नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा बालकलाई बचाउने क्रममा अटो अनियन्त्रित भएर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ८:४५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ह ३७४० नम्बरको अटो बाटो काट्दै गरेका एक बालकलाई जोगाउने प्रयासमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका चालक सुस्ता गाउँपालिका–१ निवासी ४५ वर्षीय प्रेमबहादुर जर्घासहित ६ जनामध्ये चार जनाको लुम्बिनी सिटी अस्पताल, बुटवल र दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये मानबहादुर सिंजाली (७०) को अवस्था सामान्य रहेको छ भने दृष्टि सारु मगर (१६), ललिसरा सारु मगर (३८), अनिता गाहा मगर (४०) र निरमा गाहा मगर (१६) को अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
वि.सं.२०८३ साउन ५ मंगलवार १३:२७ मा प्रकाशित






























