back
CTIZAN AD

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

वि.सं.२०८२ फागुन ११ सोमवार

432 

shares

भोजपुर । भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा आधारभूत स्वास्थ्यसेवा पुर्याउन टेम्केमैयुङ गाउँपालिकाले आवश्यक पहल गरेको छ । आधारभूत स्वास्थ्यसेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै यहाँका दुर्गम छ स्थानमा आधारभूत स्वास्थ्य इकाइ स्थापना गरिएको हो ।

यहाँका नौवटै वडामा एक÷एक वटा स्वास्थ्य चौकी रहे पनि स्वास्थ्य चौकीसम्म पुग्न टाढा दूरी पार गर्नुपर्ने नागरिकलाई लक्षित गरेर आधारभूत स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको छ । दुर्गम तथा भौगोलिक रुपमा ठूलो रहेको यस गाउँपालिकाका स्थानीयले स्वास्थ्यसेवा लिन तीनदेखि पाँच घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले स्वास्थ्य इकाइ सञ्चालन गरी सेवा प्रवाह गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

उनका अनुसार नागरिकलाई आवश्यक परेको खण्डमा तत्कालै प्राथमिक स्वास्थ्यसेवा उपलब्ध गराउने, सामान्य औषधि वितरण गर्ने, प्राथमिक उपचार गर्ने तथा जटिल अवस्थाका बिरामीलाई आवश्यक सल्लाह सुझावसहित रेफर गर्ने उद्देश्यले स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको हो ।

“भौगोलिक विकटताका कारण जनतालाई समयमै स्वास्थ्य सेवा लिन समस्या भइरहेको थियो,” अध्यक्ष बस्नेतले भने, “स्थानीयलाई सहज स्वास्थ्य सेवा दिन हामीले छ वटा आधारभूत स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएका छौँ । आगामी दिनमा सेवाको गुणस्तर र पहुँच दुवै विस्तार गर्ने योजना बनाएका छौँ ।”

हाल भौगोलिक रूपमा विकट मानिएका वडा नं १ तिम्माको खम्बुखा, वडा नं २ का रुमला र वादुङ्ला, वडा नं ५ खावाको चोलन्ती तथा वडा नं ९ लेखर्कका वैराङ र काभ्रेमा स्वास्थ्य इकाइ सञ्चालनमा रहेका छन् । ती स्थानमा आधारभूत औषधि, प्राथमिक उपचार सेवा तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराइँदै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले दुर्गम भेगका स्थानीय सामान्य औषधि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न स्वास्थ्य इकाइ स्थापना गरिएको बताइन् । “मानिसको स्वास्थ्य नै धन हो,” उपाध्यक्ष राईले भनिन्, “सहज रूपमा आधारभूत स्वास्थ्य सेवा पाउनु नागरिकको अधिकार हो । राज्यको सेवा नागरिकको घरदैलोमै पुर्याउने हाम्रो दायित्व हो ।” उनका अनुसार स्वास्थ्य सचेतना अभिवृद्धि, नियमित खोप सेवा, सुरक्षित मातृत्व कार्यक्रम तथा सरसफाइसम्बन्धी जनचेतनामूलक गतिविधिसमेत सञ्चालन गर्ने योजना रहेको छ ।

स्थानीयवासी गोरखबहादुर विष्टका अनुसार गाउँमै स्वास्थ्य इकाइ स्थापना भएपछि सिटामोल, जीवनजलजस्ता सामान्य औषधिका लागि घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

“पहिले सामान्य ज्वरो आउँदा पनि स्वास्थ्यचौकी पुग्न आधा दिन लाग्थ्यो,” उनले भने, “अहिले गाउँमै उपचार पाउँदा निकै सहज भएको छ ।”स्वास्थ्य इकाइ स्थापनासँगै स्थानीयमा स्वास्थ्य सेवाप्रति विश्वास बढेको छ । आकस्मिक अवस्थामा तत्काल उपचार पाउने वातावरण बनेको स्थानीयले बताएका छन् ।

दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पहुँचमा ल्याउने उद्देश्यसहित सुरु गरिएको यो अभियानले प्रत्यक्ष लाभ पुगेको स्थानीयको भनाइ छ ।

वि.सं.२०८२ फागुन ११ सोमवार ११:२४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...