भूपाल अधिकारी, विराटनगर
१.
लगाएर सधैँ फुइँ कहाँसम्म पुग्छौ
छोडी बसेको भुईँ कहाँसम्म पुग्छौ
ए पैसा र शक्तिले मत्त भएकाहरू,
चढेर अरूकै बुइँ कहाँसम्म पुग्छौ ।
२.
सत्ययुग भन्दा कलि बेकार हुन्छ
ट्याक्टर खरिदे हली बेकार हुन्छ
जुन सुकै भाकामा बजाए तापनि,
भैंसीको सामु मुरली बेकार हुन्छ ।
३.
चङ्गाझैँ उडाउनु पर्छ हावामा हामीले
तार्नुपर्छ माछा जस्तै तावामा हामीले
संजीवनी भनी विष पिलाउनेहरूलाई,
बाँधेर खुब कुट्नु पर्छ खाँवामा हामीले।
४.
बनाएर जिउभरि बुट्टा हिँड्ने गर्छन्
सधैँभर कुरा गर्दै झुट्टा हिँड्ने गर्छन्
स्वयम्लाई उच्च कदका ठान्नेहरूले,
लगाएर बाँसको खुट्टा हिँड्ने गर्छन् ।
५.
हे जहिल्यै पनि मेरै परिश्रम उपर भर गर्नेहरू
सधैं आफ्नै निम्ति मात्र काम गर्न कर गर्नेहरू
बुझ अति गर्नेको अन्त्य हुन्छ बहुत पीडादायी,
मेरै पसिनाको नदीमाथि नौका सफर गर्नेहरू।
वि.सं.२०८२ पुस ५ शनिवार ०७:४९ मा प्रकाशित






























