भूपाल अधिकारी, विराटनगर
१.
पिउनको निमित्त सत्ताको मद नेताहरू
काम नगरी कुरा मात्र गर्छन् हद नेताहरू
यताउता दौडिरहँदा कुटिल कुरा बोकी,
अचेल बन्न थालेका छन् नारद नेताहरू।
२.
अँधेरो खोज्थ्यो जून टहटह लागेपनि
एकपछि अर्को पापको तह लागेपनि
गोडिरहन्थ्यो बाली अहङ्कारको ऊ,
खेतभरि सर्वनाशको सलह लागेपनि।
३.
कुर्सीमा खुब टाँसिएका गम जस्तै हुन्छन्
निरीहमाथि खसालिएका बम जस्तै हुन्छन्
छेपाराका रङ्ग सरी नेताहरूका बोली पनि,
बेला बेला बदलिरहने मौसम जस्तै हुन्छन्।
४.
आफूलाई जहिल्यै ठान्थे सुनको फुली जस्तै
बन्न खोज्थे खुब जिम्मेवार कुनै घरमूली जस्तै
भागेका हुन् हुलमूलमा,अहिले डिङ हाँक्नेहरू,
आफ्नो पुच्छर टुटेर भागेको माउसुली जस्तै।
५.
बत्तीमा झुम्मिएका किराझैँ आसक्त हुने कुरा
गर्दै न गर अब त खुनले यो धर्ती रक्त हुने कुरा
कृत्रिम बुद्धिमताको प्रयोग गरी सके दुनियाँले,
तिमी भन्ने अझै गरिरहन्छौ अन्धभक्त हुने कुरा।
वि.सं.२०८२ कात्तिक २२ शनिवार १०:५९ मा प्रकाशित






























