मुरारीराज मिश्र
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं –७
‘अहिले काँक्रा कति छन् हँ तेरो बारीमा ?’, होलसेल व्यापारी प्रकाशले रमेशलाई फोनमा सोध्यो ।
सालाखाला पाँचसय किलो जति होलान् दाइ !
मलाई सबै पठा न त, अस्तिकै मोल दिन्छु !!
अस्तिको मा त घाटा हुन्छ दाइ, लगानी पनि उठ्दैन । अलिकति थप्नु पर्ला है यसपटक !
हेर रमेश, मैैले पनि होला कि भनेर लगानी गर्ने हो ! ढुवानी भाडा तिर्नै प¥यो । कति नै बच्छ र ? तर के गर्ने, आफ्नै मान्छे परिस् । ल ल, भैगो पाँचरूपैयाँ थपीदिएँ । पच्चीस रुपैयाँ किलो भन्दा चाँहि दिन सक्दिन है । दिने भए रुटको त्यै बसमा हालेर पठाईदे, नभए अरुलाई नै बेच्नु !
तपाईंले नलिएको भन्ने थाहापाएपछि अरु कसैले पनि किन्दैनन् । यहाँ बजार छैन, बिक्दैन ! के गर्नु खै ! बारीमा कुहाउनु भन्दा त बरु घाटै सहनु बेस् । हुन्छ दाइ, म पठाईदिन्छु ।
रमेशको कुरा सुनेपछि प्रकाशले तरकारीको थोक ब्यापारीलाई फोन ग¥यो – ल भाइ, काँक्रो आउने भो । बसवालालाई दुईहजार भाडा दिनु र किलोको सयको दरले मेरो खातामा पठाउनु ।
उ फोन राख्दै थियोे, उसकी श्रीमती चीया लिएर फत्फताउँदै कोठामा छिरिन् – हैन, कति मात्रै ठग्न सकेका हुन हँ यी व्यापारीले ! नाथे काँक्रोको मोल पनि दुईसय रुपैयाँ किलो रे बजारमा ।
वि.सं.२०८२ पुस ५ शनिवार ०७:४२ मा प्रकाशित




























