वालिङ (स्याङ्जा) । गल्याङ नगरपालिका–१ मालुङ्गाका ईश्वर बस्यालले व्यावसायिक रुपमा गाईपालन गरेको छ वर्ष भयो ।
छ वर्षअघि ‘विन्दवासिनी कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यवसाय थालेका बस्याल भन्छन् गाईपालनबाट मनग्य आम्दानी गर्न सफल भएका हुन् । सुरुमा रु ५० लाख लगानी गरी व्यवसाय थालेका बस्याल भन्छन् फार्मलाई विस्तार गर्दै लैजाने गरेका छन् । उनले सुरुमा रु ५० लाखको लगानीमा केही संरचनासहित गाई र भैँसी गरी २० वटाबाट थालेको व्यवसायलाई बर्सेनि विस्तार गर्दै लगेको हुन् । “भैँसी र होलिस्टिन गरी २० वटा गाईभैँसीपालनबाट थालेको व्यवसाय बर्सेनि विस्तार गर्दै लगेको छु”, उनी भन्छन्, “हालसम्म आइपुग्दा फार्ममा ४४ गाईभैँसी छन् भने झण्डै रु डेढ करोड लगानी भएको छ ।”
फार्मबाट भएको आम्दानीलाई बर्सेनि लगानी गर्दै गइरहेकाले अझै केही वर्ष लगानीलाई निरन्तरता दिने उनी भन्छन् । अहिले गाईभैँसीमध्ये २७ वटा दुहुना छन् भने बाँकी ब्याउने हुन् । आफ्नै जग्गामा फार्म सञ्चालन गरेका बस्याल भन्छन् झण्डै १०० रोपनी जमिन भाडामा लिएर गाईभैँसीका लागि आवश्यक पर्ने नेपियर, जै, वर्सिमलगायतका घाँस लगाएका छन् ।
“फार्मबाट अहिले दैनिक २५० देखि ३०० लिटर दूध बिक्री हुने गरेको छ”, उनी भन्छन्, “फार्मबाट प्रतिलिटर रु ६५ देखि ७० का दरले दूध बिक्री भइरहेको छ ।” बस्यालको फार्ममा उत्पादित दूध गल्याङस्थित साना किसान कृषि सहकारी संस्थामा बिक्री गर्दै आएका छन् । फार्मबाट बिक्री भएको दूधमा प्रतिलिटर गल्याङ नगरपालिकाले रु १५ थप अनुदान उपलब्ध गराउने भएकाले पनि सहजरुपमा मूल्य प्राप्त भएको उनी भन्छन् ।
“यहाँ जति मात्रामा दूध उत्पादन गरे पनि बजारको कुनै समस्या छैन”, उनी भन्छन्, “उत्पादित दूध सहकारीमार्फत बिक्री हुने गरेको छ, त्यसबाट रु १५ का दरले प्रतिलिटर अनुदानले थप प्रोत्साहन पुगेको छ ।” फार्ममा हाल आठ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । फार्मलाई थप व्यवस्थित गर्दै गाईभैँसी थप गर्ने र संरचना विस्तार गर्दै लैजाने योजनामा उनी छन् ।
“केही समय वैदेशिक रोजगारीपछि स्वदेश फर्केपछि बजार राम्रो देखेर पशुपालन व्यवसाय थालेको हुँ”, उनी भन्छन्, “काम गर्दै जाँदा सिकाइ हुँदै गएको छ, अनुभव सँगाल्दै गएको छु, व्यवसाय राम्रै छ ।” फार्मसम्म विद्युत्को तार आए पनि आवश्यक मात्रामा पावर नआएकाले हातैबाट दुहुनुपरेको उनी भन्छन् । मेसिन ल्याएर राखिएको तर पावरको कमीका कारण मेसिन सञ्चालनमा समस्या रहेको उनी भन्छन् । रासस
वि.सं.२०८२ असोज २२ बुधवार १३:२६ मा प्रकाशित




























