२४ जेठ, जाजरकोट । विद्यार्थीको पढाइप्रति रुचि जगाउन यहाँका दुर्गम गाउँमा पढाइ कुना कार्यक्रम प्रभावकारी देखिएको छ ।
‘एक घर एक पढाइ कुना’ निर्माण गरी विद्यार्थीको पढ्ने वातावरण सिर्जना गर्न जिल्ला शिक्षा कार्यालयले लिएको उद्देश्य निकै प्रभावकारी भएको अभिभावकले बताएका छन् ।
एकै ठाउँमा खाने, बस्ने र सुत्ने लगायतका समस्याले विद्यार्थीको पढाइ प्रभावित भएपछि जिल्ला शिक्षा कार्यालयले पढाइ कुनाको कार्यक्रम ल्याएको हो ।
जिल्लाका अधिकाँश ठाउँमा विद्यालयबाट घर फर्कने बित्तिकै विद्यार्थीले पढाइ कुनामा गएर झोला राख्ने र डे«स बदलेर खाजा खाई पढाइ कुनामा गएर एकान्तमा पढ्न बसेको देख्दा अभिभावक पनि निकै खुसी भएका छन् ।
पढाइ कुना नहुँदा यहाँका विद्यार्थी पढ्ने वातावरण नभएको भन्दै खेल्न निस्कने गरेका थिए । खेल्दा खेल्दै बेलुका भएपछि एकै पटक खाना खाएर सुत्ने गरेकाले पढाइ बिग्रिने गरेको त्रिवेणी नलगाड नपा– ८ का हरिबहादुर खत्रीले बताउनुभयो ।
खत्रीकाअनुसार बालबालिकालाई पढ्ने वातावरण त हामीले पो बनाउनुपर्ने रहेछ अनि मात्र बालबालिका पढाइप्रति रुचि बढाउने रहेछन् । पढाइ कुनाभित्र नेपालको नक्सा, विभिन्न राष्ट्रिय विभूतिको तस्बिर र राष्ट्रिय गीत लेखिएका पोस्टरसहित टाँसिएको देख्न पाइन्छ ।
यहाँका दुर्गम गाउँमा घरका सबै जना एकै ठाउँमा सुत्ने र खाने भएका कारण पढ्ने ठाउँको अभावमा समस्या हुँदै आएको थियो । पढाइ कुना नहुँदा सल्लाको दियालो बालेर सबै जहान बसेको ठाउँमा पढ्दा धुवाँका कारण पढाइ रोक्ने गरिएको त्रिवेणी नलगाड– ८ का साजन विकले बताउनुभयो ।
अहिले पढाइ कुना भएपछि बाबाले बत्ती किनिदिनुभएको छ, कुर्सीमा बसेर राम्रोसँग धुवाँरहित तरिकाले पढ्न पाइएको विकको भनाइ छ ।
अहिले पढ्ने सीप विकास र विभिन्न घरेलु शैक्षिक सामग्री निर्माणका लागि जिल्लाका सबै स्रोत केन्द्रले शैक्षिक मेला र नमुना विद्यालयका रुपमा विद्यालय छनोट गरिरहेको शिक्षकले बताएका छन् ।
विद्यार्थीलाई पढ् भनेर कोही नपढ्ने रहेछ, पढ्नका लागि आवश्यक वातारण तयार भएमा आफैँ पढ्ने भावना जाग्दो रहेछ बारेकोट गाउँपालिका– ५ का प्रेम शाहीले बताउनुभयो । यो वर्ष जिल्लाबाट यार्सागुम्बा सङ्कलनका लागि डोल्पाका पाटनमा विद्यार्थी नगएको अभिवावकले बताएका छन् ।
विद्यालयले हाजिरी पूरा नभएपछि परीक्षामा सहभागी नगरउनुका साथै छात्रवृत्तीसमेत रोकेपछि यार्सागुम्बा सङ्कलनमा विद्यार्थी नगएका हुन् । यार्सागुम्बा सङ्कलनका लागि विद्यार्थी रोक्न जिल्ला शिक्षा कार्यालयले प्रहरीको सहयोगसमेत लिएको छ । महिला तथा बालबालिका कार्यालयका विभिन्न निकायसमेत विद्यार्थी यार्सागुम्बा टिप्ने र भारत जाने कार्य रोक्न पहल गरिहेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो ।
वि.सं.२०७४ जेठ २४ बुधवार ०९:४८ मा प्रकाशित






























