back
CTIZAN AD

गणतन्त्र दिवस २०८२ को विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको सम्बोधनको पूर्णपाठ

वि.सं.२०८२ जेठ १५ बिहीवार

471 

shares

सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
प्रतिनिधि सभाका सम्माननीय सभामुख तथा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू,
माननीय उप–प्रधानमन्त्री तथा मन्त्रीज्यूहरू,
सङ्घीय संसदका माननीय सदस्य, विदेशी कुटनीतिक नियोगका प्रमुख तथा विशिष्ट अतिथिज्यूहरू,
जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरू ।
स्वदेश एवम् विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु ।
गणतन्त्र दिवस २०८२ को अवसरमा हार्दिक बधाई एवम् शुभकामना ।

आजको दिन, हाम्रा लागि विशेष दिन हो । वर्षौ लामो सङ्घर्ष, हजारौँ दिदीबहिनी दाजुभाइहरुको बलिदान र हामी सबैको अथक मेहेनतबाट २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको दिन । त्यस ऐतिहासिक दिनको सम्झनामा आज हामी गणतन्त्र दिवस मनाइरहेका छौँ ।

गणतन्त्र– हामीले प्राप्त गरेका होइनौँ, आर्जन गरेका हौँ । हजारौँ जनताको बलिदानबाट र त्यागबाट । मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौँ । हाम्रो समाजले हासिल गरेको त्यस गौरवपूर्ण दिवसको मूल्य हामीले कहिल्यै बिर्सनु हुँदैन, बिर्सने छैनौँ ।

आज यस अवसरमा, गणतन्त्र आर्जन गर्न र यसलाई संस्थागत गर्न योगदान गर्ने अग्रजहरु, प्रत्येक राजनीतिकर्मी, न्यायकर्मी, निजामती, सुरक्षाकर्मी र, सार्वजनिक सेवाका सबै राष्ट्रसेवक, नागरिक समाज, सञ्चारकर्मीसहित आम जनसमुदायमा हार्दिक आभार प्रकट गर्दछु । ऐतिहासिक जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान शहीदहरुप्रति सदा झैं नतमस्तक हुँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनको क्रममा घाइते र अपाङ्ग हुनुहुने सबै दिदीबहिनी दाजुभाइहरुप्रति सम्मान व्यक्त गर्दछु ।

देशमा गणतन्त्रको बिहानी नहुँदासम्म बितेको कठोर कालो रात सम्भवतः आजको नवोदित पुस्ताको प्रत्यक्ष स्मृतिमा छैन । जायज होउन् वा नाजायज, आफ्ना मत र आग्रहहरुलाई सामाजिक सञ्जालमा निर्वाध व्यक्त गरिरहेको आजको पुस्ताले विचार र समाचारमा प्रतिबन्ध लागेका सञ्चार माध्यम र बन्द रहेका टेलिफोन तथा मोवाइलहरुको कथा मात्रै सुनेको हुनुपर्छ । त्यसबेला हुकुमी आदेश तामेली मात्रै गर्न अभिशप्त समाज आज निर्वाध रुपमा आफ्नो मत व्यक्त गर्न र राज्य सञ्चालनका कुनै पनि घटनालाई ‘जज’ गर्न पाउने ठाउँमा उभिएको छ ।

हुकुमी निगाहले जिल्ला, गाउँ र नगरका प्रमुखहरु तोक्ने प्रणालीको ठाउँमा आज जनता आफैँले मतदान गरेर, वडाका सदस्यदेखि देशको राष्ट्रपतिसम्म समावेशी रुपमा विभिन्न जात÷जाति र समुदायका कम्तिमा ३६ हजार ५७ प्रतिनिधिहरु चुन्छन् । सार्वजनिक सञ्चार प्रणालीको प्रतिबन्धका कारण निरंकुशतन्त्रमा गुपचुप हुने अपराध र भ्रष्टाचार उपर गणतन्त्रमा सार्वजनिक निगरानी र सार्वजनिक सूचना प्रणालीले जनतालाई न्यायाधीश बनाइदिएको छ । यसको लाभ लिएर निरंकुशतावादीहरुले हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुश्प्रयास गरिरहेका छन् ।

आजको दिनले हामीलाई विगतको सङ्घर्ष, जनआन्दोलनसँगै तय गरेको गन्तव्यसँगै हिँडेको यात्रा र हासिल गरेका साझा उपलब्धिलाई सम्झाउँछ । हिजोको गरिबी, हिजोको असमानता, हिजोको अविकास र हिजोको पछौटेपनबाट हामी निकै अगाडि बढिसकेका छौं । देशमा निरंकुश राजतन्त्र र गणतन्त्र कालका विकास सूचकाङ्कहरुको तुलनात्मक अध्ययन गर्न म हाम्रो नवोदित युवा समाजलाई आग्रह गर्दछु । लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत, अनुशासित र अझ सुदृढ बनाएर हामी मुलुकलाई प्रगतिको बाटोमा लैजान सक्छौँ ।

निरंकुशतन्त्र र गणतन्त्र, कुन उत्तम हो भन्ने हाम्रो समाजको बहसको विषय होइन । राज्यका अङ्ग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका हामी सबैको आचरण र व्यवहारमा अझै सुधार गर्नुपर्ने धेरै कुरा हुन सक्छन् । गरिबी, बेरोजगारी, भ्रष्टाचार राष्ट्रका यी चुनौती हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर होइन, लोकतान्त्रिक प्रणालीमा चुनाव मार्फत इमान्दार राजनीतिक शक्ति छनोट गरेर मात्र सामना गर्न सकिन्छ । इतिहास साक्षी छ, त्यो मुकुटको आडमा जनतामाथि शासन गरिएको थियो, सेवा होइन । राज्य यन्त्रलाई शासनबाट सेवा तर्फ प्रवेश गराउने काम गणतन्त्र आएपछि सुरु भएको हो, त्यो अझै सम्पन्न भएको छैन ।

इतिहासका विभिन्न कालखण्डमा निरंकुश राजतन्त्र र जनताबीच सङ्घर्ष र सम्झौताहरु भए । जनतासँग भएका सम्झौताहरुलाई पटक पटक तोडेको हुकुमी राजतन्त्रलाई परास्त गर्दै जनताले गणतन्त्र स्थापना गरेका थिए । जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात वंशमा केन्द्रित गर्न खोज्ने प्रयास आज पनि भइरहेको छ । तर स्वतन्त्रताको अभ्यासमा हुर्केको आजको समाजले जनताको मतभन्दा शाही इशारा ठूलो हो किमार्थ भन्न सक्दैन । हजारौँ शहीदको बलिदान र लाखौं नेपालीको सपनाभन्दा अढाइसय वर्षसम्म बदनाम शासन चलाएर देशलाई पछौटे अवस्थामा पु–याउने एउटा वंशको विशेषाधिकार कुुनै अर्थमा पनि ठूलो हुनै सक्दैन । स्वतन्त्रताको मलिलो जमिनमा उम्रिएको जनताको सपना दरबारको भित्तामा लगेर टाँस्सियोस कसैले भन्न सक्दैन ।

इतिहास स्मरण गर्ने हो, मनन गर्ने हो, हामी बाँच्ने त वर्तमानमै हो । हिजो जनताले सिंहदरबार र नाराणहिटी, गेट बाहिरबाट हेर्थे, आज जनता त्यहाँभित्र पस्छन् । गणतन्त्र जनताको शासन हो, उनीहरुले चुनेका प्रतिनिधि त्यहीँबाट उनका लागि सेवा र शासन गर्छन् । हिजो रेडियोले समाचारका रुपमा हुकुम मात्र बजाउँथ्यो, आज, सामाजिक सञ्जालमा जनताका आवाज गुञ्जिन्छन् ।

गणतन्त्र जनताको व्यवस्था हो । यसमा यदि कमजोरी भयो भने गणतन्त्रको होइन, निर्णयकर्ताको कमजोरी हुनसक्छ । निर्णयमा हुने कमजोरीलाई निर्णयबाटै सच्याउने सुविधा पनि गणतन्त्रमा मात्रै हुन्छ । राजतन्त्रलाई प्रश्न भन्दा माथि राखिन्थ्यो, गणतन्त्रमा आलोचना बाहिर कोही रहन्नन् । आज तपाईँ सरकारको आलोचना गर्न सक्नुहुन्छ, गर्न पाउनु भएको छ । हामी सरकार बदल्न पाउँछौँ, निडर भएर लेख्न, बोल्न पाउँछौँ । अर्काको अधिकारमा दख्खल नदिइ आफ्नो अधिकारको वकालत गर्न पाउँछौँ । किनभने हामी गणतन्त्रमा छौँ । यही स्वतन्त्रता, यही उत्तरदायित्व हाम्रो शक्ति हो ।

हामीले गणतन्त्रलाई संस्थागत गर्दै लैजानु छ । नारामा होइन, व्यवहारमा । हिजोको निरंकुशतन्त्रबाट समाजलाई मुक्त गरेर पूर्वाधार विकासको जुन रफ्तार तय गरिएको छ, त्यो लोकतन्त्र, गणतन्त्रका कारण सम्भव भएको हो । हिजोको असमानता तोडेर सामाजिक सुरक्षाको जुन प्रबन्ध भएको छ, त्यो गणतन्त्रको देन हो । निरंकुश राजतन्त्रले उपभोग गरेका विलासी अढाइसय वर्ष भन्दा गणतन्त्र स्थापना भएको १७ वर्षमा कयौं गुणा बढी विद्यालय, अस्पताल, सञ्चार र यातायात पूर्वाधारमा विकास भएको छ । वंशीय शासनका अभियन्ताहरुले गणतान्त्रिक व्यवस्थाको लाभ लिँदै सामाजिक सञ्जालमा प्रवाह गरेका प्रायोजित ‘स्पोन्सर्ड’ सामग्री भन्दा बाहिर गएर तथ्यहरुको अध्ययन ग–यौँ भने हामी यससम्बन्धी स्पष्ट चित्र देख्न सक्ने छौँ ।

गणतन्त्रमा हरेक नागरिकको आत्मसम्मान सुरक्षित हुन्छ, भइरहेको छ । शिक्षा, स्वास्थ्य, उद्यम र रोजगारी, यी क्षेत्रमा धेरै परिवर्तन आएको छ । यसमा अझै सुधार ल्याउन आवश्यक छ । त्यसका लागि सरकार सक्रिय छ । सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलियो बनाउन लागेका छौँ । अर्थात् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागिपरेका छौँ ।

गणतन्त्र कुनै दलको स्वामित्व होइन, यसको मालिक जनता हो । लोकतान्त्रिक गणतन्त्र ‘जनताको लागि, जनताद्वारा, जनताको’ शासन प्रणाली हो । यसको मर्मअनुसार हाम्रो प्रणालीमा जनताले नै वडा सदस्यदेखि राष्ट्रपतिसम्म आफैँले छान्न र फेर्न सक्छन् । त्यसैले राम्रो वा नराम्रोको उत्तरदायित्व पनि जनताकै हातमा छ । जनताको अधिकार र उत्तरदायित्वको संयोजन गर्न सक्दा मात्र गणतन्त्रले हाम्रो सुन्दर देश नेपाललाई विकास, समृद्धि र सुशासनको उत्कर्षमा पु–याउन सक्ने छ ।

आजको दिन हामी आफँैले आफैँलाई सम्झाउने दिन हो । गणतन्त्र आउनुअघि देशको विकासका सूचकाङ्कहरु कहाँ थिए, आज कहाँ पुग्यो ? आज हामी आफैँले वितेका दिन फर्केर हेर्ने दिन पनि हो । गणतन्त्र आउनुअघि मानव विकास सूचकाङ्क कहाँ थियो, आज कहाँ पुग्यो ? राजतन्त्र हुँदाका अढाइसय वर्षमा कति विद्यालय थिए, कति अस्पताल थिए, अहिले कति पुगे ? राजतन्त्रकालमा सडक कति किलोमिटर थियो, अहिले कति पुग्यो ? गरिबी कति थियो, कति घट्यो ? खानेपानी र बिजुलीको सुविधा कति जनतामा थियो र आज कतिमा पुग्यो ? जनताको जीवनस्तर कहाँ थियो, अहिले कहाँ पुग्यो ?
यस्तै प्रश्नहरुका तथ्यपरक उत्तरहरुले हामीलाई गणतन्त्रका उपलब्धिहरु सम्झाउने छन् ।

पुनः एकपटक गणतन्त्र दिवस २०८२ को हार्दिक शुभकामना ।
धन्यवाद ।

वि.सं.२०८२ जेठ १५ बिहीवार १२:४६ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने...

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...