back
CTIZAN AD

 लङ्का जित्ने हनुमान, पगरी गुथ्ने ढेडू

सन्दर्भ गणतन्त्र दिवस

वि.सं.२०८२ जेठ १५ बिहीवार

4.8K 

shares

यो लेखको शीर्षक केही उत्तेजक वा आवेगात्मक लाग्न सक्छ। कतिपयले यसलाई गणतन्त्र विरोधी पुनरुत्थानवादी मण्डलेकरण भयो  भनेर शंका गर्न सक्छन्। अझ कसैले त यस्तो पनि भन्न सक्लान्—’लौ यस्ले पनि कलो खाएर गलो मिलायो ! गणतन्त्र विरोधीहरू भन्लान्—अब त बल्ल ठीक लाइनमा आइपुगेछ !’

पञ्चायती कालखण्डमा भनिन्थ्यो— ‘दुस्खी जनता, गरिब देश’ बनाउने निर्दलीय पञ्चायती व्यवस्था नै हो। ‘वर्ग समन्वय’ को नाराले भुइँमान्छेको हित गर्दैन। अन्ततः त्यो व्यवस्था जनआक्रोशको छालमा परेर रछ्यानमा फालियो। देश र जनताको आवाज त फुट्यो, तर चुलो भने बल्न सकेन। तर जनताको चुलो अझै निभिरहेको थियो, भाँडो फेरि पनि खाली। त्यसपछि जनताको चुलो किन निभेको हो भन्ने खोजी थालियो। दोष सामन्तवादको अवशेष—नश्लीय, निरंकुश राजतन्त्रमा देखियो। त्यसपछि फेरि जनयुद्द र  आन्दोलनको आँधी चल्यो, र राजतन्त्र पनि इतिहासको संग्रहालयमा पठाइयो—प्रदर्शनीको वस्तु बनाएर। । त्यसपछि देशले गणतन्त्र अँगाल्यो। तर प्रश्न अझै जीवित छ—गणतन्त्र केवल सत्ताको स्वरूपको फेरबदल हो वा जनताको जीवनस्तरमा सकरात्मक परिवर्तनको संवाहक ?

गणतन्त्र भन्नाले ‘गण’  (अर्थात् समूह वा जनता) र ‘तन्त्र’ (अर्थात् व्यवस्था) को संयोजन हो, जसको शाब्दिक अर्थ हुन्छ—जनताको शासन प्रणाली। यसमा शासन संविधानअनुसार चल्छ, जहाँ संविधान सर्वोच्च हुन्छ, मनपरी चल्दैन। सरकार जनताप्रति उत्तरदायी हुन्छ, अर्थात् सरकार जनताको सेवक हो, मालिक होइन। गणतन्त्रलाई धेरैले आजको विश्वकै उत्कृष्ट शासन प्रणाली मान्छन्—तर त्यो तब मात्र हो, जब यसका मूल्य र मान्यताहरू व्यवहारमा खरो रूपमा लागू हुन्छन्।

आज देशमा गणतन्त्रात्मक ब्यवस्था छ। तर व्यवहारमा, शासन संरचनामा दलाल र बिचौलियाहरूको अखडामा परिणत भएको छ। निरंकुशताको विरुद्ध लड्ने, बलिदान दिने र जनआन्दोलनको अग्रपंक्तिमा उभिने पात्रहरू आज इतिहासको कुनाकन्दरामा हराइरहेका छन्। त्यसको विपरीत, सत्ताको सुखमा रमाउने, श्रेय लिने र ‘क्रान्तिकारी’ वा ‘प्रजातन्त्रवादी’ को झुटो खोल ओढ्ने ढोंगीहरू भने देशको मूल धारामा छन्।  त्याग र योगदान गर्नेहरूका छायामा, जस्केलाबाट फुत्त निस्केर सत्ताको सेरोफेरोमा घुम्ने  पात्रहरू—ढोके, धुपौरे, हुक्के र सुसारेहरूको वर्चस्व स्थापित हुँदै गएको छ। अर्थात, “लङ्का जित्ने हनुमान, पगरी गुथ्ने ढेडु’।”आरन नपसे पनि फलाम बाङ्गो बनाएको दावी गर्ने, सङ्घर्ष नगरे पनि क्रान्तिको गाथा गाउने, सत्ताको छायाँमा जीविकोपार्जन गर्ने अनुहारहरू आज ‘गणतन्त्रका प्रतीक’का रूपमा उभ्याइएका छन्। यो विसंगति केवल व्यक्तिको होइन, मूलतः विचार, मूल्य र नैतिकताको क्षय हो—जहाँ साहस र बलिदानभन्दा चाकरी र अवसरवादको विजय भएको छ।

हिजो जसले गरुड–पुराण पढदै हिड्थे आज उसैलाई भौतिकशास्त्र पढाउने शिक्षकको जिम्मेवारि लिएका छन।—यथार्थको यो कति क्रूर विडम्बना ! के गरुड–पुराणको आवरणमा ‘भौतिकशास्त्र’ लेखिएको छ भन्दैमा त्यो ग्रन्थ भौतिकशास्त्रको पाठ्यपुस्तक ठान्न सकिन्छ ? निश्चिततः होइन। तर यतिखेर यस्तै बेमेल पात्रहरू सत्ता र संस्थाका मूल थलोमा पुगेका छन्। यिनीहरू न त त्याग र वलिदानका पात्रहरु हुन न ज्ञानका अधिकारी हुन्, न नै नैतिकताका धारक—तर पनि सत्तासौदाबाजीको केन्द्रबिन्दुमा छन्। सत्ताको   चुल्होमा—’तेरो बिलो र मेरो बिलो’ भन्दै भागबन्डा गरिरहेका छन।  को कहिले भान्से हुने र कती हसुर्ने चोचोमोचो मिलाउदै छन।  जनताको भविष्य तासको गड्डाजस्तै फ्यालिन्छ, मिसाइन्छ, र फेरि जुवा खेलेजस्तै बाँडिन्छ। सत्ता केवल पद र सुविधा बाँडफाँडको माध्यम बनेको छ, र राष्ट्रको गहिरो मूल्य–संवेदनालाई लत्याएर, अयोग्य पात्रहरूले शासन चक्र चलाइरहेका छन्।

‘बाहिर–बाहिर लोकाचार, भित्र–भित्र पोका पारू—यो उखान आजको राजनीतिक र सामाजिक यथार्थको ज्वलन्त प्रतिबिम्ब हो। हामीले यस दृश्यलाई प्रष्ट देखिरहेका छौँ, तर पनि आँखा चिम्लिरहेका छौँ। हामीमध्ये धेरैजसो एक वा अर्को राजनीतिक दलको झोले अनुचर भएर मौनताको व्रत अङ्गाल्छौँ—जसले न त प्रतिरोध बोल्न दिन्छ, न त अन्यायप्रति आक्रोश पोख्न। हिजो जुन आक्रोशले हामीलाई सडकमा उतार्यो, जो आलोचनात्मक चेतले हामीलाई विवेकशील बनायो, र जसको हुटहुटीले हामीभित्र रुपान्तरणको सपना भर्यो आज ती सबै भावना कुनै अमुक पार्टीको सदस्यता वा ‘शुभेच्छुक’ को आवरणमा हराउँदै गएका छन्। श्राद्धमा जपिने मन्त्रजस्तै—“यथायथा नामाय तथातथा गोत्राय तृप्यन्ताम्”— जप्दै  देश र जनताको भविश्य  लुटिँदा पनि, ‘तेरो भाग, मेरो भाग’ भन्दै हामी चुसम्म बोल्दैनौँ। यस मौनता र अपराजय स्वीकृतिमा हामी जिउँदै लासझैँ पङ्तिवद्ध हुँदैछौँ—न विवेक बाँकी छ, न विद्रोहको साहस।

जसरी धर्म मान्नेहरूले एक सामान्य साडेलाई डामेर ‘शिवको नन्दी’ बनाइदिन्छन्—त्यसैगरी हामी नागरिकहरूले पनि हरेक पाँच वर्षमा एकचोटि मतदानको डाम डाम्छौ, र त्यसपछि ती साडेझैँ राजनीतिज्ञहरूलाई  छाडिदिन्छौँ— जो  निर्बाध रूपमा जनताको रगत पसिनामा रमाउदछ।  हामी उनीहरूकै स्तुति गाइरहन्छौँ— झोला बोकेर, जयजयकार गरेर।  उनीहरूको कमजोरी औँल्याउनु, आलोचना गर्नु महापाप ठान्दछौ।  किनकि ‘डामिएका साडे’प्रति प्रश्न गर्नु भनेको नन्दीमाथि नै निन्दा गर्नुजस्तै ठान्दछौ। यसरी, राजनीति पूज्य बन्न पुगेको छ, र जनताको विवेक—एक परम्परागत अन्धभक्तिमा रूपान्तरित।

आजको नेताहरूको विलासी जीवनशैलीको स्रोत के हो ?  हिजो चप्पल पड्काउँदै शहर छिरेका मानिसहरू कसरी अरबौँ सम्पत्तिका मालिक बने ? गणतन्त्रको स्थापना पछि रायमाझी आयोगले कार्यवाहीका लागि सिफारिस गरेका अपराधीहरू माथि किन कारबाही भएन ? बरु तिनैसंग गठजोड कसले गर्यो ? मित कसले गाँस्यो ? बारम्बार असफल भइसकेका, म्याद गुज्रेका, र भ्रष्टाचारको धमिराले मक्किएको नेतृत्वले आज पनि शासन सत्ता कब्जा गरिरहेको छ—के यो गणतन्त्रको उपहास होइन ?

आज देशमा गणतन्त्र त छ, तर कुशासनको कुपोषणले यो क्रमशः दुब्लिँदै, क्षयी हुँदै गएको छ। राजनीतिक वृत्तमा दर्शन, आदर्श, नैतिकता र इमान्दारिता यस्ता मूल्य बनेका छन्, जो स्यालका सिङ्ग सरह दुर्लभ भइसकेका छन्। व्यक्तिगत सत्तालिप्सा, कुन्ठा र  अकर्मण्यताको दलदलमा देश गिजोलिएको छ। गणतन्त्रका नेताहरूको व्यवहार यस्तो देखिन्छ—मानौँ उनीहरू कुनै दैवीशक्ति प्राप्त चमत्कारी बाबा हुन्, र राज्य सत्ता त अविछिन्न पुर्खौली सम्पत्ति हो, जसलाई इच्छाअनुसार आफ्नै भक्तहरुलाई हस्तान्तरण  गर्न पाइन्छ( जसरी कुनै अपुतालिबाट पाएको सम्पत्ति। नेपाल त विश्वका आदिम सभ्यता भएको नौ देशहरूमध्ये एक हो। अमेरिका नामको राष्ट्र अस्तित्वमै आउनुअघि, हाम्रो पाटन दरबारको निर्माण भइसकेको थियो— तर विडम्बना, त्यही गौरवशाली इतिहास बोकेको देश आज परिवर्तनभन्दा पतनतिर झर्दै छ।

परिवर्तनको खोलभित्रको अपरिवर्तित चरित्रले देश खाएको छ। देशमा राजनीतिक परिवर्तन त भयो, तर पात्रहरू र तिनको सोचमा परिवर्तन आएन। हिजो निरङ्कुशताको विरोधमा आन्दोलन र युद्धमा होमिएका धेरै पात्रहरू आज दलाल पूँजीवादको कुचक्रमा गासिएका छन्—यो यथार्थ अब लुकाउने विषय रहेन।

हिजो देश र जनताको लागि गरिएको त्याग आज व्यक्तिगत लाभको मूल्यमा असुली गरिँदैछ, मानौँ आन्दोलनमा सामेल हुनु कुनै जागिर थियो— र अब त्यो जागिरको पेन्सन खाने ‘अधिकार’ ठानिएको छ।

राजनीतिक दलहरूका शीर्ष नेताहरूको फेरो लगाउने ‘भाग्यमानी’ पात्रहरू औँलामा गन्न सकिने मात्र छन्।

आज पक्षपात, निराशा र सत्ताकेन्द्रित विकृति कसले सिर्जना गर्यो ? जनतालाई निराश बनाउने बीउ कसले रोप्यो ? हिजो ‘वर्ग समन्वय’ को नारालाई, जसले पञ्चायती व्यवस्थाको भ्रम फैलायो, त्यसलाई प्रोत्साहन कसले गर्यो ? राजनीतिक दर्शन र आदर्शलाई सत्ताको सौदाबाजीमा कसले साट्यो ? दलाल र बिचौलियाहरूबाट आजको नेतृत्व कुन स्तरसम्म प्रभावित छ ? राष्ट्रियता र जनजीविकाका मुद्दाहरूको विस्मरण कसले गर्यो ? देश र जनताको निम्ति जीवन अर्पण गरेका पार्टी कार्यकर्ताहरू आज रमिते बन्न बाध्य छन्, जबकि टुप्पाबाट पलाएका बिचौलिया र ‘सत्ताका माफिया’हरूले शासनसत्ताको दोहन गरिरहेका छन्।

प्रश्न उठ्छ— आजको नेताहरूको विलासी जीवनशैलीको स्रोत के हो ?  हिजो चप्पल पड्काउँदै शहर छिरेका मानिसहरू कसरी अरबौँ सम्पत्तिका मालिक बने ? गणतन्त्रको स्थापना पछि रायमाझी आयोगले कार्यवाहीका लागि सिफारिस गरेका अपराधीहरू माथि किन कारबाही भएन ? बरु तिनैसंग गठजोड कसले गर्यो ? मित कसले गाँस्यो ? बारम्बार असफल भइसकेका, म्याद गुज्रेका, र भ्रष्टाचारको धमिराले मक्किएको नेतृत्वले आज पनि शासन सत्ता कब्जा गरिरहेको छ—के यो गणतन्त्रको उपहास होइन ? देशमा राजनीतिक दलहरू त छन्, तर जब राजनीतिक चरित्र हेर्छौँ—’उही मूलाको सिङ्गी, उही मूलाको चाना।’

गणतन्त्र, निसन्देह, सबैभन्दा उत्तम शासन व्यवस्था हो। तर जब त्यो गणतन्त्र गलत पात्रहरूको हातमा पुग्छ, तब त्यसकै नाममा सर्वनाश सुरु हुन्छ। यसको विकल्प गणतन्त्रको अन्त्य होइन—बरु अझ शुद्ध, अझ उत्तरदायी र अझ न्यायपूर्ण गणतन्त्र हो।

आज हामीले देखिरहेको दुर्गति गणतन्त्रको दोष होइन,

यो त त्यस्ता चरित्रहरूको कारण हो जसले गणतन्त्रलाई व्यक्तिगत स्वार्थ, ठगी र सत्ताको सौदाबाजीको औजार बनाएका छन्। सहकारी ठगीदेखि मिटर ब्याज पीडितसम्म, भुटानी शरणार्थी प्रकरणदेखि सुन काण्ड, दलित आन्दोलनमाथिको दमनदेखि ‘भिजिट भिसा’ व्यापार, र जग्गा हिनामिना जस्ता एकपछि अर्को घोटाले गणतन्त्रको अनुहारमा कालो दाग लगाएका छन्। यी सबै काण्डहरूले त्याग, बलिदान र सपना बोकेर गणतन्त्र स्थापनाका लागि आहुति दिएका शहीदहरू, बेपत्ता अभियन्ताहरू, घाइते योद्धाहरूको अपमान गरेका छन्। अब प्रश्न उठ्छ—के हामी यति मै चुप लाग्ने ? कि फेरि एकपटक विवेकको आधीबेहरी ल्याउने ?

हामीलाई चाहिएको छ—अझ उन्नत,  समावेशी र उत्तरदायी गणतन्त्र।

गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण श्रमिक, किसान, उत्पीडित, सीमान्तकृत र भुइँमान्छेहरूलाई हार्दिक शुभकामना।

 

 

 

वि.सं.२०८२ जेठ १५ बिहीवार ०९:०४ मा प्रकाशित

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

न्यायालय न्याय, समानता र स्वतन्त्रताको आधार हो।यसको सुदृढता बिना कुनै...

वाह ! मन्त्रीहरूको सम्पत्ति

वाह ! मन्त्रीहरूको सम्पत्ति

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भयो। जनताले फेरि एकपटक “मन्त्रीहरूको अर्थतन्त्र” को...

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

चन्दा भुसाल, बुटवल । तिलोत्तमा नगरपालिकाले अघि सारेको “सडक मानवमुक्त”...

छिटोछरितो मुद्दा फर्छौटः नेतृत्वलाई चुनौती

छिटोछरितो मुद्दा फर्छौटः नेतृत्वलाई चुनौती

छिटोछरितो मुद्दाको फर्छौट न्यायिक प्रणालीको प्रभावकारीता मापन गर्ने महत्वपूर्ण आधार...

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

नेपालका अधिकांश गाउँमा करिब ६० प्रतिशत जनताको जीवन निर्वाह कृषि...

आत्मविश्वासले मानिसलाई सफलतातिर डो¥याउँछ

आत्मविश्वासले मानिसलाई सफलतातिर डो¥याउँछ

आत्मविश्वास भनेको व्यक्तिको आफ्नै क्षमता, निर्णय र मूल्यमाआधारित यथार्थवादी विश्वास...