काठमाडौं । फरार रहेका डा. निकोलस भुसाल प्रहरीले खोजिरहेका बेला सामाजिक सञ्जालमार्फत आफू काठमाडौंको मृगस्थलीमा रहेको बताउँदै लाइभ गरेका थिए। तर प्रहरीको प्राविधिक ट्र्याकिङले उनको वास्तविक ठेगाना गोरखाको सरस्वती आश्रममा फेला पारेपछि उनलाई पक्राउ गरिएको छ।
तीन दिनदेखि हराइरहेका भुसालले मंगलबार करिब ४५ मिनेट लामो फेसबुक लाइभमा रुद्राक्षको माला जप्दै, भगवानका तस्बिरसहितको हल देखाएका थिए। उनले भिडियोमा भनेका थिए, “म मृगस्थलीबाट बोल्दैछु।” त्यसपछि काठमाडौं प्रहरीले तत्काल खोजतलास थालेको थियो।
तर साइबर टोलीले भिडियोको IP एड्रेस, मोबाइल टावर संकेत र दृश्य विश्लेषण गरेर पत्ता लगायो— उनले लाइभ गोरखाबाट गरेका रहेछन्। सो जानकारी पाएपछि गोरखा प्रहरीसँग समन्वय गरी रातारात टोली पठाइएको थियो।
प्रहरीका अनुसार भुसाल गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमको सन्त निवास हलमा सुतिरहेको अवस्थामा फेला परे। प्रहरीले उनलाई बिहानै नियन्त्रणमा लिएको हो।
यसअघि उनले एक पत्रकार सम्मेलनमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए। त्यसपछि उनले सामाजिक सञ्जालमा अन्य शीर्ष पदाधिकारीबारे समेत धम्कीपूर्ण टिप्पणी गरेका थिए।
प्रहरीका अनुसार डा. भुसाललाई थप अनुसन्धानका लागि आजै काठमाडौं ल्याइँदैछ।
वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१५ मा प्रकाशित


























