नवलपुर । देवचुली नगरपालिका–१५ प्रगतिनगरमा हुने देवचुली महोत्सव–२०८२ पुस २५ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन हुने भएको छ। ‘उद्योग, व्यापार, कृषि र पर्यटनको समृद्धि—समृद्ध र सुसंस्कृत नगरको उदय’ नारासहित महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ।
महोत्सवको जानकारी दिन सोमबार देवचुली उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरेको थियो। संघका अध्यक्ष सत्यनारायण भुषालले महोत्सवबाट करिब १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिए। उनका अनुसार महोत्सवले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्नेछ।
स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म
आयोजकका अनुसार महोत्सव केवल मनोरञ्जनका लागि मात्र होइन, स्थानीय कृषि उत्पादनको बजारीकरण, साना तथा घरेलु उद्योगको प्रवर्द्धन, पर्यटन प्रचार–प्रसार, स्थानीय कला–संस्कृतिको संरक्षण, तथा युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने लक्ष्य राखिएको छ।
१५० स्टल र विविध कार्यक्रम
महोत्सवमा कृषि तथा पशुपन्छी सामग्री, हस्तकला, घरेलु उद्योगका उत्पादन, लत्ताकपडा, फेशन, विभिन्न खानाका परिकार, मेसिनरी, अटोमोबाइल, बैंक, बीमा र सहकारी सेवासहित १५० स्टल रहनेछन्।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति, परम्परागत लोकनृत्य, तथा विद्यालयस्तरीय नृत्य–गायन प्रतियोगिता रहने आयोजकले बताएको छ।
१.५ लाखसम्म दर्शक आउने अनुमान
१५ दिनसम्म चल्ने महोत्सवमा १ लाखदेखि १ लाख ५० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। महोत्सवले व्यापार–व्यवसाय बढाउने र रोजगारी सिर्जना गर्ने आयोजकको दाबी छ।
सुरक्षाका लागि प्रहरी, स्वयंसेवक र निजी सुरक्षा गार्ड खटाइनेछन्। ट्राफिक व्यवस्थापन, स्वास्थ्य सेवा, दमकल र सरसफाइमा विशेष ध्यान दिइने आयोजकले जनाएको छ।
वि.सं.२०८२ मंसिर ८ सोमवार १७:०५ मा प्रकाशित




























