काठमाडौँ । आज (शुक्रबार) आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १५ जना उपभोक्तालाई जनही रु. १ लाख र १ जनालाई रु. १० लाख बम्पर उपहार दिने घोषणा गर्दैछ।
कर प्रणालीमा करदाताको सहभागिता र प्रोत्साहन बढाउने उद्देश्यले सञ्चालन गर्न लागिएको करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा भएको विभागले जनाएको छ ।
विभागका अनुसार उपहार छनोटका लागि स्वचालित प्रणालीमार्फत ड्र गरिनेछ। विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोटको विधि र प्रणालीबारे जानकारी गराउँदै नमुना ड्रसमेत प्रस्तुत गरिसकेको छ।
कसरी छनोट हुन्छन् विजेता ?
साउन १ देखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका योग्य उपभोक्तामध्येबाट विजेता छनोट गरिनेछ। अनलाइनमार्फत खरिद गर्ने तथा नगदमा खरिद गरी आन्तरिक राजस्व विभागको प्रणालीमा योग्य बिल अपलोड गरेका उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्छन्।
बैंक वा डिजिटल वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा समावेश हुन्छन्। तर उपहार दाबी गर्न खरिदको सक्कल बिल सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ।
विभागले सार्वजनिक गरेको जानकारीअनुसार नेपालभित्र स्व–प्रयोजनका लागि एकपटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान वा भ्याट बिल लिएका उपभोक्ता पनि कार्यक्रममा सहभागी हुन सक्छन्।
नगदमा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल लिएर विभागको उपहार कार्यक्रमसम्बन्धी वेबसाइटमा अपलोड गर्नुपर्ने व्यवस्था छ। बिल अपलोड गरेपछि प्राप्त कुपनमार्फत उपहार कार्यक्रममा सहभागी हुन सकिनेछ।
कार्यक्रम पहिलो १५ दिनपछि पनि निरन्तर सञ्चालन हुनेछ। कार्यविधिअनुसार प्रत्येक महिनाको १६ गते अघिल्लो महिनाको १ देखि १५ गतेसम्मको कारोबारका लागि र महिनाको अन्तिम दिन १६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबारका लागि उपहार घोषणा गरिने व्यवस्था छ।
कार्यक्रमको मुख्य उद्देश्य नगद पुरस्कार बाँड्नु मात्र नभई उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्दै कर प्रणालीमा कारोबारलाई औपचारिक र पारदर्शी बनाउनु रहेको विभागको भनाइ छ।
सरकारले कर तिर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने र करदातालाई राज्यको कर प्रणालीप्रति थप आकर्षित गर्ने उद्देश्यले यस्तो कार्यक्रम अघि बढाएको हो। अर्थमन्त्री डा/ स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए ।
वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५० मा प्रकाशित






























