बाबुराम गौतम, गुल्मी
१.
स्मृति मर्दैन कहिल्यै
जब एक्लोपन आउँछ
झल्कोले सताउँछ जहिल्यै ।
२.
तिम्रा सारा वाचाबन्धन
टुटेर छरपस्ट भएदेखि
निस्किन्छ हरदम क्रन्दन ।
३.
राख्दैनौ अचेल हेक्का
लिएझैँ गर्दथ्यौ पहिले
सारा जिन्दगीको ठेक्का ।
४.
सन्तुलन भएन मुटु
तिम्रो अनुपस्थितिले गर्दा
दुख्छ भित्रभित्रै कुटुकुटु ।
५.
गरेको प्रतिज्ञा तोड्यौ
मूलबाटो भेट्टाएपछि त
गोरेटो हिँड्नै छोड्यौ ।
६.
रात बन्यो अघोरी
निद्रा पटक्कै लाग्दैन
तिमीले लगेदेखि चोरी ।
७.
आऊ भावना साटौँ
मनको मैलो पखालेर
सम्बन्धको डोरी बाटौँ ।
८.
धनले जगाउँछ भोक
धनाढ्य व्यक्तिले पनि
पाउँदैनन् चाहेको थोक ।
९.
पहिले थियौ काखा
धनी मान्छे भेटेदेखि
मलाई लगायौ पाखा ।
१०.
तिमिरलाई ज्योति दिन्छ
साहित्यमा लाग्ने मान्छे
कैयन् ठाउँमा झुक्किन्छ ।
वि.सं.२०८२ मंसिर १३ शनिवार ०८:३० मा प्रकाशित






























