तम्घास । गुल्मीको रेसुंगा विमानस्थलमा फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो ।
एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो । साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् ।
‘एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो’ उनले भने, ‘जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौँमा छ । फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन ।’
उनले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताए । रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास–काठमाडौं उडान भरेको थियो ।
वि.सं.२०८१ फागुन ११ आइतवार १२:०९ मा प्रकाशित




























