्तै अधिराजकुमार एड्वर्डले बुधबार भक्तपुरको भ्रमण गरी त्यहाँको कला सांस्कृतिको अवलोकन गरी काठमा बुट्टासमेत खोपेका थिए ।

भ्रमणका क्रममा आजै उहाँहरूले गोदावरीको फुल्चोकीस्थित अन्तरराष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (ईसिमोड)को ‘लिभिङ माउण्टेन ल्याब’को अवलोकन गरे । उनीँहरुले भ्रमणका क्रममा पोखरा पुगेर गोरवशाली गोर्खा सम्बन्धमार्फतको सेवा भावसहितको साझा इतिहासलाई सराहना गर्नुहुने जनाइएको छ ।

यो भ्रमण बेलायती शाही परिवारका सदस्यहरूबाट भएको चौधौँ नेपाल भ्रमण हो । महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९६१ र १९८६ मा, वेल्सका अधिराजकुमारका रूपमा राजा चाल्र्सले सन् १९७५, १९८०, १९९२ र १९९८ मा नेपालको भ्रमण गरेका थिए । सबैभन्दा पछिल्लो भ्रमण सन् २०१६ मा अधिराजकुमार ह्यारीबाट भएको थियो ।

गोदावरी उद्यानको बेलायतसँगको सम्बन्ध

नेपाल र संयुक्त अधिराज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसर पारेर २०७३ साल असोज ६ गते गोदावरीमा जैविक विविधता शैक्षिक उद्यान निर्माण गरिएको थियो । नेपाल र बेलायतबीच सन् १८१६ मा सुगौली सन्धि भइ कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

एक दशमलव तीन हेक्टर क्षेत्रफलको यो उद्यानको स्थापनामा लगभग तीनसय पचास वर्ष पहिले स्थापना भएको संयुक्त अधिराज्यको शाही वनस्पति उद्यानसँगको सम्बन्ध छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको औपचारिक भ्रमणका बेला विसं २०७८ कात्तिक १७ गते स्कटल्याण्डको एडिनब्रास्थित शाही बनस्पति उद्यानमा रहेको नेपाली बगैँचामा ‘भोजपत्र’को विरुवा रोपेका थिए ।

सन् १८०२ मा बेलायती वैज्ञानिक फ्रान्सिस हेमिल्टनले नेपालको भ्रमण गरी वनस्पतिको अध्ययन गरेका थिए । पछि विभिन्न वैज्ञानिकहरुले नेपालको भ्रमण गरी आठभन्दा बढी नेपालका बनस्पति पत्ता लगाएका थिए । तत्कालीन राजा महेन्द्र विक्रम शाह विसं २०१७ मा बेलायत भ्रमणमा जानुभएको थियो । भ्रमणका क्रममा उनले बेलायतको शाही बनस्पति उद्यान अवलोकन गर्नुभएको थियो । नेपाल फर्केपछि उनले त्यस्तै उद्यान बनाउनुपर्छ भन्ने सोचले गोदावरीमा २०१९ सालमा उद्यान स्थापना गरेका थिए ।

दुई बेलायती डिजाइनरले सन् १९६१ देखि १९६५ सम्म नेपालमै बसेर सो उद्यानको डिजाईन गरेको बताईन्छ । बेलायतको सहकार्यमा बनेको यस उद्यानमा सन् १९८६ मा महारानी एलिजाबेथ द्वित्तियले नेपाल भ्रमणका बेला वृक्षरोपण गरेका थिए । पछि सो क्षेत्रमा विभिन्न समयमा १७ देशका राष्ट्रप्रमुखहरुले विभिन्न वनस्पति रोपेका छन् ।

प्राकृतिक सौन्दर्यले सुसज्जित फूलचोकी पर्वतको काखमा अवस्थित गोदावरी क्षेत्रमा रहेको यस उद्यानको ठूलो महत्व छ । राष्ट्रिय वनस्पति उद्यानले करीब पाँच हजार वनस्पति प्रजातीहरुको नमूना (हर्वेरियम) सङ्कलन गरी बनस्पति अध्ययन, अनुसन्धान र संरक्षणको क्षेत्रमा योगदान पु–याएको जनाएको छ ।

 

वि.सं.२०८१ माघ २४ बिहीवार १९:४५ मा प्रकाशित

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

काठमाडौंको पश्चिमी भेगमा अवस्थित चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित पवित्र विष्णुदेवीधाममा एक...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब विभिन्न...

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...