
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले आजदेखि पुनः ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा संचालनमा ल्याएको छ । कार्यालयले सेवाहरुको लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै आउनु पर्ने अवस्थालाई न्यूनीकरण गर्न अनलाइन सेवा संचालनमा ल्याएको हो ।
कार्यालयले सूचना जारी गर्दै गत वर्षदेखि नै अनलाइन सेवा संचालन गरिए पनि प्राविधिक कारणले यस अघि निरन्तरता दिन नसकेको जनाएको छ । कार्यालयले अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना अनुसार आगामी जेष्ठ १५ गतेदेखि त्रि.वि.प.नि.का.बल्खुबाट दिइने सम्पूर्ण सेवाहरु अनलाइनबाट संचालन गरिने जनाएको छ ।
कार्यालयका अनुसार अनलाइल फाराम भर्न student.tuexam.edu.npमा लगइन गरी दिइएको निर्देशन अनुसार फाराम भरी तोकिएको शुल्क संलग्न बैंक मार्फत अनलाइनबाट भुक्तानी गरी पेश गर्नु पर्नेछ । यसको लागि प्रारम्भिक चरणमा रजिष्ट्रेशन कार्डमा उल्लेख भए बमोजिम मार्कसीटहरुमा एकरुपता भए सोही अनुसार गर्ने अन्यथा करेक्सन अप्सनमा गई सच्याएर पेश गर्नु पर्नेछ । अनलाइन वितरण गरिएका मार्कसीट बाहेक सो भन्दा पूर्व वितरण गरिएका पहेंलो सक्कल मार्कसीटमा फरक पर्न गए आवेदन आईडीको स्लिप र पहेंलो सक्कल मार्कसीट तोकिएको गोप्य शाखामा बुझाउनु पर्नेछ ।
यसरी फाराम अनलाइन माध्यमबाट पेश गरेपछि प्राप्त निर्देशन अनुसार ट्रान्सक्रिप्ट संकलन गर्न हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ । विभिन्न सीमाहरु भएतापनि परीक्षा नियन्त्रण कार्यालय, बल्खुको अनलाइन सेवा निरन्तरताको लागि सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
कार्यालयले विस्तृत जानकारीको लागि संलग्न Student Portal Manual हेर्न हुन समेत सूचित गरेको छ ।
वि.सं.२०८२ वैशाख २ मंगलवार १२:४२ मा प्रकाशित