काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका विभिन्न स्थानमा प्रभावित नागरिकको हेलिकप्टरमार्फत खोज तथा उद्धार गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
प्राधिकरणको प्रतिकार्य शाखाले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै हेलिकप्टर उद्धार आवश्यक परे तत्काल व्यवस्था मिलाउन आग्रह गरेको हो।
पत्रमा प्रभावित क्षेत्रमा हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्था आएमा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्नुपर्ने भए सम्बन्धित जिल्लामा रहेको नेपाली सेनाको टोलीसँग समन्वय गर्न भनिएको छ।
त्यस्तै, निजी हेलिकप्टर आवश्यक परे सम्बन्धित हेलिकप्टर कम्पनीका सम्पर्क व्यक्तिसँग तत्काल समन्वय गरी उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
प्राधिकरणले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई उद्धार आवश्यक पर्ने प्रभावित नागरिकको खोजी तथा उद्धारमा ढिलाइ नगर्न र आवश्यकता अनुसार नेपाली सेना तथा निजी हेलिकप्टरसँग समन्वय गरी तत्काल उद्धारको व्यवस्था मिलाउन आग्रह गरेको छ।
उक्त पत्र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्रमाणित गरेका छन्। पत्रको बोधार्थ नेपाली सेना, नेपाल प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय तथा एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपाललाई समेत दिइएको छ।
निजी हेलिकप्टरका लागि सम्पर्क व्यक्ति
प्राधिकरणले निजी हेलिकप्टर आवश्यक परेको अवस्थामा तत्काल सम्पर्क गर्न तीन जना व्यक्तिको सम्पर्क विवरणसमेत उपलब्ध गराएको छ।
सचित अर्याल — हेलि एभरेष्ट : ९८४१५५७५०९
मिङ्मा शेर्पा — अल्टिच्यूड एयर : ९८०१२४९९०७
बालकृष्ण पण्डित — एयर डाइनाष्टी : ९८०२०१६३६२
वि.सं.२०८३ भदौ १० बुधवार १३:३८ मा प्रकाशित





























