back
CTIZAN AD

आसन्न निर्वाचनमा दलभित्रको लोकतन्त्र र व्यक्तिगत अनुभूतिहरु

वि.सं.२०८२ पुस १४ सोमवार

2.4K 

shares

नेपाल अहिले निर्वाचनको तयारीमा व्यस्त छ । चुनावी प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलहरुको नेतृत्व बिच बलियो सहमति भएको छ । केहि दलहरु चुनावकै लागि ध्रुविकृत भएका पनि छन् । निर्वाचनको वातावरण पूर्ण रूपमा निर्मित नभए पनि राजनीतिक दलहरू उम्मेदवारी छनौटको दौडमा सक्रीय छन् । प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेको हुँदा दलहरू आफ्नो तयारीमा लाग्न बाध्य पनि भएका हुन् ।
तर, जेन्जी विद्रोहको भयावह दृश्य नेपाली जनताका आँखाबाट ओझेलमा जान सकेको छैन । जेलबाट भागेका थुप्रै अपराधीहरु फर्किएका छैनन् भने चौकीबाट लुटिएका हतियारहरु कहाँ छन् ? खोजि हुन सकेको छैन । निर्वाचनका बेला हुने गरेका यसअघिका कतिपय हिंसात्मक घटनाहरु हेर्दा यस्तो अवस्थामा हिंसाका घटना नघट्लान् भन्न सकिने छैन । त्यसैले, दलहरुले आशंका गरे झैं राजनीतिक सतर्कता अझ आवश्यक छ ।

निर्वाचन मिति घोषणा भयो, तयारी पनि छ तर नेपालको भौगोलिक अवस्थाले पनि निर्वाचनको मितिलाई सधैं सहज बनाउँदैन । हिमाली क्षेत्र, पहाडी भेग र तराईका विभिन्न भागमा मौसम, सडक अवस्था, यातायात समस्या र प्रशासनिक चुनौतीले मतदान प्रक्रियालाई प्रभावित पार्न सक्छ । फागुन महिना केही ठाउँमा निर्वाचन सञ्चालन गर्न असम्भव जस्तै हुन्छ । यस्तो अवस्थामा ती ठाउँमा चुनाव भईहाल्छ भनेर यकिन गर्न सकिने अवस्था छैन ।

दलभित्रको चुनौती
नेपालमा निर्वाचनको इतिहास लामो र जटिल छ । पहिलो पटक बहुदलीय लोकतन्त्रको स्थापना सन् १९९० सालमा भयो । त्यसपछिका निर्वाचनहरूले देशमा लोकतान्त्रिक प्रक्रिया मजबुत बनाउने प्रयत्न गरे । तर, ऐतिहासिक रूपमा हेर्दा, दलभित्रको अन्तरघात, मतदाता दबाब, भ्रष्टाचार र बाह्य प्रभावले निर्वाचनलाई प्रभावित बनाउँदै आएको पाईन्छ । २०६२/०६३ सालको दोस्रो जनआन्दोलनपछि आएको अन्तरीम संविधान र २०७२ सालको नयाँ संविधानले निर्वाचनको प्रक्रिया अझ स्पष्ट बनाएको छ । तर, संवैधानिक व्यवस्थापन र राजनीतिक संस्कारबीचको दूरी अझै कायम छ । यसले दलहरूको रणनीति र उम्मेदवार चयन प्रक्रियामा प्रश्न थपेको छ ।

हालको राजनीतिक अवस्थामा अहिलेका दलहरू आन्तरिक सशक्तिकरण, संगठन विस्तार र उम्मेदवार छनोटमा व्यस्त छन् । दलहरू आफ्नै आधार मजबूत बनाउने प्रयत्नमा छन् । तर, टिकट वितरण, जातीय प्रतिनिधित्व, क्षेत्रीय प्राथमिकता र व्यक्तिगत महत्वाकांक्षा बीच सन्तुलन मिलाउनु चुनौतीपूर्ण छ ।

नेपालका राजनीतिक दलहरूले आफ्नै आन्तरिक चुनौती सामना गर्दै आएका छन् । सबैभन्दा ठूलो चुनौती आफ्नै सदस्यबाट उत्पन्न हुने गरेको छ । पार्टीको जिम्मेवार पदमा रहेका व्यक्तिहरू कहिलेकाहीँ आफ्नो स्वार्थ र महत्वाकांक्षा अनुसार निर्णय गर्छन्, जसले पार्टीभित्रको एकता कमजोर बनाउँछ । धेरै पार्टीहरूले अघिल्ला निर्वाचनहरुमा अन्तरघातको अनुभव गरिसकेका छन् । अन्तरघातले आफ्नैको मनमा नमेटिने गरी नमिठो तिक्तता छाड्ने गरेका छन् ।

त्यसैगरी, स्थानीय तहमा रहेका बिबिध विवादहरू समाधान नगरी निर्वाचनमा जाने परिस्थितिले पार्टीभित्रको असहयोग र उम्मेदवारको हारको मुख्य कारण बन्न सक्छ । स्थानीय तहमा उत्पन्न असहमति, जातीय वा क्षेत्रीय विवाद, वा व्यक्तिगत द्वन्द्वहरू चुनावी तयारीमा बाधक बन्ने भएकाले निर्वाचन अघि यी सबै विवादको समाधान गर्नु मुख्य प्राथमिकता हुनुपर्छ ।

यस्तै टिकट नपाउँदा वा योग्य हुँदाहुँदै पनि उम्मेदवार बन्न नसक्दा, स्वतन्त्र उम्मेदवारको रूपमा उठ्ने प्रवृत्ति देखिन्छ । यसले प्रायः आफ्नै पार्टीको उम्मेदवारलाई कमजोर पार्ने काम मात्र गरेको देखिन्छ यद्यपि, केही अवस्थामा स्वतन्त्र उम्मेदवारको उठान उचित र लोकतान्त्रिक प्रक्रिया अनुसार हुने गरेका छन् । दलभित्रको आन्तरिक द्वन्द्वले मतदाता बीच असमझदारी पैदा गर्न सक्छ । कतिपय अवस्थामा, पार्टीले उम्मेदवार छनोट गर्दा पारिवारिक, जातीय वा क्षेत्रीय प्राथमिकतामा ध्यान दिने गरेको छ । यसले योग्य उम्मेदवारहरूलाई अवसर नपाउने अवस्था सिर्जना गर्न सक्छ, जसले पार्टीको विश्वसनीयतालाई चुनौती दिने र कार्यकर्तामा निराशा बढाउने गरेको छ । उम्मेवार छनौट गर्दा यो कुरामा गम्भिर बन्न जरुरी हुन्छ ।

दलहरूको संख्या र आर्थिक उद्देश्य
अहिले नेपालमा ११४ दल निर्वाचनका लागि दर्ता भएका छन् । यो संख्याले नेपालको राजनीतिक बहुलवादलाई देखाउँछ । तर यसले निर्वाचन प्रक्रियालाई पेचिलो बनाएको छ । अन्तिम समयमा कतिपय दलहरूले अन्य दललाई सहयोग गर्ने उद्देश्यले, वा केवल आर्थिक लाभ लिनको लागि दर्ता गरेको अनुभुति पनि विगतमा छन् । निर्वाचनको बेला स्थानीय क्लब, समूह र समुदायले आर्थिक जुटाउने अवसरको रूपमा लिएका छनु । कतिपय अवस्थामा, थोरै मत जुटाएर ठूलो रकममा बलियो उम्मेदवारसँग बार्गेनीङको अवस्था पनि आउनले गरेका घटना छन् । यसले पनि निर्वाचनको निष्पक्षता र पारदर्शितामा प्रश्न उठाउने गरेको छ भने सँगसँगै लोकतान्त्रिक पद्धतीको दुरुपयोग गर्दै राजनीतिलाई अलोकतान्त्रिक पेशा बनाउनेतर्फ उद्दत बनेको देखिन्छ । यस्ता प्रवृत्तिले राजनीतिमा गलत दृष्टिकोण निर्माण गर्न सक्ने हुँदा निर्वाचन आयोगले निगरानी बढाउन आवश्यक हुन्छ ।

मतदाताको सचेतना
सूचना र प्रविधिको युगले नेपाली जनतालाई राजनीतिक रूपमा सचेत बनाएको छ । अघिल्ला समयको जस्तो, परिवारको ज्येष्ठ सदस्यले भनेअनुसार मत हाल्ने अवस्था कतिपय ठाउँमा थोरै रहे पनि, धेरै स्थानमा मतदाता आफ्नै विवेक र अनुसन्धानमार्फत उम्मेदवार छनेट गर्न सक्षम भएका छन् । दलहरूले आफ्नो पक्षमा मतदाता आकर्षित गर्न विभिन्न रणनीति अपनाइरहेका छन् । यसमा स्थानीय जनसम्पर्क, सामाजिक सेवामुखी अभियान, प्रचार प्रसार र डिजिटल मिडियाको प्रयोग प्रमुख छन् । यसले मतदातालाई थप जागरूक बनाएको छ ।

सोसल मिडिया, अनलाइन समाचार र तथ्यगत जानकारीले मतदाताको निर्णय प्रक्रिया निश्चय पनि प्रभावकारी बनाएको छ । यसले राजनीतिक दलहरूलाई पारदर्र्शी, उत्तरदायी र जनता केन्द्रित बन्न बाध्य बनाएको छ । मतदाता अब केवल जात, धर्म वा क्षेत्रीय आधारमा मत नहाल्ने भएका छन् । उनीहरूले उम्मेदवारको योग्यता, प्रतिबद्धता, कार्यक्षमता र चरित्रका आधारमा निर्णय गर्न थालेका छन् । मेरो अधिकार हो भन्दै आफू भन्दा अर्कोलाई योग्य नठान्नेहरु र पुराना भन्ने दलहरुले यो कुरालाई बेलैमा बुझ्न जरुरी हुन्छ ।

साथै अहिलेको नेपालीहरुको प्राय परिवार विदेशमा रहेका आफन्तहरुले पठाएको रेमिट्यान्सबाट बाँचिरहेका छन् । विदेश रहेकाहरुले देशको अवस्थाको दोष पुराना दलहरुलाई दिने गरेका छन् । राज्यले कुनै उत्तरदायित्व पुरा नगर्दा र सन्तानले पठाएको पैसाबाट बाँच्नु पर्ने अवस्था हुँदा छोराछोरीले जसलाई भोट दिनु भनेर भनेका छन् त्यसैलाई भोट दिनु पर्ने बाध्यतामा रहेको भन्ने जनताका गुनासाहरुमा दलहरु गम्भिर बन्न जरुरी छ ।

उम्मेदवार छनौट
निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा नभएर लोकतान्त्रिक संस्कारको परीक्षण पनि हो । सही उम्मेदवार चयन, पारदर्शी प्रक्रिया र निष्पक्ष मतदानले मात्र लोकतन्त्र बलियो हुन्छ । आजको नेपालमा दलहरूलाई मात्र होइन, मतदाताले पनि जिम्मेवारीपूर्ण भूमिका निभाउनु आवश्यक छ । मतदाताले आफ्नो अधिकार विवेकी प्रयोग गर्दा मात्र दलहरू उत्तरदायी हुन्छन् । नेपालको निर्वाचन प्रक्रियामा उम्मेदवारको छनेट मात्र होइन, उनीहरूको गुणस्तर र जनतासँगको सम्बन्ध पनि निर्णायक भूमिका खेल्छ । जनतासँग भिज्न सक्ने, योजना बनाउने, कार्यकर्ता र जनता बीच विश्वास जगाउन सक्षम उम्मेदवार हुनु पर्नेमा, प्राय नातावाद, पार्टी नेतृत्वको नजिक बस्ने, चाकडी गर्ने वा व्यक्तिगत खर्च गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिने प्रवृत्ति पनि हावी नै छ । यस्तो अभ्यास कार्यकर्ताका लागि सबैभन्दा निराशाजनक स्थिति हो, किनभने योग्य, मेहनती र जनतासँग प्रत्यक्ष सम्पर्क राख्ने उम्मेदवारलाई अवसर नदिदा कमसल मानिसले चुनाव जित्नसक्ने अवस्था रहन्छ ।

निर्वाचन र आफनो अनुभूति
नेपालको राजनीतिक परिप्रेक्ष्यमा व्यक्तिगत र पारिवारिक अनुभवहरूको भूमिका पनि निकै महत्वपूर्ण हुन्छ । एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले यस्तो प्रणालीको चुनाव आफू नलडने बताएको निकै अर्थयुक्त रहेछ । म यतिबेला आफनै परिवार हेर्छु । हाम्रो परिवार पनि ती केही थोरै मध्ये पर्दछ, जुन परिवारको सबै सदस्यले, राजनीतिक आन्दोलनमा व्यक्तिगत बलिदान र पीडा भोगेको नहोस । अहिले पनि देशदेखि विदेशसम्म हाम्रो परिवार पार्टीमा सक्रिय छ । १० वर्षे जनयुद्धको समयमा स्कुलका हेडमास्टरदेखि टेलिकमको आकर्षक जागिर छोडेर भूमिगत हुने, परिवारका सदस्यहरू चर्को यातना र बेपत्ता हुने अवस्था सम्मका पीडा हामीले भोग्यौं । सबै कुरा राजनीति हो, जनवाद नै आउछ, सारा जनताको समस्या हल गर्दा हाम्रो पनि हुन्छ भन्ने भाव प्रधान थियो । त्यसैले राजनीतिक क्रियाकलापमा पैसाको आवश्यकतालाई प्राथमिकता नदिई, “सबै कुरा राज्यले नै हेर्छ” भन्ने सोचले गर्दा पार्टीका लागि संचयकोषबाट ऋण लिँदै खर्च गर्ने ‘लहडको त्याग’ पनि हाम्रो परिवार (श्रीमान) बाटै देखियो । राजनैतिक अभिभावक र कतिपय नेतृत्वको आग्रहमा सरकारी जागिर छोडेर राजनीति गर्ने निर्णय पनि हामीबाटै भयो । विगतमा खाजा खर्च माग्ने, बाटाखर्च दिनुपर्ने केहि मानिसहरु बिना आर्जन धनि बन्दै महल र पजेरोबाट हामीलाई चर्को शासन दिइरहेका छन् तर पनि हामी निष्ठामा रहेर न्याय पर्खिरहेको अवस्था छ ।

निश्चय पनि राजनीति गर्ने सबैको उद्देश्य सत्ता हो । तर, करोडौँ खर्च गरेर निर्वाचनमा जान सक्ने हैसियत नहुँदा, योग्य हुँदाहुँदै पनि खुम्चिएर बस्न बाध्य हुनु पर्दा, सवाल गर्नेहरुले ‘राजनीति के का लागि गर्नुभएको हो?’ भन्ने प्रश्न स्वभाविक रूपमा उठ्छ । राजनीतिक नैतिकता कायम राख्दै, पार्टीका चित्त नबुझेका निर्णयहरूमा बिना हिच्किचाहट आलोचना गर्न सक्नु पनि हाम्रो अहिलेको शक्ति भने हो ।

पैसा नभएका माथि अहिले यस्तो ज्यादती बढेको छ की न उ भूगोलको नेता बनेर खर्चिलो जिम्मेवारी पुरा गर्न सक्छ, न प्रशिक्षक बनेर देशभर बिचार सम्प्रेषण गर्न पाउछ । स्रोत साधनहरु एकिकृत गर्ने र न्यायोचित बितरण नगर्ने प्रवृति बढदै जाने हो भने निराशा, कुण्ठा र बिद्रोह मात्र होईन आत्मदाहका श्रृंखला बढन सक्छन् ।

हाम्रो अनुभवले देखाएको छ कि केवल व्यक्तिगत लाभ र पदको लालचले राजनीति नगरी, जनताको हित र पार्टीको लक्ष्यको लागि आफूलाई समर्पित गर्नु नै सच्चा नेतृत्व हो तर यो मूल्यांकन कहिले र कसले गर्ने प्रश्न टड्कारो छ ।

जेन्जी विद्रोहले पुराना राजनीतिक दलहरूलाई सुधारको बाटो अपनाउन बाध्य पार्छ की भन्ने अनुमान यथार्थ हो । तर, जेन्जी आन्दोलनका अग्रवाहकहरूले देखाएका केही केटौल्यपनले देश अझै पूर्ण रूपमा अस्थिरता र भयको वातावरणबाट मुक्त हुन सकेको छैन । जेन्जी आन्दोलन र त्यसपछि उठेका धेरै मुद्दाहरू तत्कालीन नेकपा माओवादीले १० वर्षे जनयुद्धमा उठाएका बिषय थिए । ती मुद्दाहरूको केही सम्भावित समाधान समय सापेक्ष हराए वा छोडिए, तर त्यसले आन्दोलनको मूल उद्देश्यलाई पूर्ण रूपमा समाप्त गर्न सकेको छैन र त्यहि मान्यतामा अडिग रहनेहरु जिउँदै पनि छन् ।

माओवादी नेतृत्व खासगरी प्रचण्डको पछिल्लो सरकार सञ्चालनका क्रममा केही सकारात्मक प्रयासहरू पनि देखिएका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार, भ्रष्टचार छानवीन, शुसासन र समाज सुधारतर्फ थुप्रै योजनाहरू अघि बढाइएका थिए । तर, सत्ता गठजोड र राजनीतिक अस्थिरताका कारण ती प्रयासहरू अधुरै रहन पुग्यो ।

हाम्रा अनुभवले देखाउँछ कि राजनीतिक नेतृत्व केवल कमजोरी वा शक्ति आर्जनमा मात्र आधारित हुनु हुँदैन । दृढ उद्देश्यसहित जनताको हित र देश निर्माणप्रतिको प्रतिबद्धताले मात्र दीर्घकालीन स्थायित्व र विश्वास निर्माण गर्छ । नेपाली राजनीति भलै पुराना दलहरूका गल्तीहरूले प्रभावित भए पनि, जनताको सचेतना र नेतृत्वको दृढता मिलेर मात्र समृद्धि र स्थायित्व हासिल गर्न सकिन्छ ।

निष्कर्ष
अहिले पनि नेपालको राजनीति जटिल, बहुआयामिक र चुनौतीपूर्ण छ । दलभित्रको अन्तरघात, टिकट वितरणको असमानता, परीवारवाद, पैसाको प्रलोभन तथा एकातिर जनप्रतिनिधि रहँदा रहँदै अर्कातिर पनि लिनुपर्ने चिन्तन, स्थानीय तहमा रहेका विवाद, व्यक्तिगत स्वार्थ र आर्थिक चुनौतीहरूले निर्वाचन प्रक्रियालाई पेचिलो बनाउँछन् । तर यी सबै कठिनाइका बाबजुद, राजनीतिक नेतृत्व, जनताको सचेतना र लोकतान्त्रिक संरचना मिलेर मात्र देशलाई स्थायित्व र समृद्धितर्फ लैजान अनिवार्य छ । जनताप्रति जिम्मेवारी, योजनाबद्ध कार्य र नैतिक नेतृत्वले मात्र दीर्घकालीन विश्वास र समर्थन निर्माण गर्छ भन्ने कुरामा आत्मबोध हुन जरुरी छ ।

निर्वाचनमा योग्य उम्मेदवार, पारदर्शी प्रक्रिया र जनताको सक्रिय सहभागिताले मात्र राजनीतिक प्रणालीलाई मजबुत बनाउँछ । यदि दलहरू आन्तरिक विवाद समाधान गरी पारदर्शिता अपनाएर, जनतासँग प्रत्यक्ष सम्पर्क राखेर राजनीति गर्छन् भने नेपाली समाजमा स्थायित्व, विकास र लोकतान्त्रिक संस्कार सुदृढ हुने निश्चित छ । राजनीतिक चेतना, नेतृत्वको प्रतिबद्धता र जनताको सचेत निर्णय नै भविष्यको मजबूत आधार हुनेछ । यही सन्देश आगामी निर्वाचन र लोकतान्त्रिक अभ्यासका लागि सबैभन्दा महत्वपूर्ण मार्गदर्शन हो ।

वि.सं.२०८२ पुस १४ सोमवार ०९:५३ मा प्रकाशित

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...