back

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

वि.सं.२०८२ असोज २८ मंगलवार

201 

shares

गण्डकी । दसैँलगत्तै बसातका कारण दुई–तीन दिन मौसम प्रतिकूल भए पनि त्यसयता गण्डकी प्रदेशभित्रका पदमार्गहरूमा चहलपहल बढेको छ । बर्सातले केही ‘बुकिङ’हरू रद्द भए पनि अहिले अधिकांश पदमार्गहरूमा स्वदेशी तथा विदेशी पर्यटक देखिन थालेका छन् ।

उत्तरतर्फ हिमालहरू खुलिसकेका छन् । यहाँका प्राकृतिक सौन्दर्यहरू पर्यटकको स्वागतको पर्खाइमा बसेजस्तै देखिन्छन् । दसैँ र तिहारको बीचमा अधिकांश शैक्षिक संस्थाहरू बिदा भएका कारण पछिल्ला दिनमा आन्तरिक पर्यटकको पदयात्रा गर्ने क्रम बढेको छ ।

तराईको नवलपुरदेखि हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङ र मनाङसम्म समेटिएको गण्डकी प्रदेश पदयात्रा पर्यटनका लागि आकर्षक गन्तव्य हो । यहाँका अन्नपूर्ण चक्रीय पदमार्ग, धवलागिरि पदमार्ग, मर्दी हिमाल पदमार्ग, गुरुङ सम्पदा पदमार्ग, सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) लगायत लामा र छोटा गरी धेरै पदमार्ग रहेका छन् ।

प्रदेशभित्रका सबै पदमार्ग पदयात्राका लागि सुरक्षित रहेको र पर्यटकको आगमन बढेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । “गण्डकी प्रदेशभित्रका सबै पदमार्ग खुलिसकेका छन्,” उनले भने, “सबै पदमार्ग पदयात्राका लागि सुरक्षित छन् । अहिले यहाँका पर्यटकीयस्थल र व्यवसायीहरू पर्यटक स्वागतको पर्खाइमा छन् ।”

नेपाल पर्यटन बोर्डको आयोजनामा हालै फ्रान्समा भएको प्रवद्र्धनात्मक कार्यक्रममा नेपालका पदमार्गहरू सुरक्षित रहेको सन्देश प्रवाह गरिएको आचार्यले जानकारी दिए । उनका अनुसार अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि पदमार्गलगायत प्रदेशभित्रका सबै पदमार्ग पर्यटक स्वागतको पर्खाइमा छन् ।

विश्वका १० उत्कृष्ट पदमार्गमध्ये पर्ने अन्नपूर्ण चक्रीय पदमार्गसहित यस क्षेत्रका अन्य पदमार्गहरू पनि पर्यटकले रुचाएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत रहेको अन्नपूर्ण क्षेत्रमा पदयात्रीको आगमन बढिरहेको एक्यापका प्रमुख रबिन कडरियाले बताए । उनका अनुसार चक्रीय पदमार्गअन्तर्गत अधिकांश स्थानमा सुविधासहितका खानेबस्ने होटेल सञ्चालनमा आएका छन् ।

चार दशकअघि अन्नपूर्ण आधार शिविर पदमार्गमा यात्रुहरू भेडीगोठ र स्थानीयवासीका झुपडीमा बस्ने गर्थे । अहिले भने त्यहाँ सुविधासम्पन्न होटेल बनेका कारण पदयात्रीहरू सहज रूपमा यात्रा गर्न सक्ने भएका छन् । छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले पछिल्ला दिनमा पर्यटक आगमन बढेको बताए । उनले आफूहरू पर्यटक स्वागतका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

एक्यापले २०४३ सालदेखि संरक्षण गर्दै आएको यस क्षेत्रमा मापदण्डअनुसार हरेक होटलमा छवटा दरका १५६ कोठा मात्रै रहेका छन् । सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेपछि अन्नपूर्ण क्षेत्र विश्व चर्चामा आएको हो ।

समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणपछि सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेका थिए । त्यसपछि सन् १९६६ मा विश्वप्रसिद्ध पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविर पदयात्रा गरेका थिए । त्यसयता अन्नपूर्ण क्षेत्र क्रमशः आकर्षक पदयात्रा गन्तव्य बन्दै गएको छ ।

अन्नपूर्ण चक्रीय पदमार्ग, आधार शिविर पदमार्ग, घारेपानी पदमार्ग, मर्दी हिमाल पदमार्ग, सिक्लेस, कपुचे, नर्थ अन्नपूर्ण पदमार्ग लगायत अन्य पदमार्ग रहेको एक्यापका प्रमुख कडरियाले जानकारी दिए । उनका अनुसार मर्दी हिमाल पदमार्ग छोटो समयमा हिमाल नजिकबाट अवलोकन गर्न सकिने पदमार्गका रूपमा लोकप्रिय बन्दै गएको छ ।

गुराँस फुल्ने जंगल, चराचुरुङ्गीको आवाज र रमणीय दृश्यसहितको मर्दी पदमार्ग सबै उमेर समूहका लागि उपयुक्त रहेको उनले बताए । यो पदमार्गबाट माछापुच्छ्रे, मर्दी, अन्नपूर्ण साउथ, गङ्गापूर्णलगायत हिमाल एकैसाथ अवलोकन गर्न सकिन्छ ।

पोखराबाट दुई दिनमा पुगिने मर्दी पदमार्ग छोटो दूरीको पदयात्रा गर्न चाहनेका लागि आकर्षक गन्तव्य बनेको छ । यहाँबाट अन्नपूर्ण, धवलागिरि, माछापुच्छ्रे, मनास्लु लगायतका हिमाल देख्न सकिन्छ । कास्कीको काँडेबाट प्रारम्भ हुने पदमार्ग अष्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फोरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्छ । यी सबै स्थानमा होटेल सञ्चालनमा छन् ।

मर्दी हाइक्याम्प (३,५५० मिटर)बाट दुई घण्टामा चार हजार २०० मिटरको ‘भ्यू प्वाइन्ट’ र त्यसपछि दुई घण्टामा चार हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । फर्कँदा माछापुच्छ्रे गाउँपालिकाको सिदिङबाट झण्डै दुई घण्टामा पोखरा पुग्न सकिने बताइएको छ ।

गण्डकी प्रदेशको धवलागिरि पदमार्ग पनि महत्वपूर्ण पदमार्ग हो । टान गण्डकीका अध्यक्ष आचार्यका अनुसार करिब १८ देखि २१ दिनसम्मको पदयात्रा हुने यस पदमार्गमा अधिकांश स्थानमा होटेल नभएकाले क्याम्पिङ गर्नुपर्ने हुन्छ ।

हाल जथाभावी बाटो खन्ने नाममा विभिन्न पदमार्ग छोटिँदै गए पनि गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकीको पहलमा कास्कीको मादी गाउँपालिकादेखि मनाङको तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गलाई प्रवद्र्धनात्मक रूपमा अघि बढाइएको छ ।

गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकीका संस्थापक अध्यक्ष तथा गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोरबजङ्ग गुरुङले यो पदमार्गमा परापूर्वकालमा भोटमा नुन लिन जाने र भेडीगोठ जाने पुराना बाटाहरू समेटिएको बताए । उनका अनुसार अध्ययनका क्रममा एक दर्जनभन्दा बढी सहायक पदमार्ग पनि पहिचान गरिएको छ । यी पदमार्गहरूमा पर्यटकले पाँचदेखि १० दिनसम्म यात्रा गर्न सक्ने उनले बताए ।

यो पदमार्ग पोखराबाट मादी गाउँपालिकाको सिक्लेसबाट सुरु भई कफुचे, कोरी हुँदै ताङतिङ, क्रपु डाँडा, तप्रो, दूधपोखरी हुँदै मनाङको तिमाङसम्म पुग्छ । यस क्षेत्रमा ‘टी–हाउस’ र अन्य पूर्वाधार विकासको आवश्यकता रहेको बताउँदै गुरुङले त्यसका लागि तयारी भइरहेको बताए ।

यो पदमार्ग क्षेत्रको धार्मिक महत्व पनि उल्लेखनीय छ । यहाँ पर्ने चार हजार ५८५ मिटर उचाइको दूधपोखरी धार्मिक तीर्थस्थल हो । पदयात्रा क्रममा प्रशस्त खोला, पोखरी, खर्क र पाटनहरू पार गर्दै अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली र मनास्लुजस्ता हिमशृङ्खला नजिकबाट हेर्न सकिन्छ ।

गण्डकी प्रदेशमा उत्तरी भेगका साथै नेपालको एकमात्र मध्यपहाडी सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पनि अवस्थित छ । तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने यो पदमार्ग २०५६ सालदेखि सञ्चालनमा आएको हो । केही समय सुस्ताएको यो पदमार्ग पछिल्ला वर्षमा पुनः सक्रिय बनेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए ।

उनका अनुसार पछिल्ला वर्षमा स्वदेशी र विदेशी दुवै पर्यटकको आगमन बढ्दै गएको छ । पहिलोपटक आर्थिक वर्ष २०६४÷६५ मा नक्साङ्कन गरिएको यो पदमार्ग समुद्री सतहबाट ४२० मिटरदेखि १,७१५ मिटर उचाइमा फैलिएको छ । पछिल्ला वर्षमा दोस्रो नक्साङ्कनमार्फत पोखराको केही भूभाग पनि यस पदमार्गमा समेटिएको छ ।

उच्च पहाडमा जान नसक्ने तर पदयात्रा गर्न चाहनेका लागि यो पदमार्ग उपयुक्त मानिएको छ । पछिल्ला वर्षमा यहाँ पर्यटक लक्षित घरबास सञ्चालनमा आएका छन् । मिलेनियम भैँसेगौडा सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष बालकुमार गुरुङले यो पदमार्गमा घरबासको संख्या बढ्दै गएको बताए ।

पूरा पदयात्रा गर्न एक हप्ता लाग्ने भए पनि छोटो दूरीका हाइकिङका लागि पनि यो लोकप्रिय गन्तव्य बन्दै गएको गुरुङले बताए । करिब ७२ किलोमिटर लम्बाइको यो पदमार्ग चरा पर्यटनका लागि पनि उपयुक्त रहेको उनको भनाइ छ ।

महासचिव गुरुङका अनुसार दुलेगौँडाबाट सहस्राब्दी पदमार्ग सुरु गर्ने पर्यटक गाछेपानीस्थित रकगार्डेन हुँदै यात्रा प्रारम्भ गर्छन् । पदमार्गमा पर्ने धार्मिक स्थल च्यवनधाम, ढोरबाराही मन्दिर, ढोर मूलकोट दरबार लगायत आकर्षणका केन्द्र हुन् । उनका अनुसार पदयात्रीहरूले हिमाली दृश्यसहित रजस्थल, काल्खु, राइपुर, भैँसेगौँडा, सिङ्गारकोट हुँदै रामबाछा पुगेर पोखरा फर्किन्छन् । अहिले पदयात्राको याम सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी पर्यटक स्वागतका तयारीमा छन् ।

वि.सं.२०८२ असोज २८ मंगलवार १४:१६ मा प्रकाशित

Himalayan Life AD
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा...

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

नेपालमा आधुनिक मानसिक स्वास्थ्य सेवाको इतिहास धेरै लामो छैन ।...