काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा बेपत्ता भएकाहरूको खोजी कार्यमा जुट्न आफ्ना सबै तहका संगठनलाई अपिल गरेको छ।
अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
संगठनले बाढीबाट प्रभावित तथा बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा थप जोखिम बढ्न सक्ने भन्दै अनेरास्ववियू (क्रान्तिकारी)ले नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
त्यस्तै, स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आम नागरिकलाई अपिल गर्दै सम्भावित थप क्षति न्यूनीकरण तथा प्रभावित नागरिकको तत्काल उद्धार, उपचार र राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारसँग माग गरेको छ।
अनेरास्ववियू (क्रान्तिकारी)ले आफ्ना मातहतका केन्द्रीय, प्रदेश, जिल्ला, पालिका, क्याम्पस तथा इकाई समितिहरूलाई स्थानीय प्रशासनसँग समन्वय गरी उद्धार, राहत तथा मानवीय सेवामा तत्काल परिचालित हुन विशेष अपिल गरेको छ।
संगठनका केन्द्रीय अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विपद्को यस दुःखद घडीमा सबै एकजुट बनौं, नागरिकको जीवनरक्षा गरौं।”
अनेरास्ववियू (क्रान्तिकारी)ले केन्द्रीय उपमहासचिव तथा बागमती प्रदेश समिति अध्यक्ष अर्जुन पौडेलको नेतृत्वमा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा प्राथमिक उपचार कार्य भइरहेको जानकारी दिँदै आवश्यक सहयोगका लागि प्रभावित जिल्लाहरुमा रहेका आफ्ना नेताहरुको नाम र सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ ।
आवश्यक सहयोग तथा सम्पर्कका लागि :
रसुवा
अर्जुन पौडेल — ९८४९६४४८७०
दिपक सापकोटा — ९८६११७००६०
विष्णु प्रसाद लामिछाने — ९८६३८८७३७०
नुवाकोट
ज्ञानेन्द्र न्यौपाने — ९८४३४३१९०६
कपिल शाह — ९८४०१२७१०६
धादिङ
श्रीकृष्ण रिजाल — ९८६३२०९६५२
वाइसिएलले पनि कार्यकर्तालाई उद्धारमा जुट्न भन्यो
यसैबीच वाइसिएल नेपालले पनि रसुवा, नुवाकोट, धादिङ, तनहुँ र चितवन जिल्लाका तथा नदी आसपासमा रहेका आफ्ना सम्पूर्ण कार्यकर्तालाई उद्धार, राहत एवं मानवीय सहायतामा जुट्न अनुरोध गरेको छ।
वाइसिएलले बाढीबाट हुन सक्ने मानवीय जोखिम न्यूनीकरणका लागि स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गर्दै उद्धार, राहत र मानवीय सहयोगमा सक्रिय हुन आफ्ना कार्यकर्तालाई आग्रह गरेको हो।
वि.सं.२०८३ भदौ १० बुधवार १३:५५ मा प्रकाशित




























