
कविराज घिमिरे, भक्तपुर
पैसा यहीँ छ श्रमले जब दाउ पायो
मान्छे निरोग रहने श्रमले बनायो
गल्नेछ देह अब ता यसरी निदाए
के हुन्न यो मुलुकमा पसिना बगाए ? १
सिस्नो र साग कुरिलो सजना समेत
खाएर मस्तसँगले भरिने छ पेट
भाग्छन् विकार सब ती रहने नखाए
के हुन्न यो मुलुकमा पसिना बगाए ? २
ग्रामीण यन्त्र छ यहीँ घरभित्र जाँतो
त्यस्तै ढिकी छ सजिलो चिउरा कुटायो
पर्दैन जान मिलमा अब धान लाए
के हुन्न यो मुलुकमा पसिना बगाए ? ३
माटो फलेर सबको भरिदिन्छ पेट
यो आँट गर्छ अब वृद्ध भनी समेट
गा¥हो नसोच अब ता तरुणा पलाए
के हुन्न यो मुलुकमा पसिना बगाए ? ४
सारा बसौँ अब यतै किन दूर जान्छौ
नेपालमा अवसरै किन छैन भन्छौ ?
पाखो छ टार अनि खोँच सबै जगाए
के हुन्न यो मुलुकमा पसिना बगाए ? ५
छन्द – वसन्ततिलका
गण – त भ ज ज गु गु
सङ्केत –SSl -Sll -lSl -lSl-S-S
वि.सं.२०८१ फागुन ३ शनिवार ०५:०७ मा प्रकाशित