back
CTIZAN AD

धान थन्क्याउन नपाउँदा किसान चिन्तित

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार

570 

shares

महोत्तरी । दीपावली र छठसहितका मुख्य पर्व मनाएका महोत्तरीका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाएर बेचैन भएका छन् । चाडपर्व सकेर धान काट्ने, चुट्ने र थन्क्याउने मेसोमा लागेका किसानलाई बुधबार मध्यरातपछि लगातार परेको पानीले आकुलव्याकुल बनाएको हो । आज पनि बिहानभरि झमझम वर्षा भइरहेको छ ।

महोत्तरीसहितका मधेसमा गत मङ्गलबार बिहानदेखि मौसम धुम्मिएर बुधबार बिहान सिमसिम पानी परेको थियो । बुधबार दिउँसो घाम लागे पनि मध्यरात कटेपछि झमझम पानी परिरहेपछि खेतमा पाकेको धान काट्न, चुट्न र थन्क्याउन नपाएपछि किसानको चिन्ता बढेको हो । खासगरी महोत्तरीका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रका किसान अहिले मुखको पाकेको बाली थन्क्याउन नपाउँदा चिन्तामा परेका छन् । बुधबार मध्यरातपछि पर्न थालेको पानी छिनछिन रोकिँदै अझै पर्दैछ । बिहीबारदेखि परेको चोटिलो पानीले पाकेको धान बोटबाटै झारेको किसानले बताएका छन् ।

“धान खेतमा पाकेर पहेँलपुर छ, चाडबाड सकेर काटौँला, थन्क्याउँला भनियो । पानी पो पर्न थाल्यो,” भङ्गाहा–५ कर्पुरगञ्जका ६० वर्षीय रामजुलुम बाँतर भन्छन्, “पानी पर्दापर्दै काट्न पनि भएन, धान बोटबाटै झरेर नोक्सान पो भयो ।” हिउँदे धान काटेर केही दिन निहिनमा सुकाउन पर्नेमा यो पानीले काम बिगारेको बाँतर बताउँछन् ।

महोत्तरीसहितका मधेसमा उत्तरी क्षेत्रमा चाँडै पाक्ने (कात्तिक पहिलो साताभित्र) धान लगाइन्छ । उत्तरी क्षेत्रको माटो बलौटे हुँदा चाँडै रुखिने हुन्छ । यसैले गहुँ, दलहन, तेलहन, तरकारी र उखुबाली चाँडै लगाइन यस भेगमा चाँडो पाक्ने धान लगाइने गरिन्छ । यसपालि बर्खाकालमा लामो समय सुक्खा पर्दा धान रोपाइँ ढिलो भएर यस भेगमा पाक्ने समय कात्तिक दोस्रो साता पुगेको हो ।

बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा अहिले धान पाकेर पहेँलपुर छ । अधिकांश किसान धान काट्ने मेसोमै लागेका बेला अहिले पानी परेपछि यो काम बिथोलिएको हो । उत्तरी क्षेत्रमा धान पाकेर पहेँलपुर भए पनि मध्य र दक्षिणी क्षेत्रमा भने मङ्सिरमा पाक्ने धान बढी रोपिएको छ ।

“पानी त चाहिएको थिएन, तर हाम्रोतिर धान पाक्न अझै दुई साता लाग्छ । त्यसैले अहिले परेको पानीले धेरै बिगार नगर्ला,” दक्षिणवर्ती बस्ती रामगोपालपुर–२ महनपुरका कादिर हुसैन भन्नुहुन्छ, “तर चोटिलो पानी पर्न थालेको छ, अब बोटबाटै धान झर्ने डर छ ।”

गौशाला, भङ्गाहा र बर्दिबास नगरपालिकाका बस्तीमा भने अहिले धान काट्ने, निहिन सुकाउने, चुट्ने र थन्क्याउने चटारोकै बीच पानी परेको छ । अहिलेको पानी पनि मध्य र दक्षिणी क्षेत्रभन्दा उत्तरी क्षेत्रमै बढी परेको छ । अब धान काट्ने काम दुई÷चार दिनपछि धकेलिएको किसान बताउँछन् । हिउँदे धान काटेर दुई÷तीन दिन निहिनमा सुकाउन पर्नेहुँदा मौसम सफा हुन पर्खनै पर्ने बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतो बताउँछन् । अब धान काट्न हुने ढिलोले गहुँ छर्ने, आलु रोप्ने र दलहन बाली लगाउने कामलाई पनि पछि धकेल्ने चिन्ताले किसान पिरोलिएका छन् ।

यसैगरी धान काटेर उखु रोप्ने मन बनाएका किसान पनि छटपटिएका छन् । अहिलेको पानीले हिउँदे तरकारी रोप्ने, गोडमेल गर्ने र फलेका तरकारी पालोमा टिपेर बजार पु¥याउन पनि नदिने किसानको चिन्ता छ । “पानी पर्दैछ, पालोमा टिपेर बजार पु¥याउन पर्ने भण्टा, भिण्डी, घिरौँला, लौका र झिमनी एक दिनमै छिप्पिन्छन्, अनि ढुसी लाग्ने र किराको आक्रमण पनि बढ्छ,” बर्दिबास–९ पशुपतिनगरका रामविनोद महतो भन्छन्, “यो पानी तुक (समय) को भएन ।”

अहिलेको बेमौसमी वर्षाले किसान वाक्कदिक्क भएका छन् । खेतीपाती प्रतिकूलतै प्रतिकूलताका बीच गर्नु परेको उनीहरुको गुनासो छ । कहिले खडेरी, कहिले कुसमयको वर्षा यी सबै अप्ठ्याराबीच खेतीपाती चलाउनु परेको किसान बताउँछन् । एउटा कामको समय घर्किंदा त्यसले पछिसम्म प्रभाव पार्ने गरेको किसानको अनुभव छ । अहिले चाहिँ जिल्लाकै मुख्यबाली मानिने धान थन्क्याउन अनुकूल समय बिग्रँदा चिन्ता थपेको उत्तरी क्षेत्रका किसान बताउँछन् ।

यसैबीच मधेस प्रदेश सरकारले अहिले बङ्गालको खाडीको मोन्था चक्रवातको प्रभाव मधेसका सबै जिल्लामा पर्ने सचेत गराउँदै धान काट्ने काम तत्काल नगर्न किसानलाई सचेत गराएको छ । बुधबार मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकपछि मुख्यमन्त्री जितेन्द्र सोनलले अहिले सावधानी अपनाउन आम प्रदेशवासीलाई सचेत गराउँदै अनुकूल मौसम नहउञ्जेल धान नकाट्न अपिल गरेका हुन् ।

“प्रदेश सरकार यसबाट पर्नसक्ने विपद्बारे सचेततापूर्वक तयारीमा लागेको छ, यो अवस्थालाई हल्का नलिनुहोला,” उनले अपिल गरे । यो मौसम शनिबारसम्म रहनसक्ने मौसमविज्ञहरुले बताएका छन् । प्रदेश सरकारले नदीहरुमा बहाव बढ्न सक्नेहुँदा तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अप्नाउन अपिल गरेको छ ।

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १६:०६ मा प्रकाशित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...