back

आसन्न निर्वाचनमा दलभित्रको लोकतन्त्र र व्यक्तिगत अनुभूतिहरु

वि.सं.२०८२ पुस १४ सोमवार

1.8K 

shares

नेपाल अहिले निर्वाचनको तयारीमा व्यस्त छ । चुनावी प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलहरुको नेतृत्व बिच बलियो सहमति भएको छ । केहि दलहरु चुनावकै लागि ध्रुविकृत भएका पनि छन् । निर्वाचनको वातावरण पूर्ण रूपमा निर्मित नभए पनि राजनीतिक दलहरू उम्मेदवारी छनौटको दौडमा सक्रीय छन् । प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेको हुँदा दलहरू आफ्नो तयारीमा लाग्न बाध्य पनि भएका हुन् ।
तर, जेन्जी विद्रोहको भयावह दृश्य नेपाली जनताका आँखाबाट ओझेलमा जान सकेको छैन । जेलबाट भागेका थुप्रै अपराधीहरु फर्किएका छैनन् भने चौकीबाट लुटिएका हतियारहरु कहाँ छन् ? खोजि हुन सकेको छैन । निर्वाचनका बेला हुने गरेका यसअघिका कतिपय हिंसात्मक घटनाहरु हेर्दा यस्तो अवस्थामा हिंसाका घटना नघट्लान् भन्न सकिने छैन । त्यसैले, दलहरुले आशंका गरे झैं राजनीतिक सतर्कता अझ आवश्यक छ ।

निर्वाचन मिति घोषणा भयो, तयारी पनि छ तर नेपालको भौगोलिक अवस्थाले पनि निर्वाचनको मितिलाई सधैं सहज बनाउँदैन । हिमाली क्षेत्र, पहाडी भेग र तराईका विभिन्न भागमा मौसम, सडक अवस्था, यातायात समस्या र प्रशासनिक चुनौतीले मतदान प्रक्रियालाई प्रभावित पार्न सक्छ । फागुन महिना केही ठाउँमा निर्वाचन सञ्चालन गर्न असम्भव जस्तै हुन्छ । यस्तो अवस्थामा ती ठाउँमा चुनाव भईहाल्छ भनेर यकिन गर्न सकिने अवस्था छैन ।

दलभित्रको चुनौती
नेपालमा निर्वाचनको इतिहास लामो र जटिल छ । पहिलो पटक बहुदलीय लोकतन्त्रको स्थापना सन् १९९० सालमा भयो । त्यसपछिका निर्वाचनहरूले देशमा लोकतान्त्रिक प्रक्रिया मजबुत बनाउने प्रयत्न गरे । तर, ऐतिहासिक रूपमा हेर्दा, दलभित्रको अन्तरघात, मतदाता दबाब, भ्रष्टाचार र बाह्य प्रभावले निर्वाचनलाई प्रभावित बनाउँदै आएको पाईन्छ । २०६२/०६३ सालको दोस्रो जनआन्दोलनपछि आएको अन्तरीम संविधान र २०७२ सालको नयाँ संविधानले निर्वाचनको प्रक्रिया अझ स्पष्ट बनाएको छ । तर, संवैधानिक व्यवस्थापन र राजनीतिक संस्कारबीचको दूरी अझै कायम छ । यसले दलहरूको रणनीति र उम्मेदवार चयन प्रक्रियामा प्रश्न थपेको छ ।

हालको राजनीतिक अवस्थामा अहिलेका दलहरू आन्तरिक सशक्तिकरण, संगठन विस्तार र उम्मेदवार छनोटमा व्यस्त छन् । दलहरू आफ्नै आधार मजबूत बनाउने प्रयत्नमा छन् । तर, टिकट वितरण, जातीय प्रतिनिधित्व, क्षेत्रीय प्राथमिकता र व्यक्तिगत महत्वाकांक्षा बीच सन्तुलन मिलाउनु चुनौतीपूर्ण छ ।

नेपालका राजनीतिक दलहरूले आफ्नै आन्तरिक चुनौती सामना गर्दै आएका छन् । सबैभन्दा ठूलो चुनौती आफ्नै सदस्यबाट उत्पन्न हुने गरेको छ । पार्टीको जिम्मेवार पदमा रहेका व्यक्तिहरू कहिलेकाहीँ आफ्नो स्वार्थ र महत्वाकांक्षा अनुसार निर्णय गर्छन्, जसले पार्टीभित्रको एकता कमजोर बनाउँछ । धेरै पार्टीहरूले अघिल्ला निर्वाचनहरुमा अन्तरघातको अनुभव गरिसकेका छन् । अन्तरघातले आफ्नैको मनमा नमेटिने गरी नमिठो तिक्तता छाड्ने गरेका छन् ।

त्यसैगरी, स्थानीय तहमा रहेका बिबिध विवादहरू समाधान नगरी निर्वाचनमा जाने परिस्थितिले पार्टीभित्रको असहयोग र उम्मेदवारको हारको मुख्य कारण बन्न सक्छ । स्थानीय तहमा उत्पन्न असहमति, जातीय वा क्षेत्रीय विवाद, वा व्यक्तिगत द्वन्द्वहरू चुनावी तयारीमा बाधक बन्ने भएकाले निर्वाचन अघि यी सबै विवादको समाधान गर्नु मुख्य प्राथमिकता हुनुपर्छ ।

यस्तै टिकट नपाउँदा वा योग्य हुँदाहुँदै पनि उम्मेदवार बन्न नसक्दा, स्वतन्त्र उम्मेदवारको रूपमा उठ्ने प्रवृत्ति देखिन्छ । यसले प्रायः आफ्नै पार्टीको उम्मेदवारलाई कमजोर पार्ने काम मात्र गरेको देखिन्छ यद्यपि, केही अवस्थामा स्वतन्त्र उम्मेदवारको उठान उचित र लोकतान्त्रिक प्रक्रिया अनुसार हुने गरेका छन् । दलभित्रको आन्तरिक द्वन्द्वले मतदाता बीच असमझदारी पैदा गर्न सक्छ । कतिपय अवस्थामा, पार्टीले उम्मेदवार छनोट गर्दा पारिवारिक, जातीय वा क्षेत्रीय प्राथमिकतामा ध्यान दिने गरेको छ । यसले योग्य उम्मेदवारहरूलाई अवसर नपाउने अवस्था सिर्जना गर्न सक्छ, जसले पार्टीको विश्वसनीयतालाई चुनौती दिने र कार्यकर्तामा निराशा बढाउने गरेको छ । उम्मेवार छनौट गर्दा यो कुरामा गम्भिर बन्न जरुरी हुन्छ ।

दलहरूको संख्या र आर्थिक उद्देश्य
अहिले नेपालमा ११४ दल निर्वाचनका लागि दर्ता भएका छन् । यो संख्याले नेपालको राजनीतिक बहुलवादलाई देखाउँछ । तर यसले निर्वाचन प्रक्रियालाई पेचिलो बनाएको छ । अन्तिम समयमा कतिपय दलहरूले अन्य दललाई सहयोग गर्ने उद्देश्यले, वा केवल आर्थिक लाभ लिनको लागि दर्ता गरेको अनुभुति पनि विगतमा छन् । निर्वाचनको बेला स्थानीय क्लब, समूह र समुदायले आर्थिक जुटाउने अवसरको रूपमा लिएका छनु । कतिपय अवस्थामा, थोरै मत जुटाएर ठूलो रकममा बलियो उम्मेदवारसँग बार्गेनीङको अवस्था पनि आउनले गरेका घटना छन् । यसले पनि निर्वाचनको निष्पक्षता र पारदर्शितामा प्रश्न उठाउने गरेको छ भने सँगसँगै लोकतान्त्रिक पद्धतीको दुरुपयोग गर्दै राजनीतिलाई अलोकतान्त्रिक पेशा बनाउनेतर्फ उद्दत बनेको देखिन्छ । यस्ता प्रवृत्तिले राजनीतिमा गलत दृष्टिकोण निर्माण गर्न सक्ने हुँदा निर्वाचन आयोगले निगरानी बढाउन आवश्यक हुन्छ ।

मतदाताको सचेतना
सूचना र प्रविधिको युगले नेपाली जनतालाई राजनीतिक रूपमा सचेत बनाएको छ । अघिल्ला समयको जस्तो, परिवारको ज्येष्ठ सदस्यले भनेअनुसार मत हाल्ने अवस्था कतिपय ठाउँमा थोरै रहे पनि, धेरै स्थानमा मतदाता आफ्नै विवेक र अनुसन्धानमार्फत उम्मेदवार छनेट गर्न सक्षम भएका छन् । दलहरूले आफ्नो पक्षमा मतदाता आकर्षित गर्न विभिन्न रणनीति अपनाइरहेका छन् । यसमा स्थानीय जनसम्पर्क, सामाजिक सेवामुखी अभियान, प्रचार प्रसार र डिजिटल मिडियाको प्रयोग प्रमुख छन् । यसले मतदातालाई थप जागरूक बनाएको छ ।

सोसल मिडिया, अनलाइन समाचार र तथ्यगत जानकारीले मतदाताको निर्णय प्रक्रिया निश्चय पनि प्रभावकारी बनाएको छ । यसले राजनीतिक दलहरूलाई पारदर्र्शी, उत्तरदायी र जनता केन्द्रित बन्न बाध्य बनाएको छ । मतदाता अब केवल जात, धर्म वा क्षेत्रीय आधारमा मत नहाल्ने भएका छन् । उनीहरूले उम्मेदवारको योग्यता, प्रतिबद्धता, कार्यक्षमता र चरित्रका आधारमा निर्णय गर्न थालेका छन् । मेरो अधिकार हो भन्दै आफू भन्दा अर्कोलाई योग्य नठान्नेहरु र पुराना भन्ने दलहरुले यो कुरालाई बेलैमा बुझ्न जरुरी हुन्छ ।

साथै अहिलेको नेपालीहरुको प्राय परिवार विदेशमा रहेका आफन्तहरुले पठाएको रेमिट्यान्सबाट बाँचिरहेका छन् । विदेश रहेकाहरुले देशको अवस्थाको दोष पुराना दलहरुलाई दिने गरेका छन् । राज्यले कुनै उत्तरदायित्व पुरा नगर्दा र सन्तानले पठाएको पैसाबाट बाँच्नु पर्ने अवस्था हुँदा छोराछोरीले जसलाई भोट दिनु भनेर भनेका छन् त्यसैलाई भोट दिनु पर्ने बाध्यतामा रहेको भन्ने जनताका गुनासाहरुमा दलहरु गम्भिर बन्न जरुरी छ ।

उम्मेदवार छनौट
निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा नभएर लोकतान्त्रिक संस्कारको परीक्षण पनि हो । सही उम्मेदवार चयन, पारदर्शी प्रक्रिया र निष्पक्ष मतदानले मात्र लोकतन्त्र बलियो हुन्छ । आजको नेपालमा दलहरूलाई मात्र होइन, मतदाताले पनि जिम्मेवारीपूर्ण भूमिका निभाउनु आवश्यक छ । मतदाताले आफ्नो अधिकार विवेकी प्रयोग गर्दा मात्र दलहरू उत्तरदायी हुन्छन् । नेपालको निर्वाचन प्रक्रियामा उम्मेदवारको छनेट मात्र होइन, उनीहरूको गुणस्तर र जनतासँगको सम्बन्ध पनि निर्णायक भूमिका खेल्छ । जनतासँग भिज्न सक्ने, योजना बनाउने, कार्यकर्ता र जनता बीच विश्वास जगाउन सक्षम उम्मेदवार हुनु पर्नेमा, प्राय नातावाद, पार्टी नेतृत्वको नजिक बस्ने, चाकडी गर्ने वा व्यक्तिगत खर्च गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिने प्रवृत्ति पनि हावी नै छ । यस्तो अभ्यास कार्यकर्ताका लागि सबैभन्दा निराशाजनक स्थिति हो, किनभने योग्य, मेहनती र जनतासँग प्रत्यक्ष सम्पर्क राख्ने उम्मेदवारलाई अवसर नदिदा कमसल मानिसले चुनाव जित्नसक्ने अवस्था रहन्छ ।

निर्वाचन र आफनो अनुभूति
नेपालको राजनीतिक परिप्रेक्ष्यमा व्यक्तिगत र पारिवारिक अनुभवहरूको भूमिका पनि निकै महत्वपूर्ण हुन्छ । एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले यस्तो प्रणालीको चुनाव आफू नलडने बताएको निकै अर्थयुक्त रहेछ । म यतिबेला आफनै परिवार हेर्छु । हाम्रो परिवार पनि ती केही थोरै मध्ये पर्दछ, जुन परिवारको सबै सदस्यले, राजनीतिक आन्दोलनमा व्यक्तिगत बलिदान र पीडा भोगेको नहोस । अहिले पनि देशदेखि विदेशसम्म हाम्रो परिवार पार्टीमा सक्रिय छ । १० वर्षे जनयुद्धको समयमा स्कुलका हेडमास्टरदेखि टेलिकमको आकर्षक जागिर छोडेर भूमिगत हुने, परिवारका सदस्यहरू चर्को यातना र बेपत्ता हुने अवस्था सम्मका पीडा हामीले भोग्यौं । सबै कुरा राजनीति हो, जनवाद नै आउछ, सारा जनताको समस्या हल गर्दा हाम्रो पनि हुन्छ भन्ने भाव प्रधान थियो । त्यसैले राजनीतिक क्रियाकलापमा पैसाको आवश्यकतालाई प्राथमिकता नदिई, “सबै कुरा राज्यले नै हेर्छ” भन्ने सोचले गर्दा पार्टीका लागि संचयकोषबाट ऋण लिँदै खर्च गर्ने ‘लहडको त्याग’ पनि हाम्रो परिवार (श्रीमान) बाटै देखियो । राजनैतिक अभिभावक र कतिपय नेतृत्वको आग्रहमा सरकारी जागिर छोडेर राजनीति गर्ने निर्णय पनि हामीबाटै भयो । विगतमा खाजा खर्च माग्ने, बाटाखर्च दिनुपर्ने केहि मानिसहरु बिना आर्जन धनि बन्दै महल र पजेरोबाट हामीलाई चर्को शासन दिइरहेका छन् तर पनि हामी निष्ठामा रहेर न्याय पर्खिरहेको अवस्था छ ।

निश्चय पनि राजनीति गर्ने सबैको उद्देश्य सत्ता हो । तर, करोडौँ खर्च गरेर निर्वाचनमा जान सक्ने हैसियत नहुँदा, योग्य हुँदाहुँदै पनि खुम्चिएर बस्न बाध्य हुनु पर्दा, सवाल गर्नेहरुले ‘राजनीति के का लागि गर्नुभएको हो?’ भन्ने प्रश्न स्वभाविक रूपमा उठ्छ । राजनीतिक नैतिकता कायम राख्दै, पार्टीका चित्त नबुझेका निर्णयहरूमा बिना हिच्किचाहट आलोचना गर्न सक्नु पनि हाम्रो अहिलेको शक्ति भने हो ।

पैसा नभएका माथि अहिले यस्तो ज्यादती बढेको छ की न उ भूगोलको नेता बनेर खर्चिलो जिम्मेवारी पुरा गर्न सक्छ, न प्रशिक्षक बनेर देशभर बिचार सम्प्रेषण गर्न पाउछ । स्रोत साधनहरु एकिकृत गर्ने र न्यायोचित बितरण नगर्ने प्रवृति बढदै जाने हो भने निराशा, कुण्ठा र बिद्रोह मात्र होईन आत्मदाहका श्रृंखला बढन सक्छन् ।

हाम्रो अनुभवले देखाएको छ कि केवल व्यक्तिगत लाभ र पदको लालचले राजनीति नगरी, जनताको हित र पार्टीको लक्ष्यको लागि आफूलाई समर्पित गर्नु नै सच्चा नेतृत्व हो तर यो मूल्यांकन कहिले र कसले गर्ने प्रश्न टड्कारो छ ।

जेन्जी विद्रोहले पुराना राजनीतिक दलहरूलाई सुधारको बाटो अपनाउन बाध्य पार्छ की भन्ने अनुमान यथार्थ हो । तर, जेन्जी आन्दोलनका अग्रवाहकहरूले देखाएका केही केटौल्यपनले देश अझै पूर्ण रूपमा अस्थिरता र भयको वातावरणबाट मुक्त हुन सकेको छैन । जेन्जी आन्दोलन र त्यसपछि उठेका धेरै मुद्दाहरू तत्कालीन नेकपा माओवादीले १० वर्षे जनयुद्धमा उठाएका बिषय थिए । ती मुद्दाहरूको केही सम्भावित समाधान समय सापेक्ष हराए वा छोडिए, तर त्यसले आन्दोलनको मूल उद्देश्यलाई पूर्ण रूपमा समाप्त गर्न सकेको छैन र त्यहि मान्यतामा अडिग रहनेहरु जिउँदै पनि छन् ।

माओवादी नेतृत्व खासगरी प्रचण्डको पछिल्लो सरकार सञ्चालनका क्रममा केही सकारात्मक प्रयासहरू पनि देखिएका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार, भ्रष्टचार छानवीन, शुसासन र समाज सुधारतर्फ थुप्रै योजनाहरू अघि बढाइएका थिए । तर, सत्ता गठजोड र राजनीतिक अस्थिरताका कारण ती प्रयासहरू अधुरै रहन पुग्यो ।

हाम्रा अनुभवले देखाउँछ कि राजनीतिक नेतृत्व केवल कमजोरी वा शक्ति आर्जनमा मात्र आधारित हुनु हुँदैन । दृढ उद्देश्यसहित जनताको हित र देश निर्माणप्रतिको प्रतिबद्धताले मात्र दीर्घकालीन स्थायित्व र विश्वास निर्माण गर्छ । नेपाली राजनीति भलै पुराना दलहरूका गल्तीहरूले प्रभावित भए पनि, जनताको सचेतना र नेतृत्वको दृढता मिलेर मात्र समृद्धि र स्थायित्व हासिल गर्न सकिन्छ ।

निष्कर्ष
अहिले पनि नेपालको राजनीति जटिल, बहुआयामिक र चुनौतीपूर्ण छ । दलभित्रको अन्तरघात, टिकट वितरणको असमानता, परीवारवाद, पैसाको प्रलोभन तथा एकातिर जनप्रतिनिधि रहँदा रहँदै अर्कातिर पनि लिनुपर्ने चिन्तन, स्थानीय तहमा रहेका विवाद, व्यक्तिगत स्वार्थ र आर्थिक चुनौतीहरूले निर्वाचन प्रक्रियालाई पेचिलो बनाउँछन् । तर यी सबै कठिनाइका बाबजुद, राजनीतिक नेतृत्व, जनताको सचेतना र लोकतान्त्रिक संरचना मिलेर मात्र देशलाई स्थायित्व र समृद्धितर्फ लैजान अनिवार्य छ । जनताप्रति जिम्मेवारी, योजनाबद्ध कार्य र नैतिक नेतृत्वले मात्र दीर्घकालीन विश्वास र समर्थन निर्माण गर्छ भन्ने कुरामा आत्मबोध हुन जरुरी छ ।

निर्वाचनमा योग्य उम्मेदवार, पारदर्शी प्रक्रिया र जनताको सक्रिय सहभागिताले मात्र राजनीतिक प्रणालीलाई मजबुत बनाउँछ । यदि दलहरू आन्तरिक विवाद समाधान गरी पारदर्शिता अपनाएर, जनतासँग प्रत्यक्ष सम्पर्क राखेर राजनीति गर्छन् भने नेपाली समाजमा स्थायित्व, विकास र लोकतान्त्रिक संस्कार सुदृढ हुने निश्चित छ । राजनीतिक चेतना, नेतृत्वको प्रतिबद्धता र जनताको सचेत निर्णय नै भविष्यको मजबूत आधार हुनेछ । यही सन्देश आगामी निर्वाचन र लोकतान्त्रिक अभ्यासका लागि सबैभन्दा महत्वपूर्ण मार्गदर्शन हो ।

वि.सं.२०८२ पुस १४ सोमवार ०९:५३ मा प्रकाशित

Himalayan Life AD
स्वतन्त्र भनिएको सरकार नै रास्वपाको, देश जलाएको जिम्मा किन लिएनन् ?

स्वतन्त्र भनिएको सरकार नै रास्वपाको, देश जलाएको जिम्मा किन लिएनन् ?

काठमाडौं । तत्कालिन खड्गप्रसाद ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द...

स्थानीय तहमा समायोजन भएका कर्मचारीको मनोबल, पीडा र समाधानको बाटो

स्थानीय तहमा समायोजन भएका कर्मचारीको मनोबल, पीडा र समाधानको बाटो

कर्मचारी भनेको राज्यको नीतिगत निर्णयलाई व्यवहारमा उतार्ने, संविधान र कानुनको...

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

पूर्वमन्त्री जयप्रकाश आनन्द(जेपी गुप्ता) ले नेपाली काँग्रेसको विशेष महाधिवेशनको पूर्व...

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौँ ।  कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको...

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

चुनावको मिति नजिकिँदै जाँदा नेपालको राजनीति अब विचारको बहस होइन,...