काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई अब १५-१५ दिनमा तलब तथा भत्ता भुक्तानी गर्ने यसअघिको निर्णयलाई व्यवस्था कार्यान्वयमा ल्याउने भएको छ ।
महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय तथा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न जानकारी गराएको हो।
अर्थ मन्त्रालयले गत वैशाखमै संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने निर्णय गरेको थियो। तर, आवश्यक प्रणाली विकास नभएका कारण उक्त निर्णय तत्काल कार्यान्वयन हुन सकेको थिएन। महालेखा नियन्त्रक कार्यालयले सोमबार निर्णय गर्दै हरेक महिनाको १५ दिन पूरा भएपछि अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र पर्ने संघीय निकायबाट उक्त व्यवस्थाअनुसार तलब तथा भत्ता भुक्तानीका लागि निकासा माग भएमा आवश्यक व्यवस्था मिलाउन सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ।
सरकारले सुरुमा अर्थ मन्त्रालयबाट अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयनमा ल्याएको थियो। चालु आर्थिक वर्षदेखि नै सबै संघीय निकायमा यो व्यवस्था विस्तार गर्ने तयारी गरिए पनि प्रणाली विकासलगायतका कारण कार्यान्वयनमा करिब एक महिना ढिलाइ भएको हो।
वि.सं.२०८३ भदौ २ मंगलवार १३:४६ मा प्रकाशित






























