स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा एक अलौकिक शैक्षिक सत्सङ्ग सम्पन्न भएको छ ।
विगत १५ वर्षदेखि सुसंस्कार, सृजनशीलता र मानवको आन्तरिक समृद्धिका लागि अनवरत क्रियाशील आध्यात्मिक–वैज्ञानिक मञ्च ‘मारुत मिसन’ काठमाडौँको आयोजनामा शिक्षकहरूका लागि एक दिने सघन प्रशिक्षण सम्पन्न भएको छ ।
‘ॐ सह नाववतु सह नौ भुनक्तु’ को वैदिक उद्घोषका साथ सुरु भएको उक्त कार्यक्रमको मूल ध्येय आधुनिक भौतिकवादी युगमा विद्यार्थी र शिक्षकहरूमा अन्तर्निहित सुसुप्त शक्तिको जागरण गराउनु थियो ।
सो सत्रमा विद्यालयका प्ले–ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन गराउने ४० जना शिक्षकहरूको प्राणवान सहभागिता थियो ।

अध्यक्ष ’त्यागी’ अनिल मारुतको दिव्य उपस्थिति र ऊर्जा
कार्यक्रमको मूल आकर्षण र नेतृत्व मारुत अभियानका अध्यक्ष, प्रखर आध्यात्मिक साधक त्यागी अनिल मारुतले गरेका थिए । उनले ‘क्वान्तम ऊर्जा व्यवस्थापन’ (Quantum Energy Management) र ’परा–शिक्षा’ (Metaphysical Education) का रहस्यहरू उद्घाटन गर्दै भने, ‘शिक्षा केवल अक्षरको ज्ञान होइन, यो त आत्माको परिष्करण र जीवनको समग्र रूपान्तरण हो। जब कक्षा कोठाको वातावरण तनावपूर्णबाट आनन्दपूर्णमा बदलिन्छ, तब शिक्षा बोझ नभई उत्सवमा बदलिन्छ ।’
अध्यक्ष मारुतको शिक्षकहरूलाई पाँच सुझाव
१. शिक्षकको शान्त ऊर्जाले पुरै कक्षाको कम्पन (Vibration) लाई शान्त र सकारात्मक बनाउँछ।
२. बालबालिकाले गल्ती गर्दा सजाय होइन, उनीहरूलाई आफ्नै क्षमताको बोध गराउनुपर्छ।
३. सबै विद्यार्थीलाई आफ्नै छोराछोरी वा परिवारका सदस्य सरह व्यवहार गर्नुपर्छ।
४. शिक्षकको मानसिक अवस्था र विद्यार्थीको ग्रहणशीलता बीच गहिरो अदृश्य सम्बन्ध हुन्छ।
५. भौतिक र आध्यात्मिक पक्षको सन्तुलनले मात्र विद्यार्थीको मानसिक स्वास्थ्य र एकाग्रता जागृत हुन्छ।

पञ्चकोष शुद्धिकरण र स्वास्थ्य सचेतना
मारुत अभियानका सचिव तथा वरिष्ठ योग प्रशिक्षक आनन्द प्रकाश (दीपकसिंह थापा)ले प्रशिक्षणको क्रममा ’पञ्चकोष शुद्धिकरण’ र ’पञ्चतत्त्व सन्तुलन’ कक्षा कोठाभित्र किन र कसरी आवश्यक छ भन्ने कुरामा विशेष जोड दिए । उनले आवश्यक योगासन, प्राणायाम र ध्यानका विधिहरू मार्फत शिक्षकहरूको स्मरण शक्ति (Retention Power) बढाउने अभ्यास गराए ।
त्यसै, स्वास्थ्य र मनोविज्ञानको सत्रमा मारुत अभियानकी स्वास्थ्य काउन्सिलर नर्स मीना यादवले आफ्नो लामो अनुभव साट्दै विद्यार्थीहरू कुन–कुन अवस्थामा ’बहाना’ बनाएर नर्सिङ रुममा आउने गर्छन् र त्यस्तो अवस्थामा शिक्षकले कसरी ध्यान दिनुपर्छ भन्नेबारे मार्गनिर्देशन गरिन ।
सोही विषयमा पूरक जानकारी दिँदै त्रि–शहीद नमूना माविकी स्कुल नर्स नलिना थापाले पनि विद्यालयभित्र बालबालिकाले देखाउने स्वास्थ्य सम्बन्धी व्यवहार र शिक्षकहरूको भूमिकाबारे जानकारी गराइन् ।
स्थानीय नेतृत्व र विद्यालय परिवारको अभूतपूर्व समर्थन
कार्यक्रममा आँधीखोला गाउँपालिका १ का वडा अध्यक्ष पवन काजी अधिकारी, वडा सदस्य मोहदत ढकाल, स्थानीय प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक डेड बहादुर थापा तथा विद्यालयका संस्थापक परिवार सदस्य अरुण गुरुङको उपस्थिति थियो।
प्रशिक्षणबाट अभिभूत भएका विद्यालयका प्राचार्य टेकनाथ खनाल र निवर्तमान अध्यक्ष शालिकराम ढकालले कार्यक्रम ’अति नै सुन्दर र अलौकिक’ भएको बताए ।
कार्यक्रममा छिमेकी विद्यालय श्री गाउँफर्क आधारभूत विद्यालयका प्रतिनिधि शिक्षकहरू अमृता गुरुङ, जयन्ती चापागाईं र कुल प्रसाद अधिकारीको समेत उपस्थिति थियो ।

मारुत अभियानको प्रतिबद्धता
विगत १५ वर्षदेखि राष्ट्र निर्माणमा निःस्वार्थ योगदान पु¥याउँदै आएको मारुत अभियानले अन्तर्राष्ट्रिय योग प्रशिक्षक निर्मला गुरुङ (सानु गुरुङ) को जन्मस्थल सिरुबारीका बालबालिकाहरू लाभान्वित होऊन् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको थियो ।
समापनमा अध्यक्ष मारुतले आगामी दिनमा पनि विद्यालयको शैक्षिक र आध्यात्मिक वातावरणलाई थप ऊर्जावान् बनाउन संस्था सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरे ।
वि.सं.२०८२ चैत १८ बुधवार १२:३९ मा प्रकाशित





























