
उत्तम विचार, नुवाकोट
सर्वस्व हो दौलत ठान्छ कोही
अभावमा जीवन धान्छ कोही ।
उठ्छन् यहाँ प्रश्न कडा बनेर
पैसा बनायो कसले भनेर ।१।।
न भोक किन्नेछ बजार धाई
किन्नेछ निद्रा न हजार पाई ।
के फाल्नु बेला नबुझेर खेर
पैसा बनायो कसले भनेर ।२।।
पैसा न हो साधन साध्य ठानी
लुटाउँदै छन् यसमै जवानी ।
थाक्दैन कोही किन यो गनेर
पैसा बनायो कसले भनेर ।।३।
सवालले उत्तर भेट्नुपर्छ
तिर्खा हुनेले अब मेट्नुपर्छ ।
पुर्छन् तिनैले धन जो खनेर
सोध्छन् बनायो कसले भनेर ।।४।
के गर्नु खोस्टो धन खानु छैन
जाँदैन मर्दा सँग लानु छैन ।
यथेष्ट पाई धनवान् जनायो
सोध्दै छु पैसा कसले बनायो ।।५।
लोभी र पापी धनमा डुबेर
भनाउनेछन् धनवान् कुबेर ।
भन्द्यौन पैसा कसले बनायो
पालेर आशा जसले बनायो ।।६।
खोजेर अग्ला घर ती कहाँ छन्
मान्दैन जानै झुपडी जहाँ छन् ।
यो प्रश्नले आज दिमाग खायो
दरिद्र पैसा कसले बनायो ।।७।
छन्द – उपजाति
वि.सं.२०८१ फागुन ३ शनिवार ०५:०५ मा प्रकाशित