ताप्लेजुङ । केही दिनयतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्ती सुनसान भएका छन्। जाडो बढ्न थालेपछि स्थानीय आफ्नो बस्ती छोडेर अन्यत्र जान थालेपछि हिमाली बस्तीहरू खाली भएका हुन् ।
जिल्लाको मिक्वाखोला गाउँपालिका–५, तोक्पेगोला र लोदेनको माथिल्लो भेगमा बसोबास गर्ने सर्वसाधारण अहिले तलका (औलतिर) का बस्तीमा झेरका छन्। जाडो बढेसँगै पशुचौपायासहित यहाँका स्थानीय औलतर्फ झर्ने गरेका तोक्पेगोलाका मिलनदोर्जी शेर्पाले बताए।
उनले भने, “हिउँदको समयमा जाडो छल्नकै लागि अन्यत्र जाने गरिन्छ, पशुपालक र व्यवसायमा लागेका मानिस तल्लो क्षेत्रमा रहेका घर, खर्कमा गएर बस्छन्। कतिपय अन्यत्र घुमघाम र भेटघाटमा जान्छन्।”
शेर्पाका अनुसार तोक्पेगोलामा सामान्य अवस्थामा सात परिवार बसोबास गर्छन्, तर अहिले सबै घर रित्तो छन्। घुन्सा, फलेलगायत माथिल्लो भेगमा बसोबास गर्ने र पशुपालन गर्ने मानिस औलतर्फ झरेका बताउँदै उनले सो क्षेत्रमा करिब ४०–४५ परिवार बसोबास गर्ने जानकारी दिए। सो क्षेत्रका पनि आधाजसो परिवार मङ्सिर अन्तिमदेखि नै घरमा ताल्चा लाएर अन्यत्र गएका छन्।
स्थानीय छेतेन डण्डू शेर्पाका अनुसार पर्यटन व्यवसायमा संलग्न नभएका अधिकांश मानिस जाडो छल्न अन्यत्र गएका छन्। वर्षाका समयमा खेतीपातीमा व्यस्त हुने मानिसहरू पुस र माघमा बढी जाडो हुने भएकाले काठमाडौँ, सिक्किम, दार्जेलिङलगायत ठाउँमा जान्छन् वा अन्य घरमा बस्छन्। घुन्सामा आधाजसो पर्यटन व्यवसायमा संलग्न भने घरैमा बसेका उनको भनाइ छ। छेतेनले भने, “धेरैजसोका छोराछोरी पढ्न सहरतिर गएकाले यो समयलाई छोराछोरी र आफन्त भेट्ने अवसरका रूपमा लिने गरिन्छ।”
जिल्लाका हिमाली भेगमा बसोबास गर्ने मानिस बर्सेनि जाडो छल्न अन्यत्र जाने गर्छन्। पहिले पूरै गाउँ रित्तो हुने गरे पनि आजभोलि भने बिजुली, सञ्चारलगायत सुविधाले गर्दा आधाजसोले मात्र गाउँ छाड्ने गरेका स्थानीय बताउँछन्।
वि.सं.२०८२ पुस ७ सोमवार १६:५४ मा प्रकाशित





























