back
CTIZAN AD

मौलाउँदो भ्रष्टाचार : हराउँदो सदाचार ?

वि.सं.२०८२ जेठ ८ बिहीवार

1.3K 

shares

नेपालमा दशकौंको लामो संघर्षपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यस व्यवस्थाप्रति जनताको धेरै आसा एवं भरोसा थियो र अझै छ पनि । तर, राजनीतिक नेतृत्वको चरम सत्ता लिप्सा र भ्रष्ट आचारणका कारण जनतामा निरासा चुलिदै गएको कुरा यत्रतत्र सुन्न, देख्न र भोग्न पाइन्छ । यसले व्यवस्थाप्रति नै गंभीर चुनौती खडा गर्दैछ । राज्यकोषको रकम जनताको पसिनाबाट संकलित कर, राजस्व तथा अन्य आम्दानीका माध्यमबाट संकलन हुन्छ । यसको उपयोगमा उच्च जिम्मेवारी, पारदर्शिता र जवाफदेहिताको आवश्यकता पर्छ । सरकारी ढुकुटीको हरेक पाई जनताकै मेहनत र पसिनाबाटै आएको हो । यसको दुरुपयोग गर्नु जनताको विश्वासमाथि ठूलो धोका हो । यस आलेखमा नेपालमा भइरहेको मौलाउँदो भ्रष्टाचारको बारेमा केही विवेचना गर्ने जमर्को गरिएको छ ।

महालेखा परीक्षकको ६२ औं प्रतिवेदनले पनि बेरुजुको चाङ देखाएको छ । असुलउपर गर्ने बेरुजु नै ३ अर्ब ४२ करोड हुनु निकै ठूलो रकम हो । नियम विपरीतको भुक्तानीलाई मलेपले असुल नै गर्न भन्छ । सैद्धान्तिक र अनियमित बेरुजुको दर पनि उस्तै छ ।

मलेपको प्रतिवेदनअनुसार बजेटको कार्यान्वयनमा धेरै स्थानीय तहमा अनियमितता, बेरुजु र अपारदर्शिता छ । अनुगमन, मूल्यांकन र योजनाको प्राथमिकीकरणमा कमजोरी हुँदा जनचाहना विपरीतका योजनाहरूमा बजेट खर्च हुने प्रवृत्ति बढ्दो छ । यसले राज्य सञ्चालनमा कुशासन, जनतामा असन्तुष्टि र विकासमा अवरोध निम्त्याइरहेको छ । पदाधिकारी, कर्मचारीहरूले कानुनको पालना गरिरहेका छैनन् । आफूखुसी निर्णय गरिरहेका छन् । संघ, प्रदेश वा स्थानीय सरकारका सबैले बुझ्नुपर्ने कुरा के हो भने उनीहरूको अधिकार जनउत्तरदायित्वमा आधारित छ । जनताको इच्छा र आवश्यकतालाई प्राथमिकतामा राखेर योजना बनाउनु र कार्यान्वयन गर्नु लोकतान्त्रिक शासनको आधारभूतमर्म हो । तर, व्यवहारमा जनप्रतिनिधिको प्राथमिकता व्यक्तिगत वा समूहगत स्वार्थमा केन्द्रित भइरहेको पाइएको छ । प्रभाव र भोट बैंकका आधारमा योजनाहरू छनोट हुन्छन्, त्यसको कार्यान्वयन कार्यकर्ताले गर्छन् । त्यही योजनामा अनियमितता हुने गरेको लेखापरीक्षण प्रतिवेदन छ ।

अहिले नेपालमा सबैभन्दा ठुलो समस्याको रूपमा नीतिगत भ्रष्टाचार देखा परेको छ। यो दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । यसमार्फत गरिने भ्रष्टाचारको अंक अस्वाभाविक ठूलो हुँदै गएको पाइन्छ । यही नीतिगत पहिला लाख, दुई लाख, चार लाख भन्ने हुन्थ्यो पछि यो करोडमा पुग्यो । अहिले त अर्बमा पुगेको छ । कोभिड–१९ महामारीको बेलामा भएको स्वास्थ्य सामग्री खरिदसँग जोडिएको ओम्नी काण्ड, गोकर्ण रिसोर्टको भाडा सम्झौतासम्बन्धी यती काण्ड, आयल निगमको जग्गा खरिद, वाइडबडी खरिदलगायतका प्रकरण नीतिगत हुन् । नीति बनाउने र त्यसका आडमा ठुला भ्रष्टाचार गर्ने गरिएको छ ।

नीतिगत भ्रष्टाचारले राष्ट्रिय अर्थतन्त्रलाई कमजोर बनाउँदै अन्ततः समाप्त पार्छ । यही प्रमुख समस्याको निराकरण गर्नतिर ध्यानै गएको देखिएन । सरकारले नीतिगत निर्णय नगर्ने हो भने राज्य चल्दैन । तर, नीतिगत निर्णय के हो ? गलत मनसायले मन्त्रिपरिषद्बाट निर्णय गराएर भ्रष्टाचार गर्दा पनि यसलाई नीतिगत निर्णयको तगारोले छेकिदिएको छ । पहिला भ्रष्टाचार व्यापकरूपमा थिएन । बहुदल आएपछि दुई–तीनवर्षसम्म भ्रष्टाचार हुने सम्भावित अड्डा–कार्यालयमा पनि भ्रष्टाचार देखिएन । भ्रष्टाचार गर्न उद्यत् कर्मचारी, ठेकेदार पनि नयाँ व्यवस्थामा भ्रष्टाचार गर्न डराएका देखेको हो । तर, पछि उनीहरू पछुताए । पञ्च भन्दा बहुदलवादी कम नरहेको कुरा उनीहरूले स्वीकार गरेको देखिन्थ्यो । खासगरी वि.सं.२०५१ को मध्यावधि चुनावपछि भ्रष्टाचारको क्रम बढ्दै गएको देखिन्छ । इमानदार र मुलुकप्रति निष्ठावान नेतृत्व भइदिएको भए त्यसले सही बाटो लिन्थ्यो । तर देशले त्यस्तो नेतृत्व पाएन, आज पर्यन्त हेर्दा यो प्रवृत्ति घट्नुको सट्टा मौलाउँदै गएको छ ।

भ्रष्टाचारको त्रिकोणात्मक संरचना छ । तीनवटा पक्ष नमिली ठुला भ्रष्टाचार सम्भव हुँदैन । ठुला भ्रष्टाचार गर्दा पहिला राजनीतिक नेतृत्व उद्यत् हुन्छ, उसले मलाई यति रकम आवश्यक प¥यो, मिलाउनु प¥यो भन्छ । दोस्रोमा पैसा हुनेवाला व्यावसायिक घराना, बिचौलिया र दलालवर्ग आउँछ, जसले व्यापार गर्ने, ठेक्कापट्टा लिने, चलखेल गर्ने काम गर्छ । र, यी दुवैको योजनामा कानुनी प्रक्रिया मिलाइ दिने काममा आएर कर्मचारी घुस्छ । भ्रष्टाचारको मूलभने राजनीतिक नेतृत्व हो । कर्मचारी सहायक हुन् । अनुपात नै तोक्दा राजनीतिक नेतृत्व ७५ प्रतिशत र कर्मचारी २५ प्रतिशत देखिन्छ । राजनीतिक नेतृत्व इमानदार भएमा कर्मचारी खुद्रे भ्रष्टाचारमा गएर खुम्चिन्छन् । अहिले पनि कर्मचारी मात्रले भष्टाचार गर्दा यसको अधिकतम अंक लाख भित्र हो । तर, राजनीतिक नेतृत्वले अगुवाइ गरेपछि नीतिगत भ्रष्टाचार अर्बौँमा पुग्छ ।

भ्रष्टाचार नियन्त्रणमा कानुनी बन्दोबस्त बलियो नै छ । संवैधानिक अंगहरूले निर्भीक भएर कारबाही गरे भने सरकारले केही पनि गर्न सक्दैन । त्यसका लागि संसद्को दुईतिहाइ बहुमत चाहिन्छ । यस्तो राम्रो प्रबन्ध छ । तर, यसपछिको नियम २५ प्रतिशत सांसदले महाभियोग लगाए निलम्बन हुने व्यवस्था गरियो । यी संविधानको बर्खिलाप गरिएका प्रबन्ध हुन् ।

विभिन्न प्रकृतिका भ्रष्टाचार नियन्त्रणमा सघाउने गरी सरकारले विभिन्न निकाय गठन गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग महत्वपूर्ण जिम्मेवारी भएका विभागमा पर्छन् । तर, राजनीतिक आबद्धता वा प्रभाव भएको व्यक्तिउपर छानबिन गर्न खोज्यो भने यी निकायका प्रमुख दुई–तीन महिनामै सरुवा भइहाल्छन् । यी विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगेर राखियो । राजनीतिक नेतृत्वमा इच्छाशक्ति नहुने हो र मन, वचन र कर्ममा प्रतिबद्ध नहुने हो भने मुलुकमा भ्रष्टाचार रोकिँदैन । मुलुकमा प्रधानमन्त्री इमानदार भइदियो भने ६ महिनामा दुईतिहाइ भ्रष्टाचार घट्छ ।

इतिहासमा नेपालभन्दा कमजोर हालतमा रहेका देशले अहिले उदाहरणीय प्रगति गर्दा हामी खराब अवस्थामा छौँ । किनभने नेपालमा शिक्षाको अवस्था राम्रो भएन । यसैकारण विद्यार्थी पलायन बढेको छ । यहाँ स्वतन्त्रताका नाममा अराजकता मौलायो, संविधान नमाने पनि हुने, कानुन उल्लंघन गरे पनि हुने अवस्था बन्यो । सुशासनका लागि पारदर्शिता र जवाफदेहिता अनिवार्य हुन् । भ्रष्टाचार नियन्त्रण गर्न पनि यी नभई हुँदैनन् । तर, नेपालमा अभाव देखिन्छ ।

नेपालमा विकास त भएको छ । २०५० सालअघि र पछिका कुरामा आकाश–जमिनको फरक छ । शिक्षा, स्वास्थ्य, खाद्म तथा पोषण सुरक्षा, लवाइखवाइ, पर्यटन, ऊर्जा, सडक, पूर्वाधार लगायतमा ठुलो फड्को मारेको छ । औसतआयु नै बढेको छ । औसत आयु बढ्नु भनेको धेरै कुरामा प्रगति भएको देखिने प्रमाण हो । मूल कुरा नेपालमा अहिले प्रणालीले काम गरेको छैन । देशमा नीतिगत स्थायित्व छैन । एकातिर नीतिगत स्थायित्व नहुनु, अर्कोतिर मानिसले मनपरी गरे । यसो भएपछि राज्यप्रति नै विश्वास गुमेर गयो ।

भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वको सदाचारिताका अलावा नियमनकारी निकायको प्रभावकारिता बढाउनुपर्छ । ती निकायमा जाने पदाधिकारी योग्यमात्र भएर हुँदैन । उनीहरूमा इमानदारी पनि खोज्नुपर्छ । उच्च नैतिक चरित्र भएको हुनुपर्छ । यो व्यवस्था संविधानमा नभएको होइन । आफैँ घुस्याहा, भ्रष्टाचारी छ भने ऊ अख्तियारमा गएर नियुक्ति वा जागिर खाने हो भने त्यसले कस्तो काम गर्ला ! नियमनकारी निकायमा पदाधिकारीको छनोट गर्दा योग्य, इमानदार र निर्भीक चाहिन्छ । यो प्रधानमन्त्रीको मान्छे छोड्ने भन्ने हुनुहुँदैन । माया र मोलाहिजा गरेपछि प्रणालीले काम गर्दैन । कानुन पनि बलियो हुनुप¥यो । यति मात्र पनि भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त छैन । नागरिक समाज, सञ्चार जगतले खबरदारी गरिरहनु पर्छ । दबाब, दबाब र प्रचण्ड दबाबले मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ ।

अन्त्यमा, कागज प्रमाण नपु¥याउँदा पनि एउटाको काम भयो, अर्कोले सबै पु¥याउँदा पनि अल्झियो भने नागरिकमा वितृष्णा जागृत हुन्छ । अहिले समाजमा देखिएका चरम असन्तुष्टिको पछाडिको एउटा कारण भ्रष्टाचार पनि हो । कार्यालयमा काम लिनजाँदा घुस बुझाउनु परेपछि नागरिकमा तीव्र असन्तोष बढ्दछ । भ्रष्टाचार नियन्त्रणका लागि नेतृत्व तह आफैँ प्रतिबद्ध भएर लाग्नुपर्छ । नेतृत्व तहले पहिला आफैँले भ्रष्टाचार गर्न छाड्नुपर्छ । यसपछि मात्र कर्मचारी र व्यापारीलाई कस्न सकिन्छ । आफैँ हेलिएपछि कारबाही गर्न पनि सक्दैन । माथिदेखि तलसम्म भ्रष्टाचार व्याप्त भएको अवस्थामा बिचमा यदाकदा कारबाही गर्ने कुराको कुनै प्रभावकारी असर हुँदैन ।

अनियमितताको शृंखला रोक्न बजेट निर्माणमै व्यापक सुधार गर्नुपर्छ । टुक्रे योजना खारेज गर्नैपर्छ । स्थानीय सरकारमध्ये शून्य बेरुजु गर्ने काभ्रेको महाभारत गाउँपालिका पनि छन् । सबै पालिकाले महाभारतबाट पाठ सिक्नुपर्छ । त्यहाँका पदाधिकारी, कर्मचारीहरूले कसरी काम गरिरहेका छन् भन्ने सबैले सिक्न जरुरी छ । त्यसैले अब आवश्यक छ, जनप्रतिनिधि, कर्मचारी र स्थानीय तह सबैले बेरुजु शून्य हुनेगरी काम गर्ने नीति अवलम्बन गर्नुपर्ने देखिन्छ । पारदर्शी खर्च, प्रभावकारी अनुगमन र जनसंलग्नताको माध्यमबाट मात्र बजेटको सही सदुपयोग सम्भव छ । राज्यकोषको दुरुपयोग रोकिनु भनेको जनताको भरोसा बढ्नु हो । जब जनताले देख्छन् कि उनीहरूको पसिनाको मूल्य राज्यले चित्तबुझ्दो तरिकाले दिएको छ, त्यतिखेर मात्र सुशासनको अनुभूति हुन्छ । त्यसैले अब सबै तहका सरकार जनउत्तरदायी बन्न, पारदर्शिता कायम गर्न र जनचाहना अनुरूप योजना कार्यान्वयन गर्न प्रतिबद्ध बन्नुपर्ने हुन्छ । जनताको पसिनाबाट संकलित करको सम्मान हुनुपर्छ । संघीय मर्मलाई जीवन्त राख्नका लागि संघ, प्रदेश र स्थानीय सरकारमा आर्थिक सुशासन पहिलो सर्त हुनुपर्छ । आर्थिक अपचलन रोक्न अख्तियार, सतर्कता केन्द्र जस्ता नियमनकारी निकायबाट प्रभावकारी अनुगमन र मलेपबाट अप्रभावित लेखापरीक्षण हुन पर्ने देखिन्छ । यहीगतिले भ्रष्टाचार मौलाउँदै जाने हो भने देश टाट पल्टिने अवस्था आउन सक्छ । एक दिनजनता आँधीबेहरी झै सडकमा आएर सबै भ्रष्टाचारीलाई नै बढार्ने दिनआउन सक्छ । यो कुरा सरकारका तीनै तहमा रहेका राजनीतिक नेतृत्व, कर्मचारी र बिचौलियाहरुले बेलैमा बुझ्न जरुरी छ ।

वि.सं.२०८२ जेठ ८ बिहीवार ०९:२२ मा प्रकाशित

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...