back
CTIZAN AD

चेतना, दासत्व र खाली कागजमा हस्ताक्षर

वि.सं.२०८२ भदौ ७ शनिवार

3.7K 

shares

क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसार चेतना भनेको आफ्नो अस्तित्व, भावनाहरू, विचारहरू तथा वातावरणसँगको सम्बन्धबारे सचेत रहनु र त्यसबारे सोच्न सक्ने अवस्था हो। जो मानिस आफ्नो अस्तित्व, भावना, विचार र बाह्य वातावरणसँगको सम्बन्धबारे सोच्न सक्दैन, ऊ चेतनाहीन हुन्छ। मानिसलाई विशिष्ट बनाउने शक्ति भनेको चेतना हो। चेतनाले नै मानिसलाई “म जीवित छु” भन्ने अनुभूति गराउँछ। चेतनाले नै जीवनलाई अर्थ दिन्छ।

श्वास–प्रश्वास गर्नु, देख्नु, बोल्नु, सुन्नु वा महसुस गर्नु मात्र जीवन होइन। आँखाले देख्ने तर दृष्टिमा चमक नहुनु, मुखले बोल्ने तर शब्दमा अर्थ नहुनु, स्पर्श गर्ने तर ऊर्जाहीन हुनु, सुन्ने तर सुन्नाइमा भाव नहुनु यी सबै कमजोर चेतनाका लक्षण हुन्। चेतना नै हाम्रो अस्तित्वको आधार हो। चेतना नभए विचार, मूल्य र पहिचान सबै हराउँछन्।

चेतनालाई हामी दुई दृष्टिकोणबाट बुझ्दछौ। पहिलो हो   शारीरिक वा मानसिक अवस्था – जहाँ व्यक्तिको चेतनाहीनताले परिवार र आफन्तलाई भावनात्मक पीडा दिन्छ। दोस्रो हो भौतिक वा सामाजिक अवस्था  जहाँ व्यक्ति भित्रैदेखि चेतनाहीन भएर बाह्य रूपमा सक्रिय देखिन्छ। यस अवस्थामा समाज र राष्ट्र नै विवेकहिनताको कारागारमा फस्छ। दोस्रो वर्गका विवेकहिनहरूले स्वविवेकलाई बन्धक बनाइसकेका हुन्छन्। उनीहरू प्रश्न गर्दैनन्, विभेद, शोषण, भ्रष्टाचार र बेथिती देख्दैनन्, सुन्दैनन् र बोल्दैनन्।

दार्शनिक कोणबाट चेतनाहीनता कतैबाट पनि स्वीकार्य देखिँदैन। गीतामा भनिएको छ “चेतनाविहीन जीवन केवल शरीरको बोझ हो।” मार्क्सले चेतनालाई “मानव स्वतन्त्रताको मूल ऊर्जा” भनेका छन्। उनको दृष्टिमा चेतना सामाजिक सम्बन्ध र उत्पादन प्रणालीको उपज हो, जसले वर्ग–संघर्षको आधार निर्माण गर्छ। बुद्धको सम्पूर्ण साधना चेतनाको जागरणमा केन्द्रित छ। संक्षेपमा भन्नुपर्दा, चेतना नभए न आत्मज्ञान हुन्छ, न त सामाजिक न्यायको संघर्ष।

चेतनाहीनहरू प्रश्न गर्ने क्षमता गुमाउँछन्, कठपुतलीजस्तै दास बन्छन्। राज्यका पद र शक्ति क्रमस धुर्त धुन्धुकारीहरुको हातमा पुद्गछ। दार्शनिक हैडेगरका शब्दमा- “मानिसले आफ्नो अस्तित्वलाई प्रश्न नगरेसम्म ऊ “वस्तु”को स्तरमै रहन्छ।” मानव स्वतन्त्रता र चेतना गहिरो सम्बन्धमा गाँसिएका छन्। जब स्वतन्त्रता खोसिन्छ, चेतना कुहिन्छ, अनि दास मनोवृत्ति जन्मिन्छ।

दास मनोवृत्ति भन्नाले “अर्काको आदेशमै आफ्नो जीवन नियन्त्रित हुनु र त्यसलाई स्वाभाविक ठान्नु।” यो केवल बाह्य शोषणको परिणाम होइन, भित्रैसम्म पस्ने मानसिक अवस्था हो। जसले मानिसलाई आफ्नो विचार, निर्णय र आत्मसम्मानबाट क्रमशः टाढा पुर्‍याउँछ। बाहिरी शक्तिले थोपरिएको दासता बिस्तारै मानिसले भित्रैसम्म आत्मसात् गरिसकेको हुन्छ। यस्तो मनोवृत्तिमा मानिस आफ्नो स्वाभाविक अधिकार, स्वतन्त्र इच्छा र स्वतः निर्णय क्षमताबाट वञ्चित हुन्छ। रूसोले भनेझैँ “मानिस स्वतन्त्र जन्मिन्छ, तर समाज र सत्ता संरचनाले उसलाई दासत्वमा बाँधिदिन्छ।”

चेतनाको गहिरो पहिचान हो- प्रश्न गर्ने क्षमता। प्रश्न भनेको केवल शब्दको खेल होइन, यो चेतनाको क्रान्ति हो। प्रश्नले सत्यलाई उजागर गर्छ, निर्णयलाई चुनौती दिन्छ, र मानिसलाई मालिक होइन, स्वतन्त्र अस्तित्वको बोध गराउँछ। प्रश्न नहुँदा राजनीति रोगग्रस्त हुन्छ। नेता देवत्वकरण हुन्छन्, र जनताले आफैलाई झोले, हनुमान वा तुच्छ कारिन्दामा रुपान्तरण गर्छन्। चेतनाविहीन र दासत्व स्वीकार गर्नेले प्रश्न किन गर्दैन? आफूलाई किन आदेशपालक मात्रको रूपमा प्रस्तुत गर्छ? यसको केही कारण छन्:

भयको संस्कार: दासत्व स्वीकार गर्नेको जीवन सधैं भयले घेरिएको हुन्छ, मालिक, नेता वा मान्यवरको भय। प्रश्न गर्ने क्षणमै उसलाई सजाय, पीडा वा जीवनकै अन्त्यको आशंका हुन्छ। राजनीतिमा त्यो भय पद, प्रतिष्ठा, पैसा र लुटको खेतिमा क्षति हुने डर हो। भय चेतनाको सबैभन्दा ठूलो शत्रु हो, यसले जिब्रो थुन्छ, आँखा बन्द गराउँछ, र मनलाई मौन बनाउँछ। त्यसैले दासत्वमा बाँधिएका मानिसहरूले आदेश त पालना गर्छन्, तर प्रश्न गर्ने साहस गुमाउँछन्।

आत्म-सम्मानको क्षय: दासत्व केवल शरीरको कैद होइन, यो आत्माको पतन हो। निरन्तर अपमान, तिरस्कार र अधिकारहीन जीवनले दासलाई विश्वास दिलाउँछ कि ऊ “अयोग्य” प्राणी हो। जब आत्म-सम्मान मर्छ, प्रश्न गर्ने शक्ति पनि मर्छ। किनभने प्रश्न गर्नु भनेको “म पनि सोच्न सक्छु” भन्ने घोषणा हो, जुन दासले विश्वास नै गर्न छाडिसकेको हुन्छ।

विचारधाराको जाल: शासक वर्गले दासको चेतनामा नै यसरी प्रभाव पार्दछ कि मानिसको सचेतता लाई ठिमाह बनाईदिन्छ। “तिमी आदेश पालना गर्न जन्मिएका हौ” भन्ने भ्रमलाई सत्यमा रुपान्तरण गर्दो रहेछ। यस्तो विचारधारा राजनीति, धर्म, परम्परा वा कानुनको नाममा स्थापित गरिन्छ।

मार्क्सवादी दृष्टिले, यो ‘झूटा चेतना’ हो। दासलाई लाग्छ, आदेश पालना नै धर्म हो, प्रश्न गर्नु पाप हो। जब विचार नै बाँधिन्छ, प्रश्न गर्ने आधार हराउँछ।

हेगेलले मानौं हाम्रो अहिलेको राजनीतिक दल र तिनका नेता-कार्यकर्तालाई देखेर वा भोगेजस्तै गरेर लेखेका छन्, दास आफ्नो पहिचान मालिकको दृष्टिबाट मात्र देख्छ। उसलाई लाग्छ कि उसको अस्तित्व मालिकको इच्छामा निर्भर छ। जब आत्म-चेतना अरूको स्वीकृतिमा मात्र टिक्छ, त्यस्तो अवस्थामा प्रश्न गर्ने साहस कहाँबाट आउँछ? दासको चेतना आफ्नै हुँदैन; त्यो त मालिकको प्रतिविम्ब मात्र हुन्छ।

बुद्धका अनुसार, मानिसले प्रश्न गर्दैन भने त्यो अज्ञानको कारण हो। तर दासत्वमा यो अज्ञान अझ जटिल हुन्छ।
दास प्रायः स-साना सुविधामा पनि सन्तुष्ट हुन्छ, किनभने उसको चेतना भय र तृष्णाले अन्धो बनिसकेको हुन्छ।

दासत्वलाई धेरैले केवल पुरानो युगको शब्द ठान्छन् जहाँ मानिसलाई मालिकले खरीद-विक्रि गर्थे। तर दासत्व केवल इतिहासको कथा होइन; यो आज पनि विभिन्न रूप, स्वरूप र नाममा बाँचिरहेको छ। नेपालको सन्दर्भमा गरिबी, बेरोजगारी, विपन्नता, विभेद, राजनीतिक तन्त्र, वा दलाल, भ्रष्टाचारी र व्यभिचारीहरूको दासत्व अझै जीवित छ। आज हामी नेपालीहरू बाहिरबाट हेर्दा “स्वतन्त्र” देखिन्छौं, तर वास्तवमा हाम्रो चेतना, निर्णय र जीवन तिनीहरूकै नियन्त्रणमा बाँधिएको छ।

राजनीति केवल सत्ता-खेल मात्र होइन; यो चेतना, जिम्मेवारी र नैतिकताको पनि परीक्षा हो। हालै नेपालमा केही संघीय सांसदहरूले खाली कागजमा हस्ताक्षर गरेर पार्टीलाई बुझाएका छन्। जब सांसदले खाली कागजमा हस्ताक्षर गरेर आफ्नो पार्टीलाई बुझाउँछन्, त्यो केवल कागजमा भएको सामान्य क्रियाकलाप होइन, यो लोकतन्त्र, व्यक्तिगत जिम्मेवारी र नैतिक चेतनाको स्खलन हो।

हस्ताक्षर किन र कुन प्रयोजनका लागि गरिएको हो भन्ने विषयमा हाम्रा “माननीय” स्वयं अनभिज्ञ देखिन्छन्। त्यस्तो हस्ताक्षर गर्ने क्षणमा उनीहरूको चेतना, विवेक र पहिचान दास-मनोवृत्तिले फेरि उदाङ्गिएको छ। हस्ताक्षरको औचित्य, प्रयोजन र त्यसले ल्याउने परिणामबारे सोच्ने चेतना मुर्छित भयो। दासताले “हस्ताक्षर के का लागि?” भन्ने प्रश्न गर्नै निषेध गर्‍यो। प्रश्न गर्दा पद, प्रतिष्ठा, पैसा र लुटको खेतिमा क्षति हुने भयले मुख थुनियो। आदेश पालना नै धर्म ठानियो। आफ्नो पहिचानलाई मालिकको दृष्टिबाट मात्र हेरेर दस्तखत धस्काईयो । मालिकको सामु आफूलाई तुच्छ प्राणीको रूपमा प्रमाणित गर्ने अर्को अवसरको रूपमा लिइयो।

आफूलाई जे बोल्न, सुन्न, हेर्न र गर्न आदेश छ, त्यही गर्‍यो। आफ्नो मन–मस्तिष्क, विचार र चेतना नेताको पाउमा चढाएको व्यक्तिले त्योभन्दा बढी के नै गर्न सक्थ्यो र? आदेश पालन गर्न जन्मिएको व्यक्तिले “म पनि सोच्न सक्छु” भन्ने साहस कसरी गर्ने? माथि भनिएझैँ, दास-मनोवृत्ति केवल बाह्य शोषणको परिणाम होइन; यो भित्रसम्म पस्ने एउटा मानसिक अवस्था हो, जसले मानिसलाई आफ्नो निर्णय, विचार र आत्मसम्मानबाट क्रमशः टाढा पुर्‍याउँछ।

देशमा भएका भ्रष्टाचार, बेथिति, पक्षपात र लुटतन्त्रलाई खुला आँखाले देखेर पनि प्रश्न नगर्ने हामी जनता आधुनिक दास हौँ। आफूलाई ब्रह्मा, विष्णु र महेश्वर ठान्ने प्राय साना–ठूला राजनीतिक दलका मठाधीशहरूलाई पूज्ने हामी दास हौँ। तिनैलाई सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता ठान्ने हामी पक्का दास हौँ। देशलाई असफलताको भुमरीमा लैजानेलाई “उद्धारकर्ता” मानेर त्यसकै झोला बोक्ने हामी दास नै हौँ।

तर, एकदिन यो दासता र मौनता भङ्ग हुन्छ। चेतना निदाउँदा मानिसहरू आदेशपालक दासझैँ मौन हुन्छन्, अन्यायलाई भाग्य ठान्छन्, र असमानतालाई शाश्वत सत्य सम्झन्छन्। ऊ सोच्दैन, प्रश्न गर्दैन, र अरूको आदेश मान्छ। तर जब चेतना पुनः जागृत हुन्छ, तब समाजमा एउटा अद्भुत तरङ्ग उठ्छ- यो तरङ्ग नै उथल-पुथल ल्याउँछ। त्यो बेला मानिस आफूलाई केवल “पालक” होइन, “निर्माता” को रूपमा देख्छ। भ्रष्टाचारी र शोषकलाई प्रश्न गरिन्छ। मौनतालाई विद्रोहले भङ्ग गर्छ। पुरानो सत्ता र संरचना डगमगाउँछ। त्यो उथल-पुथलको अन्तिम लक्ष्य केवल सत्ताको अदला-बदली मात्र हुने छैन; समाजले न्याय र समतामा आधारित नयाँ संरचना निर्माण गर्नेछ। पुरेतले जम्मा गरेका गाईझैँ खाली कागजमा हस्ताक्षर गर्नेहरूको लोप हुनेछ।

त्यो उथल-पुथलको सुरुवात प्रश्नबाट गरौँ। दास बनेर बसिरहने कि चेतनायुक्त, स्वाभिमानी, सम्पन्न र स्वतन्त्र नागरिक बन्ने, अब कित्ताकाट हुनै पर्दछ।

वि.सं.२०८२ भदौ ७ शनिवार ०९:०६ मा प्रकाशित

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र...

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

हरेक वर्ष ज्येष्ठ १५ गतेको सुनौलो बिहानीसँगै नेपाली जनताको स्मृतिमा...

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...