कलानिधि दाहाल, रातोपुल , काठमाडौँ
भारेभुरे सबै भेडा सत्ताका हार हारमा
बसी बुरुक्क उफ्रिन्छन् स्वार्थका एक प्यारमा!
आफ्नै बास जलाएर वितण्डा उठ्न तत्पर
जहाँ पुगुन् जता उक्लुन् खरानी भष्मका घर!!
उही ढर्रा उही चाला नयाँका स्वाङ गर्दछन्
असार बिउमा छैन खरानी मात्र छर्दछन् ।
विदेश के ? थाहा छैन घुमे मेसिन जो गए
बिचरा कलिला ओठ सत्ता ट्वाल्ल परी रहे ।१।
झुन्ड झुन्ड समाएर झुन्डकै झुन्ड झुन्डिने
भाँडाकुटी हुने हात सत्ता स्वाँठ सबै छुने ।
सिँङाने पिँजडा प्राज्ञ ईर्ष्या जलनका घर
यस्ताका हातमा सत्ता लाग्छ, जर्जर जर्जर ।२।
पैले झोला थियो एक झोले नारा दिने यिनै
भिक्षाझोली अझै झोले छन् दोबर यिनै यिनै ।
कृपा होस् ग्याङ हाम्रो छ भिक्षा माग्ने यिनै यिनै
महादास सबै सत्ता रणभुल्ल यिनै यिनै ।३।
वनभोज कतै गर्लान् आश्चर्य हुन्न यो यता
र्यापर्याप सबै ट्यापे बालबच्चा जतातता!
माग राखौँ यिनी दिन्छन् खरानी भष्म छन् यत।
खोस्ने बन्दुक पेल्दै छन् बन्दुक नै जतातता ।४।
ध्वंशनायकले ध्वंश अङ्गार नै उबाउँछ
जताततै यिनै ध्वंश धुवाँधार धुवाउँछ ।
विनाशका सबै पुत्र पुत्री विनाशकै छत
मात्र आसनमा उक्ली पार्दै फोहोर लत्पत ।५।
सजिलो छ यता आगो झोस्दा बल्दछ हर्हर
सजिलो छ यता खोस्न छर्रा बन्दुक छर्छर ।
सजिलो छ लिँदा सत्ता दिँदा हुन्छ कि भार यो
यही चाल यही हाल जिन्दगी वारपारको ।६।
बन्न लाग्दछ यो वर्ष सय हजार लाखको
बिग्रिने पलमै हुन्छ सन्काहा बल चाखको ।
नियुक्तिका नयाँ खाका भिखारी जनमा छरी
स्वामी दरिद्रका दाग लायौ अङ्ग भरी भरी ।७।
रसातल यिनैभित्र झर्यौ तला तला तल
रिङ्गटा शिरमा छाम हिलो पाउ छ थल्थल ।
उठ्यौ आगो बनी,सुत्छौ जलमग्न समाधिमा
न सास आसको ठाउँ हुरी तूफान व्याधिमा ।८।
छन्द : अनुष्टुप
वि.सं.२०८३ साउन ३० शनिवार ०७:०४ मा प्रकाशित






























